Comments Add Comment

वीरेन्द्रनगर नगरपालिकाले सञ्चालनमा ल्यायो २५ शय्याको कोभिड अस्पताल

२४ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याका कोभिड–१९ अस्पताल शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिकाले तत्काका लागि अक्सिजनसहितको आइसोलेसन अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

कटकुवा स्वास्थ्यचौकीको नयाँ भवनलाई अक्सिजनसहितको कोभिड-१९ अस्पताल बनाएर सञ्चालनमा ल्याइएको नगरप्रमुख देवकुमार सुवेदीले जानकारी दिए । ‘आजदेखि २५ शय्याको अक्सिजनसहितको कोभिड अस्ताल सञ्चालनमा ल्याएका छौं,’ प्रमुख सुवेदीले भने, ‘यसलाई लगतै ५० शय्या पुर्‍याउने गरी काम भइरहेको छ ।’

प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पछिल्लो समय कोरोना संक्रमण दर तीव्र छ । प्रदेश अस्पतालमा समेत संक्रमितको उपचारका लागि बेड अभाव भएपछि नगरपालिकाले अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याइएको प्रमुख सुवेदीले बताए ।

आइसोलेसन अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्णाली प्रदेश अस्पतालसँग समन्वय गरिएको छ । हालका लागि दुईजना डाक्टर र एउटा एम्बुलेन्स व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

‘बिरामीलाई बोक्न अक्सिजनसहितको एम्बुलेन्स पनि सञ्चालनमा ल्याएका छौं,’ प्रमुख सुवेदीले भने, ‘होम आशोलेसनमा रहेका बिरामीहरुका लागी टेलिमिडिसिएन सेवा र दुईवटा फोन नम्बर पनि सञ्चालनमा ल्याएका छौं ।’

उनका अनुसार कोभिड अस्पतालमा अक्सिजन सहितको बेडको व्यवस्था गरिएको छ । कोभिड अस्पतालमा भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधि र खाजा, खानासमेत नगरले निःशुल्क उपलब्ध गराउनेछ ।

नगरपालिकाले स्वाब संकलनको काम पनि गर्दै आएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा प्रदेश अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतबाट मात्रै स्वाब संकलन भइरहको थियो ।

नगरपालिकाले हप्तामा दुईदिन सोमवार र शुक्रवार बिहान स्वाब संकलन गर्दै आएको छ । तर, स्वाब संकलन तथा पीसीआर परीक्षणका लागि आवश्यक किटको भने अभाव हुँने गरेको नगरपालिकाले बताएको छ ।

पछिल्लो समय लक्षण देखिएका, संक्रमितको क्लोज कन्ट्रयाक्टमा रहेका र भारतबाट आएकाहरूको मात्रै परीक्षण हुने गरेको छ । स्वास्थ्यकर्मीहरू भन्छन्, ‘संक्रमणको अवस्था हेर्दा परीक्षण बढाउन जरुरी छ ।’ अहिले संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ गर्न समेत छोडिएको छ ।

वीरेन्द्रनगनगर नगरपालिकाले गरेको परीक्षणमा मात्रै पछिल्लो समय नगरभित्र एकहजार सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment