+
+
Shares

सुरज वैद्यको कम्पनीले नाप तौलमा ठगी गरेको पुष्टि

उद्योगका अध्यक्षलाई तीन वर्ष कैद दावीसहित मुद्दा दायर हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १२:२१

२६ वैशाख, काठमाडौं । कमिसनको खेलमा कोभिड भ्याक्सिन आयात रोकेको आरोप लागेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य नापतौल ठगीमा पनि मुछिएका छन् ।

नेपाल गुणस्तर तथा नाप तौल विभागका अनुसार, वैद्यको बहुमत साझेदारीको नेपाल वेलहोप एग्रिटेक प्रालिले उत्पादन गरेको कुखुराको दाना बिक्री गर्दा तौलमा किसान ठगिएको पुष्टि भएको छ । यो मुद्दा अदालत जाने चरणमा छ । ठगी पुष्टि भए कम्पनीका अध्यक्षलाई ३० हजार रुपैयाँ जरिवाना र तीन वर्ष कैद हुने कानुनी प्रावधान छ ।

चितवनमा रहेको वेलहोप एग्रिटेकले ५० किलो लेखिएको बोरामा ४६ किलो मात्र दाना बिक्री गरेको पाइएको विभाग मातहतको कार्यालय वीरगन्जले जनाएको छ । ‘यो उद्योगले कुखुरा पालक किसानलाई बेचेको ५० किलो दानामा ४६ किलो हाराहारी मात्रै तौल पाइयो’, नाप तौल कार्यालय विरगन्जका प्रमुख शशिभूषण यादवले भने, ‘तौल कम भएको १० बोरा दाना जफत गरेका छौं ।’

किसानको उजुरीपछि वैशाख १९ गते परीक्षण गर्दा ठगि पुष्टि भएको उनले बताए । त्यसपछि मुचुल्का उठाएर ठगिएका किसान र उद्योगका अधिकारीलाई बयानका लागि बोलाएको तर लकडाउनले असर गरेको कार्यालय प्रमुख यादवले बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन र स्थानीय जनप्रतिनिधिको रोहोबरमा पिडित किसानलाई राखेर दानाको तौल जाँचिएको यादबले बताए । उनका अनुसार, वाणिज्य विभागले उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ भने नाप तौल तथा गुणस्तर कार्यालयले अदालतमा मद्दा दायर गर्ने तयारी गरेको छ ।

यसरी फेला पर्‍यो ठगी 

भरतपुर महानगरपालिका-२३ जगतपुरका किसान मनोज कुमार बोहोराले नेपाल वेलहोप एग्रिटेक प्रालिको विजय पेल्लेट (दाना) दुई वर्षदेखि कुखुरालाई खुवाई रहेका थिए । वैशाख दोस्रो हप्ता किनेको १० बोरा दानाको बोरा खुकुलो लागेर सिल नखोली घरमै तौलँदा ५० किलोको बोरामा ४६ किलो १०० ग्रामदेखि ६०० ग्रामसम्म मात्र देखियो ।

‘आफ्नो काँटा बिग्रियो कि भनेर नजिकै साथिको मेसिनमा बोराहरु तौलिदा पनि कम नै देखियो’, बोहोराले अनलाइनखबरसँग भने, ‘अनि जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग र अन्तिममा नाप तौल तथा गुणस्तर विभागमा उजुरी गरेको हुँ ।’

आफू मात्र एकैपटक एकट्रक दाना खरिद गरेका किसानहरु पनि ठगिएको बताउँदै उनले भने, ‘म चाहिँ दुई वर्षदेखि ठगिँदै आएको रहेछु ।’

भरतपुर महानगरपालिका-२३ का वडाअध्यक्ष नरिनारायण पौडेलले बोहराले दानाको बोरा तौलँदा आफूलाई पनि साक्षी राखेको बताए । ‘उद्योगले तौलमा ठगेको देखिएपछि कानुनी उपचारका लागि वडा कार्यालयबाट सिफारिस पनि गरेका हौं’, अध्यक्ष पौडेलले भने ।

उद्योगको अध्यक्षमाथि मुद्दा चल्ने

नेपाल वेलहोप एग्रिटेक प्रालि वैद्य अर्गनाइजेसन एण्ड ट्रेडिङ हाउस अन्र्तगतको उत्पादन मुलुक उद्योग हो । अर्गनाइजेसन अन्तरगत सञ्चालनमा रहेका उद्योगहरुको अध्यक्ष सुरज वैद्य आफैं रहेको न्यु बिजनेज एजले लेखेको छ ।

दाना उद्योगको वेबसाइटमा सबै विवरण नराखेको भएपनि यसमा चाइना लिइनोङ वेलहोप एग्रिटेक सर्भिङ माइण्ड्स प्राइभेट लिमिटेडको पनि स्वमित्व रहेको देखिन्छ ।

गुणस्तर विभागका अनुसार तौल ठगीको आरोपमा स्ट्याण्डर्ड नाप तौल ऐन २०२५ अनुसार ठगीको आरोपमा उद्योगको अध्यक्षलाई नै मुद्दा चल्ने कानुनी प्रवधान छ । त्यसैअनुसार मुद्दा दायर गरिने बताउँदै विभागको वीरगञ्ज कार्यालय प्रमुख यादब भन्छन्, ‘ऐनले मुख्य सञ्चालकमाथि मुद्दा चलाउने भनेको छ ।’

उद्योगका बिक्री प्रमुख रुद्र कडेंलले तौल ठगीबारे बोल्न इन्कार गरे भने फाइनान्स कन्ट्रोलर टेकनाथ पाण्डेले अनलाइनखबरले पटक-पटक गरेको फोन उठाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?