Comments Add Comment

जगरनाथपुरमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

८ जेठ, वीरगञ्ज । पर्साको जगरनाथपुरका थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार पर्सामा थपिएका ७५ संक्रमितमध्ये २५ जना जगरनाथपुर गाउँपालिकाका हुन् ।

गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ बाट ४० जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ४ का १ जना, वडा नम्बर ५ का ९ जना, वडा नम्बर ६ का १५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यसअघि बढी ज्वरोका बिरामी भेटिएको चिलझप्टीमा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुले आफूहरुलाई केही नभएको भन्दै स्वाब संकलन गर्न मानेका थिएनन् । प्रहरी र स्वास्थ्यकर्मीले सम्झाउँदा समेत उनीहरुले स्वाब नमुना दिन अस्वीकार गरेका थिए ।

गाउँमा कोरोना संक्रमण फैलियो भनेर हल्ला भएपछि आफूहरुलाई अन्य गाउँका मानिसले हर्ने दृष्टिकोण बदलिएको भन्दै उनीहरु परीक्षण गराउन तयार नभएका हुन् ।

यसअघि जगरनाथपुरको चिलझप्टी, मसियानी लगायतका गाउँका २५ जनाको पीसीआर परीक्षण गर्दा १७ जना र ११ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकाहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गराईएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष जालिम मियाँले संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि आवश्यक कदम चालिसकेको बताए । ‘सण्ठीमा बढी संक्रमित देखिएको छ, गतवर्ष महामारीमा किनेका सामान हामीसँग छ । संक्रमितलाई बस्न र खाने सुविधासहित सामुदायिक आइसोलेसन तयार पार्दैछु,’ उनले भने, ‘स्वास्थ्यकर्मीलाई पठाएर आवश्यक परामर्श र उपचार गर्न लगाएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment