
२ जेठ, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भारतमा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट)ले गम्भीर रुप लिन सक्ने बताएका छन् । उनले भारतीय भेरियन्टको कारण बेलायतको लकडाउन खुकुलो बनाउने योजनामा अवरोध उत्पन्न हुन सक्ने बताएका छन् ।
विशेषज्ञहरुका अनुसार भारतीय भेरियन्ट ५० प्रतिशत संक्रामक रहेको जोन्सनले बताएका छन् । जसको कारण अस्पताल भर्ना हुने बिरामीको संख्या बढ्न सक्ने उनको आशंका छ । आगामी दिनमा यो भेरियन्ट बेलायतमा फैलिने प्रमुख भेरियन्ट बन्न सक्ने जोन्सनले बताएका छन् ।
बेलायत कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन चरणबद्धरुपमा खुकुलो पारिरहेको छ । यस्तोमा सोमबारदेखि तेस्रो चरणमा लकडाउन खुकुलो हुनेछ । तर, भारतीय भेरियन्टको कारण चौथो चरणमा लकडाउन खुकुलो पार्न भने कठिन हुने प्रधानमन्त्री जोन्सनले बताएका छन् । बेलायतमा आगामी जुनबाट सबै प्रतिबन्ध हटाउने तयारी गरिएको छ ।
जोन्सनले कोरोना खोप प्रभावकारी रहेको भन्दै खोप अभियानलाई तीव्रता दिन आग्रह गरेका छन् ।
बेलायतले गत अप्रिल २३ मा भारतलाई रेड ट्राभल सूचीमा हालेको थियो । जसको कारण बेलायती नागरिकबाहेक अन्य मुलुकका मानिसहरु भारतबाट बेलायत जान पाउँदैनन् । बेलायती नागरिकले पनि बेलायतमा १० दिन क्वारेन्टिनमा बस्नुपर्छ । बेलायतको विपक्षी लेबर पार्टी बेलायतले लामो समयसम्म भारतको सीमा खुला राखेको कारण कोरोना संक्रमण फैलिएको आरोप लगाएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4