Comments Add Comment

महामारीविरुद्ध लड्न जुट्दै अन्तर्राष्ट्रिय सहयोग, कुन देशले के–के दिए ?

७ जेठ, काठमाडौं । कोरोना महामारी विरुद्ध लड्नका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको लागि गरेको अपीलको नतिजा देखिन थालेको छ । केही मुलुकले स्वास्थ्य सामग्रीहरू पठाइसकेका छन् भने केही मुलुकहरु पठाउने तयारीमा छन् ।

ओमानमा रहेका एनआरएनए र अन्य नेपालीले संयुक्त रूपमा खरीद गरेर ५६० अक्सिजन सिलिन्डर नेपाल पठाएका छन् । त्यहाँ रहेका नेपालीको यतिबेला सर्वत्र प्रशंसा भइरहेको छ ।

अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो साता दि गार्जियन पत्रिकामा एक लेख नै लेखेका थिए भने परराष्ट्र मन्त्रालयले विदेशमा रहेका विभिन्न दूतावासहरूलाई सहयोग जुटाउन पहल गर्न सर्कुलर जारी गरेको थियो । मन्त्रालयले दूतावासहरुलाई १४ सामाग्रीको सूची उपलब्ध गराएको थियो । सहयोगमा केही ढिलाइ भए पनि विस्तारै आउन थालेको छ ।

चीन

केही हप्ता पहिला दक्षिण एशियाली मुलुकका विदेशमन्त्रीसँगको भर्चुअल सम्मेलनमा चीनले नेपाललाई ५० लाख आरएमबी बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । चीनले केही दिन यता निरन्तर विभिन्न सामग्री पठाइरहेको छ । चीनको केन्द्रीय सरकारले उपलब्ध गराएका अक्सिजन सिलिन्डर र अन्य सामग्री आइरहेका छन् । चीन सरकारले अनुदानमा २० हजार थान अक्सिजन सिलिन्डर र विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेको थियो ।

त्यसैगरी चीनको सिचुवान प्रान्तले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरू समेत आइसकेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतले पनि लिक्विड अक्सिजन, सिलिन्डर लगायत सामग्री नेपाल पठाइसकेको छ ।

तिब्बत सरकारले सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन, ८०० थान अक्सिजन भरिएको सिलिन्डर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ५ भेन्टिलेटर, २०० आईसीयू बेड र १५०० एन्टिजेन किट्स रहेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

त्यसैगरी चीनको रेडक्रसले पनि नेपाललाई सहयोग सामाग्री उपलब्ध गराएको छ । यसबाहेक नेपालमा पनि शाखा रहेका विभिन्न चिनियाँ निजी कम्पनीहरुले स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइरहेका छन् ।

अमेरिका

गत वैशाख १८ गते अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर सहयोगको घोषणा ग¥यो । सोही घोषणा अनुसार अब स्वास्थ्य सामाग्रीहरु लिएर अमेरिकी जहाज काठमाडौका लागि उडिसकेको छ र अबको केही घन्टामा काठमाडौं अवतरण गर्नेछ ।

यस सम्बन्धी जानकारी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेनले ट्वीट मार्फत नै दिएका छन् । उनले आफ्नो ट्वीटमा भनेका छन्, ‘अमेरिकाले नेपालमा बढ्दो कोरोना संक्रमणलाई तीव्र रुपमा सम्बोधन गर्दैछ । स्वास्थ्यकर्मीहरुको लागि आवश्यक अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गर्ने बिभिन्न सिलसिलामा पहिलो शिपमेन्ट नेपाल गएको छ ।’

वैशाख ३० गते अमेरिकी हिन्द महासागर कमाण्डले नेपाललाई २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग गर्ने घोषणा गरेको छ । मे १२ मा अमेरिकी रक्षा विभागले स्वास्थ्य मन्त्रालयलाई ब्रिदिङ डिभाइस, पीपीई र अक्सिजन थेरापी लगायत विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । त्यसैगरी अमेरिकाले विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

भारत

यतिबेला कोरोनासँग जुध्नको लागि भारत आफैंले सहयोग खोजिरहेको छ । तर पनि भारतबाट नियमित रुपमा आइरहेका सामाग्रीहरु सुचारुको लागि नेपालले आग्रह गरिरहेको छ । नेपालको आग्रह अनुसार नै भारतले लिक्विड अक्सिजन आपूर्ती सुचारु गरेको जनाएको छ । अन्य स्वास्थ्य सामाग्रीहरुको लागि पनि नेपालले ताकेता गरिरहेको छ । विशेषत: नेपालले भारतसँग खोपको अपेक्षा गरेको छ ।

थाइल्याण्डका विभिन्न संस्थाको सहयोग

थाइल्याण्डमा रहेका विभिन्न संघ–संस्थाले विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् । त्यहाँबाट २४ अक्सिजन कन्सट्रेटर र अन्य स्वास्थ्य सहयोग सामग्री आएको छ ।

बंगलादेश

महामारी नियन्त्रणका लागि दक्षिण एशियाली मुलुक बंगलादेशले पनि नेपाललाई सहयोग गरेको छ । बंगलादेशबाट पाँच हजार भायल्स रेम्डिसिभिर अनुदानमा उपलब्ध गराएको थियो भने थप पाँच हजार नेपालले खरीद गरेर ल्याएको थियो । यस बाहेक बंगलादेशले विभिन्न स्वास्थ्य सामग्री र पीपीई अनुदानमा उपलब्ध गराएको थियो ।

स्पेन

स्पेनले बिहीबार एक चार्टर्ड विमानद्वारा स्वास्थ्य सामग्री पठाएको छ । स्पेनले सो सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । स्पेनले पठाएका सामग्रीमा ५० सिलिन्डर, २० अक्सिजन कन्सन्ट्रेटर, ७७ भेन्टिलेटर लगायत अन्य विभिन्न स्वास्थ्य सामग्री रहेका छन् ।

फिनल्याण्ड

फिनल्याण्डले २२ लाख सर्जिकल फेस मास्क, ३५०० एफएमपीटु मास्क, ५२ हजार ५०० ग्लोभ्स र ३० वटा आइसोलेसन गाउन्स नेपाल सरकारलाई उपलब्ध गराएको छ ।

फ्रान्स

फ्रान्सले १४ वटा रेस्पिरेटर्स, अक्सिजन प्लान्टका पाटपुर्जा, २० हजार एन्टिजेन टेस्ट किट र ५०० वटा केएन–९५ मास्क उपलब्ध गराएको छ ।

जर्मनी

जर्मनीले ६२ वटा भेन्टिलेटर, २७ हजार एफएफपीटी मास्क, सर्जिकल मास्क, २०० बढी ब्याग र आइसोलेसन सेन्टरका लागि पालहरू उपलब्ध गराएको छ ।

बेलायत

बेलायतले नेपाल पुलिस अस्पतालमा अक्सिजन प्लान्ट स्थापना कार्यमा सहयोग गरेको छ । प्लान्टले प्रतिदिन १६० सिलिन्डर उत्पादन गर्न सक्छ । बेलायत लगायत अन्य मुलुकले पनि सकेसम्म छिटो स्वास्थ्य सामग्री उपलब्ध गराउने आश्वासन दिएका छन् । स्वास्थ्य सामग्रीका सम्बन्धमा नेपाल र बेलायत बीचमा कुराकानी भइरहेको छ ।

ओमान: खाडीका बिभिन्न मुलुकमा रहेका नेपाली कामदारले  ६सय अक्सिजन सिलिन्ण्डर किन्न पैसा संकलन गरेका थिए ।

कम्बोडियाः कम्बोडियाले पनि विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कम्बोडियाले २० लाख मास्क र अन्य विभिन्न सामाग्री प्रदान गरेको छ । कम्बोडियाले विशेष जहाज मार्फत नै स्वास्थ्य सामाग्री पठाएको थियो

बेल्जियम: बेल्जियमले पनि १० लाख सर्जिकल मास्क प्रदान गरेको छ । यसका साथै २,००० नासल अक्सिजन क्यानुलस पनि प्रदान गरेको छ ।

युरोपेली युनियन

अघिल्लो साता युरोपियन युनियनले नेपाललाई कोभिडविरुद्ध लड्नका लागि २० लाख युरो सहयोग गर्ने घोषणा गरेको थियो । साथै उसले विभिन्न स्वास्थ्य सामग्री पनि उपलब्ध गराउने घोषणा गरेको छ ।

केही समय अगाडि परराष्ट्र मन्त्रालयले अहिलेका लागि आवश्यक स्वास्थ्य सामग्रीको लिस्ट दूतावासहरूलाई उपलब्ध गराई सोही अनुसारको पहल गर्न निर्देशन दिएको थियो। त्यसैगरी विभिन्न देशमा रहेका एनआरएन, नेपाली समुदाय र संस्थाले सहयोग गरिरहेका छन् ।

स्वास्थ्य सामग्रीका साथै सरकारले खोपका लागि समेत विभिन्न मुलुकलाई आग्रह गरे पनि अहिलेसम्म कुनै पनि मुलुकले खोप उपलब्ध गराउने घोषणा भने गरेका छैनन् ।

विदेशमा रहेका नेपाली दूतावासले सहयोग जुटाउनको लागि प्रभावकारी भूमिका खेल्न नसकेको भनी तीव्र आलोचना भइरहेको छ । विशेषतः ठूला मुलुकमा पठाइएका हेभिवेट राजदूतहरूको भूमिकाप्रति परराष्ट्र मन्त्रालय सन्तुष्ट छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment