Comments Add Comment

सुदूरपश्चिममा एक सातामा ९८ संक्रमितको ज्यान गयो

२८ वैशाख, डोटी । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमणका कारण १७ जनाले ज्यान गुमाएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दीपायल डोटीका अनुसार कैलालीका आठ, कञ्चनपुरका पाँच, बाजुराका तीन, डोटी र बैतडीका एक/एक जनाले ज्यान गुमाएका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार गएको एक सातामा सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ । वैशाख २० गतेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय २७ रहेको थियो । सोमबार उक्त संख्या दुई सय २५ पुगेको छ । एण्टिजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएका ९६ र पीसीआर विधिबाट संक्रमित पुष्टि भएका एक सय २९ जनाले ज्यान गुमाएका छन् ।

कैलालीमा सवैभन्दा बढी एक सय दुई जना संक्रमितले ज्यान गुमाएका छन् । कञ्चनपुरमा ७०, बझाङमा ११, बैतडी र अछाममा १०/१०, दार्चुला र बाजुरामा ६, डडेल्धुरामा पाँच र डोटीमा चार जनाले हालसम्म कोरोनाको कारण ज्यान गुमाउनु परेको छ । अन्य जिल्लाका एक जना संक्रमितको पनि ज्यान गएको छ । आइतबार कैलालीका नौ, कञ्चनपुरका सात, बाजुरा र दार्चुलाका एक÷एक गरी १८ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा मृत्यु हुने संख्या यो हालसम्मकै सबैभन्दा बढी हो ।

यस्तै, वैशाख २५ गते कैलालीका आठ, कञ्चनपुर र बैतडीका दुई/दुई, दार्चुला र अछामका एक/एक जनाले कोरोना विरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाए । वैशाख २४ गते कैलालीका आठ, कञ्चनपुरका तीन र डोटी र बैतडी जिल्लाका एक/एक जनाले ज्यान गुमाए । २३ गते कञ्चनपुरका आठ, कैलालीका ६, बझाङ, अछाम र दार्चुलाका एक/एक गरी १७ जनाले ज्यान गुमाए ।

यस्तै, २२ गते कैलालीका चार, कञ्चनपुरका दुई, बाजुरा, अछाम, डोटी, डडेल्धुरा र बैतडीका एक/एक गरी ११ जनाको ज्यान गयो । वैशाख २१ गते कैलालीका चार, कञ्चनपुरका दुई र बझाङका एक जनाले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु पर्‍यो । बर्दिया घर भई कैलालीमा उपचार गराइरहेका एक जनाले पनि कोरोनाविरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाउनु परेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाउँछ ।

सुदूरपश्चिममा सोमवारसम्म कोरोना संक्रमितको संख्या २४ हजार आठ सय ७२ रहेको छ । यस आधारमा कुल संक्रमित संख्याको ०.३९ प्रतिशतले ज्यान गुमाइरहेका छन् ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा सात सय ५२ नयाँ संक्रमित थपिएका छन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या २४ हजार आठ सय ७२ पुगेको छ । वैशाख २० गतेसम्म कुल संक्रमितको संख्या १९ हजार ६ सय ९२ रहेको थियो । एक साताको अवधिमा पाँच हजार एक सय ८० नयाँ संक्रमित थपिएका छन् । हालसम्म १६ हजार एक सय पाँच जनाले कोरोना विरुद्धको लडाइँ जितेका छन् ।

पीसीआर एक लाख ५३ हजार ९० र ऐण्टिजेन ३२ हजार दुई सय ७८ गरी हालसम्म एक लाख ८५ हजार तीन सय ६८ जनामा परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment