
३ जेठ, काठमाडौं । काठमाडौंको तिलगंगामा क्षेत्र नं ४ का स्थानीय संक्रमितको लागि चिकित्सकीय सेवा सहित संयुक्त आइसोलेसन सेवा सुरु भएको छ । सो क्षेत्रका प्रतिनिधि सभा सांसद गगन थापाको पहल एवं स्थानीय वडा र स्थानीय संघसंस्थाको सहयोगमा होम आइसोलेसन सेवा सुरु गरिएको सांसद थापाले जानकारी दिए ।
तिलगंगाको विजय चोकमा रहेको प्यारागन पब्लिक स्कुलको भवनमा यो सेवा सुरु गरिएको हो । थापाका अनुसार गत २५ गतेदेखि हेल्थ एट होम नामक संस्थासँग मिलेर क्षेत्र नं ४ का सांसदको कार्यालयले गरेको होम आइसोलेसन सेवाको क्रममा संक्रमितहरू घरमा बस्न अफ्टेरो मान्ने देखिएकोले अलग्गै संयुक्त आइसोलेसन सेवा सुरु गरिएको थापाले जानकारी दिए ।
अहिले १५ जना संक्रमितको लागि आइसोलेसन कक्ष तयार पारिएको छ । यसलाई छिट्टै ५० जनासम्मको आइसोलेसन सेन्टर बनाउने तयारी रहेको थापा बनाउँछन् । यो सेन्टरमा चिकित्सकीय सेवासहित खानाको व्यवस्था गरिनेछ । त्यहाँ सामान्य स्वास्थ्य हेरचाह गरिने र अक्सिजन सेवा आवश्यक परेकालाई अक्सिजन सेवा रहेको अर्कै आइसोलेसनमा पठाउने व्यवस्था गरिनेछ । त्योभन्दा जटिल अवस्था भएमा अस्पताल पठाइने थापाले जानकारी दिए ।
थापाले यो सेवा आवश्यक परेमा सांसदको कार्यालयका स्वयंसेवकलाई ९८६०३४०५८७ मा एसएमएस गर्न सकिने बताइएको छ ।
प्रतिक्रिया 4