१८ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेलाई क्रमभंगतातिर लाग्न सुझाव दिएका छन् ।
काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन् ।
यसअघि आफूले पटकपटक क्रमभंगता गर्ने गरेको भए पनि अहिले आफूलाई अलि गाह्रो पर्न थालेको जिकिर गरे ।
‘…गगनजीले जुन क्रमभंगता गर्नुभयो, पहिले पहिले मैले गर्ने गरेको थिएँ । शान्ति प्रक्रियालाई युद्धमा लान्थेँ, युद्धलाई शान्तिमा ल्याउँथेँ, शान्तिलाई संविधानमा लान्थेँ, संविधानलाई गणतन्त्रमा,’ उनले भने, ‘अब म सायद क्रमभंग गर्न अलि गाह्रो गाह्रो भएको हो कि । अब पालो गगनजीहरूको हो, तपाईं क्रमभंग गर्दै जानुस् । अब पालो रविजीहरूको हो, तपाईंले अझै क्रमभंग गर्न बाँकी छ । तपाईंले पनि क्रमभंग गर्नुस् अनि बन्छ नेपाल ।’
साथै, उनले गगन र रवि दुवै आफ्नो क्याबिनेटका मन्त्रीहरू भएको स्मरण गरे । उनीहरू दुवैमा राजनीतिक चेत अधिक भएको प्रशंसा गर्दै उनले अहिले पनि आफूसँग उत्तिकै माया भएको पनि बताए ।
‘चाहे रास्वपाको सभापति रविजी हुनुस् चाहे नेपाली कांग्रेसको सभापति गगनजी हुनुस् । यहाँ लाइन लागेका मेरो क्याबिनेटका मन्त्रीहरू हुनुस् । मलाई सबैप्रति उत्तिकै माया छ,’ प्रचण्डले भने, ‘उत्तिकै भरोसा र सम्मान छ । मलाई विश्वास छ आउने दिनमा हामी सबैले समृद्ध नेपाल निर्माण गर्नेछौं । यही शुभकामना सबैलाई ।’
प्रतिक्रिया 4