Comments Add Comment

गेटा मेडिकल कलेजमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालन

१० जेठ, धनगढी । कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजमा आइतबारदेखि ५० शय्याको कोभिड–१९ केयर सेन्टर स्थापना गरिएको छ । संघीय सरकार तथा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाको समन्वयमा कोरोना संक्रमितको उपचारका लागि कोभिड–१९ केयर सञ्चालनमा ल्याइएको हो ।

गोदावरी नगरपालिकाका प्रवक्ता समेत रहेका कोभिड–१९ केयर सेन्टर उपसमितिका संयोजक शर्मानन्द भट्टले संक्रमितको उपचारका लागि आइतबारदेखि सेवा सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार केयर सेन्टरका लागि धनगढी उपमहानगरपालिकाले एक जना मेडिकल अफिसरसहित ८ जना स्वास्थ्यकर्मी, गोदावरी नगरपालिकाले ७ जना र गौरीगंगा नगरपालिकाले ३ स्वास्थ्यकर्मी खटाएको छ ।

केयर सेन्टरमा संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन, विभिन्न उपकरण लगायतको समेत उचित प्रबन्ध मिलाइएको बताइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मातहत रहने उक्त केयर सेन्टरमा अक्सिजनको आवश्यकता पर्ने संक्रमितको उपचार गरिने छ भने तत्काल आईसीयू र भेन्टिलेटर सेवा नभएका कारण गम्भीर अवस्थाका संक्रमितको सेती प्रादेशिक अस्पतालमै उपचार गरिनेछ । कोभिड केयर सेन्टरका लागि सुदूरपश्चिमप्रदेश सरकारले समेत ५० लाख बजेट र २० जना स्वास्थ्यकर्मी खटाउने जनाएको छ ।

गेटामा कोभिड केयर सेन्टर सञ्चालनमा आएसँगै शय्या अभावमा सेती प्रादेशिक अस्पतालको आँगनमा संक्रमित राखेर उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment