Comments Add Comment

एनएसएल एलिमिनेटरमा ललितपुर र बुटवल लुम्बिनी भिड्दै

२९ वैशाख, काठमाडौं । नेपाल सुपर लिग अन्तर्गत बुधबार एलिमेनटरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ । लिग चरणमा ललितपुर तेस्रो र बुटवल चौथो हुँदै प्लेअफमा छनोट भएको थियो ।

बुधबारको खेलको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ र फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग अतिरिक्त समयमा पराजित भएको थियो । धनगढी भने फाइनल पुगिसकेको छ ।

लिगमा बुटवल र ललितपुरको सुरुवात फरक शैलीमा भएको थियो । तर यी दुई बीचको खेलमा ललितपुरले बाजी मारेको थियो । लिग चरणमा ललितपुरले बुटवललाई १-० ले पराजित गरेको थियो । खेलको पाँचौ मिनेटमा अजरवैजानका नुर्लान नोभ्रुजोभले गरेको गोल नै ललितपुरको जितमा निर्णायक बनेको थियो ।

सुरुवाती चार खेलमा जितविहीन रहेको ललितपुरले ३ बराबरीबाट जम्मा ३ अंक जोडेको थियो । बुटवलविरुद्ध जित ललितपुरको पहिलो जित थियो र उक्त जितपछि जोसिएको ललितपुरले अन्तिम खेलमा विराटनगर सिटी एफसीलाई ४-० ले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको थियो । सुरुवाती चार खेलमा जितबिहीन भएपछि ललितपुरले प्रशिक्षक परिवर्तन गर्दै प्रदीप हुमागाइँको स्थानमा राजु तामाङलाई प्रशिक्षको भूमिका दिएको थियो ।

अर्कोतर्फ सुरुवाती तीन खेलमा अपराजित रहँदै ५ अंक जोडेको बुटवल त्यसपछि काठमाडौं रेजर्स र ललितपुरसँग लगातार पराजित भएको थियो । ललितपुरसँग हारपछि बुटवल लिग चरणबाटै बाहिरिने खतरा बढेको थियो । तर जित्नैपर्ने अन्तम खेलमा धनगढी एफसीलाई १-० ले पराजित गर्दै ८ अंक जोडेको बुटवलले पोखरा थण्डर्सलाई हेड टु हेडमा पछि पार्दै प्लेअफमा स्थान बनाएको थियो ।

लिग चरणमा सबैभन्दा कम गोल बेहोर्ने टिम ललितपुर हो । ललितपुरले लिगमा जम्मा ३ गोल बेहोरेको थियो । काठमाडौंसँग पहिलो खेलमै १-० ले पराजित भएको ललितपुरले त्यसपछि एफसी चितवन र धनगढी एफसीसँग समान १-१ को बराबरी नतिजा निकालेको थियो । त्यसपछि पोखरा थण्डर्ससँग गोलरहित बराबरी खेलेको ललितपुरले अन्तिम दुई खेलमा ५ गोल गरेको थियो ।

ललितपुरले लिगमा काठमाडौं, धनगढी र पोखरासँगै सर्वाधिक ३ खेलमा क्लिनसिट राखेको थियो । बुटवलले भने लिगमा ६ गोल बेहोरेको थियो । प्लेअफ अघिको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक कप्तान र जित हात पार्दै अघि बढ्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment