Comments Add Comment

कोरोना नियन्त्रणमा कर्णाली सरकारले स्वयंसेवक खटाउने

१२ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा स्वयंसेवक खटाउने भएको छ ।

प्रदेशमा कोरोना नियन्त्रण, संक्रमितको उद्धार, उपचार र शव व्यवस्थापनमा स्वयंसेवक परिचालन गर्ने प्रदेश मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णय गरेको सरकारकी प्रवक्ता सीता नेपालीले जानकारी दिइन् ।

प्रवक्ता नेपालीका अनुसार स्वयंसेवकहरूले मुख्यगरी बाह्य जिल्लाबाट आउने संक्रमितको उपचारमा सहयोग, संक्रमितको मृत्यु भएको खण्डमा दाहसंस्कारको लागि व्यवस्थापन, समुदायस्तरमा सचेतना फैलाउने र संक्रमितलाई रेखदेखलगायत काम गर्नेछन् ।

हाल प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि प्रदेश अस्पताल सुर्खेत आएका संक्रमितको मृत्यु हुँदा दाहसंस्कारमा समस्या हुँदै आएको छ ।

प्रदेश सरकारले स्वयंसेवक खटाउनु अघि सेवा गर्न इच्छुकहरुलाई सार्वजनिक रुपमा आह्वान गर्ने आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री समेत रहेकी नेपालीले बताइन् ।

यसरी छनौट हुने स्वयंसेवकहरुले गाउँ–गाउँमा कोरोना संक्रमणबारे जनचेतना फैलाउनेदेखि मृतकको शव व्यवस्थापनसम्मका काम गर्नेछन् । ‘स्वयंसेवकहरुले गाउँ–गाउँ पुगेर संक्रमितको अवस्था र सावधानीका उपायहरु पनि सिकाउनेछन्, उनीहरुलाई सामान्य चिया र खाजाको व्यवस्था गरिने छ,’ मन्त्री नेपालीले भनिन् ।

यसरी परिचालन हुने स्वयंसेवकहरु मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संरक्षकत्वमा हुनेछन् । स्वयंसेवकले अस्पतालमा औषधि तथा अक्सिजनको सहज आपूर्ति र संक्रमितको रेखदेख लगायतका काम पनि गर्नेछन् ।

यस्तै बैठकले प्रदेशमा ८ हजार ३०० क्विन्टल खाद्यान्न ढुवानीका लागि २ करोड ४७ लाख ९८ हजार रुपैयाँ छुट्याउने पनि निर्णय गरेको छ ।

मन्त्री नेपालीका अनुसार वर्षेनी खाद्यान्न संकट पर्ने कर्णालीमा यो वर्ष कोरोना महामारीका थप संकट पर्ने आँकलन गरिएको छ । तत्कालका लागि मुगु, हुम्ला र डोल्पामा खाद्यान्न ढुवानीका लागि खाद्य प्रविधि तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतलाई उक्त बजेट दिइनेछ ।

अनुदान स्वरुप दिइने उक्त बजेट कम्पनीलाई उपलब्ध गराउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment