Comments Add Comment

पर्साका ग्रामीण क्षेत्रमा एन्टिजेन परीक्षण गरिने

१४ जेठ, वीरगञ्ज । पर्साका स्थानीय तहले संक्रमित पहिचानका लागि एन्टिजेन परीक्षण गर्ने भएका छन् । शुक्रबार वीरगञ्जमा भएको बैठकमा स्थानीय तहका प्रमुख, राजनीतिक दलका नेतालगायत सरोकारवालाको बैठकले एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

पर्सामा वीरगञ्ज महानगरपालिका सहित १४ वटा स्थानीय तह छन् । बैठकमा वीरगञ्ज महानगरपालिकासहति ६ वटा स्थानीय तहका प्रतिनिधि सहभागी थिए ।

ग्रामीण क्षेत्रमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका मानिसहरुको छिटोभन्दा छिटो एन्टिजेन परीक्षण गर्ने निर्णय भएको जिल्ला समन्वय समितिको सभापति नेक महम्मद अन्सारीले जानकारी दिए । उनले भने ‘पालिकासँग पैसाको कमी छैन, आवश्यकता अनुसार गुणस्तीय एन्टिजेन किट खरिद गर्ने र छिटोभन्दा छिटो परीक्षण गर्ने निर्णय भएको छ ।’

जिल्ला समन्वय समितिले सम्पूर्ण स्थानीय तहहरुमा रहेको आइसोलेसन सेन्टर र स्वास्थ्य चौकीहरुको अनुगमन गर्ने र कमी कमजोरी भए नभएको हेर्ने निर्णय भएको उनले बताए ।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. उदयनारायण सिंहले समुदाय केन्द्रित परीक्षण बढाउनुपर्ने सुझाव बैठकमा दिएका थिए । उनले ग्रामीण भेगमा देखिएको लापरबाही कम गर्न र मृत्युदर घटाउन आवश्यक रहेको बताए ।

‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका मानिसहरुलाई परीक्षण गर्ने, छिटो भन्दा छिटो संक्रमित पहिचान गरेर आइसोलेसनमा राख्ने र स्वास प्रश्वासमा समस्या आउने वित्तिकै अस्पताल रिफर गर्नेगरी व्यवस्था मिलाउनुपर्छ’ उनले भने ।

पालिकालाई एक सय एन्टिजेन किट

स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा हाल ३ हजार एन्टिजेन किट मौज्दात छ । पालिकालाई आवश्यक मानिसलाई परीक्षणका लागि १/१ सय किट दिने तयारी भइरहेको छ ।

लक्षण देखिएकालाई कोरोना परीक्षणका लागि पालिकालाई किट दिने निर्णय भएको जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

‘वीरगञ्ज नाकामा ५ सय किट पठाएका छौं, लक्षण देखिएको वा केस देखिएको ठाउँमा परीक्षणका लागि पालिकालाई १/१ सय एन्टिजेन किट दिने तयारी भएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment