Comments Add Comment

कोरोना संक्रमणबाट वीरगञ्जमा थप चार जनाको मृत्यु

२५ वैशाख, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप चार जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा तीन र नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

नेशनल मेडिकलको कोरोना अस्पतालमा ५५ वर्षीय संक्रमितको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–२ का उनको शनिबार बिहान ११:५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १९ गते उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको इमरजेन्सी वार्डमा राखी स्वाब संकलन गरी पीसीआर गराउँदा भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा सारिएको र उपचारकै क्रममा बिहान मृत्यु भएको अस्पतालको भनाइ छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दाहसंस्कार गर्ने शर्तमा आफन्तले शव बुझेर लगेका छन् ।

नारायणी अस्पतालमा रौतहटका ५५ वर्षीय पुरुष, बाराका ४५ र ५५ वर्षीय पुरुषको मृत्यु भएको कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।

रौतहटको सिर्सियाका ५५ वर्षीय पुरुषको बिहान पौने १२ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । एन्टिजेन परीक्षणका क्रममा वैशाख २१ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  स्वास्थ्यमा समस्या भएपछि वैशाख २२ गत उनी अस्पतालमा भर्ना भएका थिए ।

बाराका ४५ वर्षीय संक्रमित पुरुषको शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । उनमा पनि वैशाख २१ गते गरिएको एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्ट उनी नारायणी अस्पतालमा भर्ना भएका थिए ।

बाराकै जितपुरसिमरा उपमहानगरपालिका–२ का ५५ वर्षीय संक्रमित पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो । भारतको नयाँदिल्लीमा गरिएको पीसीआर परीक्षणका क्रममा उनमा वैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पछि स्वास्थ्यमा समस्या देखिएपछि वैशाख ८ गते नारायणी अस्पतालमा भर्ना भएका थिए ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि वीरगञ्जमा मात्रै ६२ जना संक्रमितको मृत्यु भएको छ । तीमध्ये ३९ जना पर्साका छन् । बारा, रौतहट र सर्लाहीका २२ जना छन् भने एक जना भारतीय नागरिकको कोरोना संक्रमणबाट वीरगञ्जमा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment