Comments Add Comment

गण्डकीको संक्रामक रोग अस्पताल : आईसीयू शुरु, प्रयोगशाला र नयाँ भवन बन्दै

१० जेठ, पोखरा । कोरोना महामारीसँगै गण्डकी प्रदेश सरकारले स्थापना गरेको आफ्नै संक्रामक तथा सरुवा रोग अस्पताल अझै सुविधा सम्पन्न हुने भएको छ । समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारले गत साउन १ गते आफ्नो मातहत ल्याएर कोभिड उपचार थालेको थियो ।

अहिले ५० बेडको प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल अब कम्तीमा १२० बेडको हुने भएको छ भने सँगै प्रादेशिक जनस्वास्थ्य प्रगोगशाला पनि खुल्ने भएको छ । सुरुदेखि नै बेड भएर पनि सञ्चालन हुन नसकेको सघन उपचार कक्ष पनि सुरु भएको छ ।

संक्रामक तथा सरुवा रोग अस्पतालमा जनस्वास्थ्य प्रयोगशाला र एक सय बेड क्षमताका नयाँ भवन बनाउने लक्ष्यसहित सोमबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका छन् । सोमबारै भेन्टिलेटरसहित ७ बेडको सघन उपचार कक्ष (आईसीयू)को पनि मुख्यमन्त्री गुरुङले उद्घाटन गरेका छन् ।

कोभिड–१९ को महामारीसँगै काठमाडौंमा मात्र सीमित जनस्वास्थ्य प्रयोगशालालाई सातै प्रदेशमा विस्तार गर्ने संघीय सरकारले निर्णय गरेको थियो । सरकारको त्यही नीतिअनुसार अस्पतालमा प्रयोगशला निर्माण गर्न लागिएको हो । अहिले जनस्वास्थ्य प्रयोगशाला भाडाको घरमा चल्दै आएको छ । यो निर्माण सकिएसँगै प्रयोगशाला आफ्नै भवनमा सर्नेछ ।

३४ करोड ३५ लाख रुपैयाँ लागतमा १८ महिनाभित्र सक्ने गरी टेन्डर आह्वान भइसकेको छ । संघीय योजना कार्यान्वयन इकाईमार्फत एक हप्ताअघि टेन्डर आह्वान भएको र यसले प्रदेशमा हुने थुप्रै परीक्षणलाई सघाउ पु¥याउने संक्रामक अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले जानकारी दिए ।

प्रदेशले लिएसँगै ५० बेड सञ्चालन गरेको अस्पताल अब तीन वर्षभित्र कम्तीमा १२० बेडको हुने भएको छ । ९३ करोड रुपैयाँको लागतमा एक सय बेडका बनाउने लक्ष्य भए पनि यो वर्ष ५३ करोड रुपैयाँको लागतमा ७० बेडसम्मको नयाँ भवन बनाउन लागिएको कार्यकारी निर्देशक डा. गौचनले जानकारी दिए ।

‘संघीय सरकारले २६ करोड र बाँकी प्रदेश सरकारले हालेर ५३ करोड रुपैयाँमा नयाँ भवन बन्न लागेको हो,’ डा. गौचनले भने, ‘तीन वर्षभित्र सबै सक्ने योजना छ ।’ नयाँ भवनमा २ हप्ताअघि टेन्डर आह्वान भएको छ । नयाँ भवन बनेसँगै क्याबिन, जनरल, आईसीयूसहितका सेवा सुरु हुने अस्पतालले जनाएको छ ।

बल्ल आईसीयू शुरु

आईसीयू, भेन्टिलेटरसहित आफ्नै अस्पताल चलाउने बताएको गण्डकी प्रदेशले बल्ल आईसीयूको उद्घाटन गरेको हो । अस्पतालमा दुई महिनाअघि नै सामान आएर पनि चलाउन नसक्दा थन्किएको थियो । तर, प्रदेशले भने सुरुदेखि नै आईसीयूसहितको अस्पताल भन्दै आएको थियो ।

‘अस्पतालका लागि दुई महिनाअघि नै सामान आए पनि जनशक्तिको अभावमा चलाउन नसकेर थन्किएको थियो,’ कार्यकारी निर्देशक डा. गौचनले भने, ‘स्टाफ नर्स थपियो, अन्य विषेशज्ञ पनि थपिंदै छन् । भइरहेका चिकित्सकले पनि हेर्ने गरी ७ बेड सोमबारबाट चलाउन सुरु गरेका छौं ।’

पछिल्लो समय १६ जना स्टाफ नर्स र केही सहयोगी भर्ना गरेपछि सेवा सुरु गरिएको उनको भनाइ छ । अझै पनि विशेषज्ञ चिकित्सकको अभाव नै रहेको उनको भनाइ छ । अहिले अस्पतालमा ५ विशेषज्ञ, ५ मेडिकल अधिकृतसहित ६० जनाको स्वास्थ्यकर्मीको टोली रहेको गौचनले जानकारी दिए ।

अझै कम्तीमा ५ जना विशेषज्ञ डाक्टर आवश्यक पर्ने उनको भनाइ छ । ऐनेस्थेसियो, फिजिसियन, वायोमेडिकल टेक्निसियनको आवश्यक रहेको गौचनले बताए ।

अहिले अस्पतालले चौबीसै घन्टा कोभिड–१९ का बिरामीको उपचार भइरहेको छ । अस्पतालमा अहिले ५२ जना बिरामी छन् । त्यसमध्ये ७ जनाको आईसीयूमा उपचार भइरहेको छ । अस्पतालमा १५ जना गम्भीर अवस्थाका बिरामी रहेको डाक्टर गौचनले बताए । अस्पतालमा अहिलेसम्म ६ सय जना बिरामीको भर्ना गरेर उपचार गरिएको थियो । त्यसमध्ये ७ जनाको मृत्यु भएको छ भने ३५ जनाको अन्यत्र रिफर गरिएको छ ।

बजेटमा प्राथमिकता, जनस्वास्थ्यमा अब्बल बन्न चाहन्छौं : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशले बजेटमा स्वास्थ्यलाई प्राथमिकतामा राखेर जनस्वास्थ्यमा अब्बल प्रदेश बन्न चाहेको बताए । गण्डकीका लागि सोमबार जनस्वास्थ्यका हिसाबले एक उपलब्धि भएको मुख्यमन्त्री गुरुङले बताए ।

संघीय सरकारले पुसमै शिलान्यास गर्न भनेको भए पनि चर्चाका लागि नभई डिजाइन भएर टेन्डर अगाडि बढेपछि मात्रै भनिएको र त्यो काम सुरु भएको मुख्यमन्त्री गुरुङको भनाइ छ ।

‘अस्पतालका लागि, गण्डकी प्रदेशका लागि र नेपालकै लागि पनि आज ऐतिहाहिक दिन हो,’ शिलान्यासपछि मुख्यमन्त्री गुरुङले भने, ‘गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अब्बल हुन चाहन्छ । नेपालकै राम्रो सरुवा रोग अस्पताल बनाउने अभियान हो, यो ।’

संक्रामक अस्पताललाई नमुना बनाउन सबैलाई लाग्न निर्देशन दिंदै मुख्यमन्त्री गुरुङले बल्ल कामको सुरुवात भएको बताए । मानिसको जीवन सबैभन्दा ठूलो कुरा भएकाले बजेट बनाइरहेको सरकारको प्राथमिकतामा स्वास्थ्य पर्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

‘हामी अब्बल भनेका छौं तर ५ सय मान्छे मरिसके । दोस्रो फेजमा धेरै देखियो । सबैभन्दा राम्रो गरेको छ भनेर सबै प्रदेशबाट यहाँ मान्छे आउँछन्, यहीं मान्छे मर्नेको संख्या धेरै भयो,’ मुख्यमन्त्री गुरुङले भने, ‘क्रिटिकल केस धेरै आए । यसबाट सिकेको पाठ के हो भने क्रिटिकल उपचार गर्ने मेनपावर नै रहेनछ हामीसँग ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment