Comments Add Comment

गुगलका कर्मचारी हप्तामा ३ दिन अफिस जानुपर्ने

इन्टरनेट जाएन्ट गुगलका कर्मचारीहरु आगामी दिनमा एक हप्तामा ३ दिन अफिस गएर काम गर्नुपर्ने भएको छ । गुगलका सिइओ सुन्दर पिचाईले आफ्ना कर्मचारीहरुलाई एक इमेल पठाउँदै अमेरिकामा लकडाउन खुकुल हुँदै गर्दा कर्मचारीहरुले हप्तामा झण्डै ३ दिन अफिसमा गएर काम गर्न प्रोत्साहित गरेका छन् ।

गुगलले आफ्नो कार्यालय गत अप्रिलदेखि नै आंशिक रूपमा खोल्न सुरु गरेको थियो । आगामी दिनमा कर्मचारीहरुलाई घर र कार्यालय दुबैबाट कसरी काम गराउने भन्ने विषयमा विस्तृत खाका बनाएको छ ।

कर्मचारीहरुलाई पठाएको इमेलमा पिचाईले अफिसमै ससरीर उपस्थित भएर काम गर्नुका फाइदाहरुको बारेमा समेत उल्लेख गरेका छन् ।

ट्वीटरले आफ्ना कर्मचारीहरुलाई स्थायी रुपमै घरबाट काम गर्न पाउने निर्णय गरेको र फेसबुकले समेत कर्मचारीहरुले घरबाटै काम गर्ने नियमलाई निरन्तरता दिएको अवस्थामा गुगलले चाहीँ आफ्ना कर्मचारीहरुलाई क्रमिक रुपमा कार्यालयमै उपस्थित गराउने योजना बनाएको हो ।

जबकि गत वर्ष कोरोना भाइरसको महामारी बढेसँगै गुगलले नै सबैभन्दा पहिले कर्मचारीहरुलाई घरबाटै काम गर्न पाउने सुविधा प्रदान गरेको थियो ।

गुगलले अहिले तय गरेको नयाँ व्यवस्था अनुसार अब चार हप्ताभन्दा धेरै समय लगातार कार्यालयभन्दा बाहिरबाटै काम गर्नुपरेमा कार्यालयमा निवेदन दिनुपर्नेछ ।

गुगल सिइओ सुन्दर पिचाईले कर्मचारीलाई लेखेको इमेलमा भनिएको छ ‘२० वर्षभन्दा धेरै समयदेखि हाम्रा कर्मचारीहरु कार्यालयमै आएर समस्याहरुको समाधान गर्दै आएका छन् । महामारीको बन्देज हटेका ठाउँहरुमा अवस्थित गुगलका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमध्ये ६० प्रतिशत कर्मचारीहरु कार्यालयमै आएर काम गर्न चाहन्छन् ।’

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment