Comments Add Comment

कोरोना संक्रमित मुख्यमन्त्रीको उद्घाटन मोह

१० जेठ, पोखरा । सरकारी प्रोटोकलअनुसार कोरोना संक्रमित व्यक्ति संस्थागत वा होम आइसोलेसनमा बस्नुपर्छ । पर्याप्त सुरक्षा सावधानी अपनाउनुपर्छ । तर सोमबार कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सोमबार उद्घाटन र शिलान्यासमा व्यस्त देखिए ।

उनले पोखरा-३३ लेखनाथ मोहोरियास्थित प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको दोस्रो तलामा रहेको शल्यक्रिया तथा सघन उपचार कक्ष (आईसीयू) को उद्घाटन गरे ।

मुख्यमन्त्री गुरुङले एक वर्षदेखि कोभिडका बिरामीको उपचार गर्दै आएको अस्पतालको आईसीयू कक्ष प्रवेश गर्ने ढोकामा टाँगिएको रिबन काटे, जम्मा भएकाहरुले ताली बजाए । आईसीयूमा उपचाररत बिरामी र कुरुवाले समेत अनौठो माने ।

रिबन काटेपछि मुख्यमन्त्री गुरुङ आईसीयूभित्रै जान खोज्दा डाक्टर लगायतले कोट्याउँदै भने, ‘माननीयज्यू, त्यता कोभिडका बिरामी छन्, बाहिर निस्कौं ।’

प्रदेश मातहतमा ल्याउनु अघिदेखि यो अस्पतालको नाम लेखनाथ मोहोरिया लायन्स सामुदायिक अस्पताल थियो । अस्पतालमा एउटा भेन्टिलेटरसहित ६ बेडको आईसीयू थियो । ७ वैशाख २०७७ मा अस्पताल व्यवस्थापन समितिले गरेको निर्णयअनुसार ६ असारमा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

साउन १ प्रदेशले संक्रामक रोग अस्पताल बनायो । कोरोनाका बिरामीहरु भर्ना गर्न थालियो । तर दक्ष जनशक्तिको अभावमा आईसीयूमा राख्नुपर्ने कोरोनाका विरामीलाई राखिएको थिएन । केही दिनअघिसम्म पनि गम्भीर विरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउँदा अर्कै अस्पतालमा रिफर गरिन्थ्यो ।

प्रदेश सरकारले पाँच दिनअघि करारमा एक जना विशेषज्ञ डाक्टर, १६ जना स्टाफ नर्स र केही सहयोगी भर्ना गरेपछि अस्पतालको आईसीयू सञ्चालनमा आएको छ ।

त्यसको दुई दिनपछि मुख्यमन्त्री रिबन काट्न पुगेका हुन्् । ‘आईसीयूका लागि अझै जनशक्ति पुग्दैन । गत साउनदेखि दिनरात भनेर उपचारका खटिएका स्वास्थ्यकर्मीले अझै भत्ता पाएका छैनन्,’ अस्पतालका एक चिकित्सकले भने, ‘थन्किएर बसेको आईसीयू बल्लतल्ल सुरु हुँदा उद्घाटन नै गर्नु पर्ने कस्तो अचम्म हो ।’

संक्रामक अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन पनि विशेषज्ञ डाक्टरको अभाव नै रहेको बताउँछन् । अस्पतालमा अहिले पाँच विशेषज्ञ, पाँच मेडिकल अधिकृतसहित ६० जनाको स्वास्थ्यकर्मी छन् । अझै कम्तिमा ५ जना विशेषज्ञ डाक्टर, ऐनेस्थेसियो, फिजिसियन, बायोमेडिकल टेक्निसियन लगायत गरी कम्तिमा १०० जनशक्ति आवश्यक रहेको गौचनले बताए ।

ठेक्का नलाग्दै शिलान्यास

मुख्यमन्त्री गुरुङले जनस्वास्थ्य प्रयोगशाला र संक्रामक अस्पतालको नयाँ भवनको पनि शिलान्यास गरेका छन् ।

बिहान साढे ९ बजे संक्रामक तथा सरुवा रोग अस्पतालको प्राङ्गण पुगेका मुख्यमन्त्री गुरुङले सुरुमै प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवनको शिलान्यास गरेका थिए । उनीहरुसँगै वरिपरी ठूलो भीड थियो भने स्वास्थ्य मापदण्ड समेत पालना भएन ।

संक्रामक अस्पतालको अहिलेको भवन पूर्वपट्टी ३४ करोड ३५ लाख रुपैयाँको लागतमा जनस्वास्थ्य प्रयोगशाला बनाउन मुख्यमन्त्री गुरुङले पूजा गरेर धार्मिक संस्कारअनुसार शिलान्यास गरे । कोरोना संक्रमणले कमजोर समेत बनेका मुख्यमन्त्री गुरुङलाई शिलान्यास कार्यक्रममा टन्टलापुर घाममा सहयोगीले छाता ओढाउनेदेखि समाएर हिँडाउन पनि सहारा दिएका थिए ।

उनले संक्रामक अस्पतालकै बन्न लागेको अर्को ७० बेडको नयाँ भवनको पनि शिलान्यास गरे । जबकी शिलान्यास गरेका भवन निर्माणका लागि अझै ठेक्का लागेको छैन ।

मुख्यमन्त्री गुरुङले भने संघीय सरकारले गत पुसमै एकसाथ शिलान्यास गर्नू भनेकाले आफू कामै गर्नका लागि अहिले शिलान्यास गरेको दाबी गरे । कोरोनाको माहामारी भर्चुअल माध्यमबाटै उद्घाटन र शिलान्यास गरे पनि हुने प्रस्ताव राख्दा मुख्यमन्त्री आफैंले चाहना राखेको एक कर्मचारीले बताए ।

मुख्यमन्त्रीको लापरबाही

मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण भएको २२ वैशाखमा पुष्टि भएको थियो । त्यसयता होम आइसोलेसनमा बसेका उनले सत्ताको रस्साकस्सीमा २६ गते राजीनामा दिए भने २९ गते फेरि ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भए । संक्रमित भएकै अवस्थामा सपथ लिए, बुधबार मन्त्रिपरिषद् विस्तार गरे, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाले । जेठ ७ गते गुरुङले कर्मचारीलाई जम्मा गरेर कोरोनाविरुद्ध लड्न निर्देशन दिएका थिए ।

भोलिपल्ट स्वास्थ्यमा समस्या देखिएपछि संक्रामक अस्पतालका डा. विकास गौचनले निवासमै पुगेर चेकजाँच गराए । डा. गौचनका अनुसार कोरोना संक्रमणका कारण मुख्यमन्त्री शरीरिक रुपमा कमजोर छन् भने चक्कर लागिराख्ने समस्या छ । निमोनिया समेत देखिएकाले त्यसले असर पारेको डा. गौचनले बताए ।

कोरोना संक्रमित मुख्यमन्त्री यसरी सार्वजनिक कार्यक्रममा हिड्नु गलत भएको एक चिकित्सकले बताए । ‘उहाँ आफैं संक्रमित हुनुहुन्छ । यसरी खुलेआम भीड जम्मा गर्दै हिँड्दा कस्तो सन्देश जाला ?’ ती चिकित्सकले भने,’अर्को यस्तो माहामारीमा उद्घाटन शिलान्यासमा रमाउनु कति उपयुक्त हुन्छ ?’

प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले मुख्यमन्त्री कोरोना पाजेटिभ नै भए पनि १० दिन कटिसकेकाले अरुलाई सर्न नसक्ने बताउँछन् । ‘१० दिनपछि कोरोना पोजेटिभ नै आए पनि फरक पर्दैन । अब उहाँबाट अरुलाई सर्ने सम्भावना हुँदैन,’ डा. शर्माले भने, ‘तर, स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने हो । त्यसमा हामी सबैको कमजोरी रहृयो ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

ट्रेन्डिङ

Advertisment