
१२ जेठ, काठमाडौं । काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा बुधबारदेखि सुरु भएको कोभिड उपचार अस्पतालको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगर प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शुभारम्भ गरे ।
कोभिड अस्पताल सञ्चालनका लागि महानगरले पूर्वाधार सुधारका लागि ३० लाख ३४ हजार रुपैयाँ र मासिक सञ्चालन खर्चवापत करिब ४८ लाख १६ हजार उपलब्ध गराउने भएको छ । चिकित्सालयलाई विशेष कोभिड अस्पताल बनाउने विषयमा महानगर र चिकित्सालयबीच वैशाख ३१ गते सम्झौता भएको थियो ।
महानगरले सहयोग स्वरुप प्राप्त भएका २ वटा भेन्टिलेटर उपलब्ध गराएको छ भने ३ वटा भेन्टिलेटरको रकम भुक्तानी गर्ने जनाएको छ । अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आईसीयू, ४ वटा भेन्टिलेटर र ६ वटा एचडीयूसहित ३५ बेडको कोभिड अस्पताल सञ्चालनमा आएको हो । उनले अस्पतालले निःशुल्क उपचार सेवा प्रदान गर्ने पनि जानकारी दिए ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका बिरामीलाई सहज उपचारको वातावरण मिलाउन महानगरले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेको बताए ।
प्रतिक्रिया 4