Comments Add Comment

संभावित कोरोना संक्रमण र निषेधाज्ञाको तनावमा गर्भवती

नियमित जाँच गराउने ६० प्रतिशत घटे

२ जेठ, काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण बढिरहँदा गर्भवतीलाई नियमित जाँचको लागि अस्पताल जान समस्या भएको छ । एक त घरबाट निस्कँदा संक्रमणको जोखिम छ, त्यसमाथि अस्पतालहरूमा कोरोना संक्रमितहरूको चाप छ ।

गर्भवतीले चौथो, छैटौं, आठौं महीना र चौथो पटक नवौं महीनामा अनिवार्य जाँच गर्नुपर्छ । त्यसबाहेक पनि आवश्यकता अनुसार जाँच गराइरहनुपर्छ ।

नियमित जाँचबाट गर्भमा शिशुको अवस्था, वृद्धि विकास, पाठेघरमा रहने पानीको अवस्था आदिबारे थाहा हुन्छ । त्यसबाट प्रसूतिमा हुने सम्भावित जोखिम घटाउन मद्दत पुग्छ । नियमित परीक्षणसँगै गर्भवतीले फोलिक एसिड, आइरन, क्याल्सियम लगायत औषधि खाने, धनुष्टङ्कार विरुद्धको सुई लगाउने गर्नुपर्छ ।

तर, कोरोना संक्रमणको जोखिमले नियमित जाँचबाट वञ्चित गर्नुको साथै मानसिक तनाव बढाएको गर्भवतीहरू बताउँछन् । उदयपुरको बेलका नगरपालिकाकी गर्भवती जानुका कार्की जाँच गराइरहेको नगर अस्पतालमै अहिले त्यहाँ संक्रमणको जोखिम बढेको बताउँछिन् ।

मनोपरामर्शदाता समेत रहेकी उनका अनुसार, अघिल्लो पटक संक्रमितमध्ये अधिकांश होम वा नगर आइसोलेसनमा बसेका थिए, अस्पताल नै आउने एकदमै न्यून थिए । अहिले दोस्रो लहरमा भने संक्रमितमध्ये बढीजसो अस्पताल भर्ना गर्नुपर्ने खालका छन् । कार्की भन्छिन्, ‘यसले गर्दा उपचार गर्न आउनेहरूका कारण जाँच गर्न जान अप्ठ्यारो परेको अनौठो अवस्था भयो ।’

बेलका नगरपालिकाले गर्भवतीका लागि ‘मातृसेवा निःशुल्क एम्बुलेन्स सेवा’ पनि सञ्चालन गरिरहेको छ । यो सुविधाको कारण नगरका गर्भवतीहरूलाई अस्पताल जान–आउन समस्या छैन । ‘र पनि, यस्तो बेला बढी नै डर लाग्ने रहेछ’ कार्की भन्छिन्, ‘अरूलाई मनोपरामर्श दिंदै आएकी म आफैं अहिले मनोपरामर्श लिनुपर्ने अवस्था आएको छ ।’

भक्तपुर सानोठिमीकी गर्भवती सुशीला निरौलालाई कोरोनाको सामान्य लक्षण देखिएर जाँच गर्दा वैशाख १६ गते पोजिटिभ रिपोर्ट आयो । त्यसपछि सेल्फ आइसोलेसनमा बस्दा उनी नियमित डाक्टरी परामर्शमा रहिन् ।

‘शुरूमा त एकदमै डराएँ’ उनी भन्छिन्, ‘डाक्टरको सुझाव र ढाडसले सामान्य बन्न ठूलो मद्दत ग¥यो । अहिले संक्रमणबाट त मुक्त भएँ, तर गर्भको अल्ट्रासाउण्ड गराउन अस्पताल जाने आँट आइरहेको छैन ।’

गर्भवती भएको बेला घरको सदस्य कोरोना संक्रमित हुँदा आइलागेको तनावको भुक्तभोगी पत्रकार देविका घर्तीमगर हुन् । ३० हप्ताकी गर्भवती उनी श्रीमान्लाई कोरोना संक्रमण भएपछि बडो तनाव भएको बताउँछिन् ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी प्रमुख डा. संगीता कौशल मिश्र जाँच गर्न आउने गर्भवतीको संख्या ६० प्रतिशत घटेको बताउँछिन् । ‘अहिले निषेधाज्ञा समेत छ’ उनी भन्छिन्, ‘नियमित जाँच गर्न आउनेको संख्या कोरोना संक्रमणको डरले मात्र घटेको मान्न सकिन्न ।’

प्रसूति अस्पतालले सामान्य समयमा जसरी नै सेवा जारी राखेको छ । फोनमा सुझाव लिन टोल फ्रि नम्बर र मोबाइल नम्बर पनि राखेको छ । त्यसमा आउने अधिकांश फोनमा भने कोभिड संक्रमितको लागि एचडीयू, आईसीयू, भेन्टिलेटरबारे सोधिने गरेको डा. मिश्र बताउँछिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

Advertisment