+
+
Shares

९ किलोमिटर सडक निर्माण चार वर्षमा पनि पूरा भएन

बड्डीचौर–खम्बागाडे सडक निर्माणका लागि अनक–जयदेव जेभी बाँकेले २०७९ साउनमा ठेक्का पाएको थियो ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज २ गते १४:४६

२ असोज, सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–खम्बागाडे सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन । ९ किलोमिटर सडक समयमै निर्माण सम्पन्न हुन नसक्दा पश्चिम सुर्खेतका नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।

ठेकेदार कम्पनीको ढिलासुस्ती, निर्माण सामग्रीको अभाव तथा सरकारी प्रक्रियामा भएको ढिलाइका कारण सडक निर्माण प्रभावित भएको हो । हालसम्म सडकको भौतिक प्रगति करिब ५० प्रतिशत मात्रै पुगेको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

निर्माणको जिम्मा पाएको अनक–जयदेव जेभीले कामलाई तीव्रता दिन नसक्दा निर्माण अवधि पटक–पटक थपिँदै आएको छ । सहायक ठेकेदार जयदेव जेभीले प्रभावकारी रूपमा काम गर्न नसकेपछि मुख्य ठेकेदार कम्पनी अनक कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी आफैँ लिएको थियो । तर, त्यसपछि पनि अपेक्षित गतिमा काम अघि बढ्न सकेको छैन ।

स्थानीय कालीबहादुर न्यौपानेका अनुसार वर्षायामसम्म सडकको अधिकांश काम सम्पन्न हुने अपेक्षा गरिए पनि त्यसअनुसार प्रगति हुन सकेन् ।  ‘यही सडकका कारण पश्चिम सुर्खेतका नागरिकले वर्षौँदेखि दु:ख पाइरहेका छन् । कामले गति लिएको देखिँदैन,’ उनले भने ।

४२ करोडको ठेक्का, म्याद थपिँदै

बड्डीचौर–खम्बागाडे सडक निर्माणका लागि अनक–जयदेव जेभी बाँकेले २०७९ साउनमा ठेक्का पाएको थियो । २०८१ असार २४ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त सडकको लागत ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

निर्माण सम्झौता भएको लामो समयसम्म जग्गा प्राप्ति, रुख कटानलगायतका सरकारी प्रक्रिया पूरा हुन नसक्दा काम प्रभावित भएको निर्देशनालयले जनाएको छ ।

ती प्रक्रिया २०८२ साउनमा मात्रै पूरा भएका थिए । त्यसबेलासम्म सम्झौताको प्रारम्भिक म्यादसमेत गुज्रिसकेको थियो ।

सरकारी प्रक्रिया पूरा भएपछि पूर्वाधार विकास निर्देशनालयले २०८३ असारसम्मका लागि म्याद थप गरेको थियो । असारपछि निर्माणको अवस्था हेरेर दुई महिनाका लागि मात्रै म्याद थप गरिएको थियो ।

पछिल्लो समय ठेकेदार कम्पनीले काम गरिरहेकाले पुन: म्याद थपका लागि मन्त्रालयमा पत्र पठाइएको निर्देशनालयका सूचना अधिकारी इन्जिनियर वीरेन्द्रजंग शाहीले बताए ।  उनका अनुसार २०८४ जेठ २४ गतेसम्म म्याद थप गर्न प्रस्तावसहितको फाइल मन्त्रालय पठाइएको छ । उक्त म्याद स्वीकृत भएर आइसकेको छैन ।

वनदेखि निर्माण सामग्रीसम्मका बहाना

निर्देशनालयका सूचना अधिकारी शाहीका अनुसार वनसम्बन्धी प्रक्रिया, बीचमा भएको मूल्यवृद्धि तथा सडक निर्माणमा प्रयोग हुने बिटुमिन र नदीजन्य सामग्रीको अभावले काम प्रभावित भएको हो ।

असार २३ गते मात्रै वनसम्बन्धी काम पूरा भएको पत्र प्राप्त भएको उनले बताए । ‘अहिले काम भइरहेको छ । तर अझै तीव्र गतिमा काम हुन सकेको छैन । हामीले ठेकेदार कम्पनीलाई ताकेता गरिरहेका छौँ,’ उनले भने ।

वर्षायाममा समेत ठेकेदार कम्पनीले तीन समूह बनाएर काम गरिरहेको भए पनि हुनुपर्ने जति प्रगति हुन नसकेको उनको भनाइ छ । हाल सडकको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत पुगेको निर्देशनालयले जनाएको छ ।

बड्डीचौर–खम्बागाडे सडक पश्चिम सुर्खेतका बराहताल, पञ्चपुरी र चौकुने क्षेत्रको मुख्य यातायात मार्ग हो । यस सडकको ट्र्याक खुलेको करिब तीन दशक भइसकेको छ । २०४९ सालमा ट्र्याक खुलेको सडकमा २०५१ सालदेखि नै सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।

तर सडक स्तरोन्नति र कालोपत्रको काम अपेक्षित रूपमा अघि बढ्न नसक्दा स्थानीयले अझै जोखिमपूर्ण र कष्टकर यात्रा गर्नुपर्ने अवस्था छ । प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोडिने पश्चिम सुर्खेतको विकासको प्रमुख आधारका रूपमा रहेको सडक निर्माणमा भएको ढिलाइले स्थानीयवासी, व्यवसायी तथा यात्रु प्रभावित भएका छन् ।

चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बिकले सडक निर्माणमा भएको ढिलाइले पश्चिम सुर्खेतका नागरिकलाई अन्याय भएको बताए । ‘सडकको पछिल्लो भाग कालोपत्र भएको छ । अघिल्लो भागमा काम नहुनु जनतामाथि भएको अन्याय हो,’ उनले भने ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?