Comments Add Comment

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : गोपाल शर्मा र सीता नेपाली मन्त्री नियुक्त

यसअघि मन्त्रीमा नियुक्त विष्ट पार्टीको निर्देशनमा ब्याक भए

३ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।

मुख्यमन्त्री शाहीले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुईजना मन्त्री थपेका छन् । सुर्खेतकी सीताकुमारी नेपाली र रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा मन्त्री नियुक्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा नेपाली र आर्थिक मामिला तथा योजनामन्त्रीमा शर्मा नियुक्त भएका छन् । उनीहरु दुवैजना माओवादी केन्द्रका सांसद हुन् ।

गत बुधवार मात्र मुख्यमन्त्रीले तीनजना मन्त्री नियुक्त गरेका थिए । तर सत्ता साझेदार कांग्रेसको असन्तुष्टिका कारण उनीहरुको शपथ रोकिएको थियो । कांग्रेसले दुईवटा मन्त्रालय मागेपछि माओवादीका मन्त्रीहरुको शपथ रोकिएको थियो ।

यसअघि मन्त्रीमा नियुक्त भए पनि शपथ रोकिएका माओवादीका सांसद विन्दमान विष्ट भने पछाडि हटेका छन् । कांगेसलाई दुई मन्त्रालय दिनुपर्ने भएपछि विष्ट पछाडि हटेको मुख्यमन्त्री निकट एक नेताले बताए ।

यसअघि आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री नियुक्त गरिएका विष्ट पार्टीको निर्देशनमा ब्याक भएको ती नेताले दाबी गरे । ‘पहिले त काँग्रेसले एउटै मन्त्रालय मागेको थियो । तर, पछि काँग्रेस भित्रपनि दुई गुटको भागवण्डा मिलाउनुपर्ने भएपछि, विष्ट जी ब्याक हुनुभयो, उहाँलाई उपयुक्त भूमिका दिइन्छ,’ ती नेताले भने ।

अब कांग्रेसलाई पनि सरकारमा सहभागी गराइने र दुई मन्त्रालय दिने मुख्यमन्त्री शाहीको तयारी छ । भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर बनाइएको जलस्रोत तथा ऊर्जा विकास र सामाजिक विकास मन्त्रालय कांग्रेसले पाउने छ ।

यी दुई मन्त्रालय हाल मुख्यमन्त्री शाहीले नै राखेका छन् । वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिने क्रममा काँग्रेसले सहयोग गरेको थियो । तर हालसम्म कांग्रेसले सरकारमा सहभागी हुनेबारे आधिकारिक निर्णय भने गरेको छैन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिने क्रममा फ्लोर क्रस गरेका एमाले नेता माधव नेपाला समुहका तीनजना यसअघि नै मन्त्री नियुक्त भइसकेका छन् । माओवादीले भने यसअघि अवसर पाएकालाई नरेश भण्डारी र विमला केसीलाई मन्त्रीबाट बिदा गरेर नयाँलाई अवसर दिइएको छ ।

यसैबीच मुख्यमन्त्री शाहीले आइतबार साँझ नै प्रदेश प्रमुख कलौनीलाई भेटेका छन् । भेटमा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखलाई प्रदेश सरकारले कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि चालेका थप कदमबारे जानकारी समेत गराएका छन् ।

प्रदेश प्रमुखको सचिवालयका अनुसार मुख्यमन्त्री शाहीले प्रदेश अस्पतालमा ‘डेडिकेटेड कोरोना उपचार संयन्त्र’ को व्यवस्था गरी प्रदेशलाई पर्याप्त हुने गरी अक्सिजन उत्पादनका काममा सरकार लागिसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
यज्ञ खत्री

ट्रेन्डिङ

Advertisment