Comments Add Comment

पर्सामा जेठ ६ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस

२९ वैशाख, वीरगञ्ज । पर्सामा लगाइएको निषेधाज्ञा जेठ ६ गतेसम्म जारी राख्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा कायम राख्न सिफारिस गरेको हो ।

बुधबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले महामारी नियन्त्रणसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ ।

संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञा कोभिड–१९ को संक्रमणको ‘चेन’ तोड्न उपयोगी देखिएकाले जेठ ६ गते राति १२ बजेसम्म थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने बैठकले निर्णय हो ।

चौबीसै घण्टा सञ्चालन गर्न नारायणीको ल्याबमा जनशक्ति थपिने

बैठकले नारायणी अस्पतालको पीसीआर प्रयोगशाला तीन सिफ्टमा चौबीसै घण्टा सञ्चालन गर्ने निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यसका लागि मेडिकल, माइक्रोबायोलोजिष्ट (एमएससी/एमडी) र ल्याब टेक्नोलोजिष्ट गरी तीन जना जनशक्ति कारारमा लिने निर्णय गरेको छ ।

आवश्यक प्रक्रिया पुर्‍याइ बढीमा तीन महिनाको लागि नारायणी अस्पतालले राख्ने स्वास्थ्यकर्मीको पारिश्रमिक डीसीसीएमसीमार्फत उपलब्ध गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वैशाख २६ गते आइतबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको कोभिड नियन्त्रण तथा रोकथाम सम्बन्धी समन्वयात्मक बैठकले नै पीसीआर प्रयोगशाला चौबीसै घण्टा चलाउने निर्णय गरेको थियो ।

प्रयोगशाला चौबीसै घण्टा सञ्चालन नहुँदा दैनिक २८८ भन्दा बढी पीसीआर परीक्षण हुन सकेको छैन । ल्याबमा प्रमुखसहित दक्ष जनशक्ति चार जना मात्रै छन् ।

होल्डिङ सेन्टरका लागि जग्गा सिफारिस

वीरगञ्ज भन्सार कार्यालयको स्वामित्वमा रहेको भन्सार गोदामभन्दा पश्चिमतर्फको करिब अढाइ बिगाहा सरकारी जग्गा होल्डिङ सेन्टर बनाउन गृह मन्त्रालयमा सिफारिस गरी पठाउने निर्णय पनि बैठकले गरेको छ । होल्डिङ सेन्टरको अभावमा वीरगञ्जमा स्थल सीमा नाका हुँदै भारतबाट आउने नेपाली नागरिकको स्वास्थ्य चेकजाँच लगायत कार्य प्रभावकारी हुन सकेको छैन ।

वीरगञ्ज नाकामा करिब एक हजार बेड क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय संघीय सरकारले गरेको छ । मन्त्रिपरिषद्को वैशाख १३ गते बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

डीसीसीएमसीले मुस्लिम धर्मावलम्बीहरुको महान् चाड ईद आ–आफ्नो घरमा पूर्ण सजगताका साथ मनाउन पनि आग्रह गरेको छ ।

कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी मस्जिद, बजार जस्ता ठाउँमा भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै घरमै चाडबाड मनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment