Comments Add Comment

वीरगञ्ज महानगरले सोमबारदेखि एन्टीजेन परीक्षण गर्ने

स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्न प्रजिअ घिमिरेको आग्रह

२६ वैशाख, वीरगञ्‍ज । वीरगञ्ज महानगरपालिकाले सोमबारदेखि स्वाब नमुना संकलन केन्द्रमै एन्टीजेन परीक्षण गर्ने भएको छ । त्यसका लागि नारायणी अस्पतालले १ हजार थान एन्टीजेन किट उपलब्ध गराउनेछ ।

तीन दिनदेखि पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर परीक्षणका लागि पठाउँदा नारायणी अस्पतालले एउटा पनि रिपोर्ट नपठाएपछि विवाद भएको थियो। जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसँग भएको बैठकमा पीसीआर परीक्षणलाई कम प्राथमिकता दिनेबारे सहमति भएको हो ।

महानगरपालिकाले स्वाब संकलन गरेर तत्कालै एन्टीजेन परीक्षण गर्ने, लक्षण भएका तर एन्टीजेन नेगेटिभ आएकाको मात्रै स्वाब नमुना पीसीआरका लागि पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

‘ स्वाब संकलनसँगै एन्टीजेन परीक्षणलाई पनि अगाडी बढाउन भनेका छौं । यसो गर्दा छिटो छरितो ढंगले रिपोर्ट आउँछ ।’ प्रजिअ घिमिरेले भने ‘ कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण हुँदा हुँदै पनि एन्टीजेन नेगेटिभ आए मात्रै पीसीआरका लागि स्वाब नमुना संकलन गरेर नारायणी पठाउने हो । महानगरलाई एन्टीजेन किट नारायणी अस्पतालले दिन्छ ।’

महानगर प्रमुख विजय कुमार सरावगीले अस्पतालले किट दिए बैठकको निर्णय अनुसार नै अघि बढ्ने बताए । ‘ अस्पतालमा भिड कम होस भनेर सघाउनका लागि स्वाब संकलन गर्न शुरु गरेका हौं, एन्टीजीन किट हामीसँग छैन । अस्पतालले दियो भने त्यसै अनुसार गर्छौ ।’ उनले भने ‘ सिआईसिटी टिमले ट्रेसिङ गरेका र लक्षणसहित जाँच गर्न आएका मानिसको मात्रै परीक्षण गर्ने हो ।’

महानगरपालिकाले २० लाख मुल्य बराबरको एन्टीजीन किट खरिदका लागि टेन्डर प्रक्रिया शुरु गरिसकेको उनले जानकारी दिए । नगर प्रमुख सरावगी, अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सञ्जय ठाकुर र अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनीधिको उपस्थितिमा बसेको बैठकमा अस्पताल क्षेत्रको शान्ति सुरक्षा कायम गराउने सम्बन्धमा समेत छलफल भएको छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले अस्पताल क्षेत्र र स्वास्थ्यकर्मीको सुरक्षा अहिले प्राथमिकता रहेको बताए । ‘काम गर्ने क्रममा असुरक्षा महशुस भए तुरुन्त खबर गर्न भनेका छौं, सुरक्षाको कुरामा चिन्ता मान्नै पर्दैन । उच्च मनोबलका साथ ढुक्क भएर काम गर्नुस भनेर सुरक्षाको प्रत्याभूति दिएका छौं ।’ प्रजिअ घिमिरेले भने ‘अहिले स्वास्थ्यकर्मीलाई हाई मोरलमा काम गर्ने वातावरण बनाउने दायित्व हामी सबैको हो । उहाँहरुको सुरक्षाको कुरामा संवेदनशील छौं ।’

दक्ष जनशक्ति कम भएका कारण अस्पतालको पीसीआर प्रयोगशालामा चाप बढी भएर रिपोर्ट आउन ढिलाई भएपछि सर्वसाधरण आक्रोशित छन् ।

यो पनि पढ्नुहोस नारायणीको पीसीआर ल्याब : जनशक्ति कम, सर्वसाधारण आक्रोशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment