Comments Add Comment

नेपाल र इराकबीच आज मैत्रीपूर्ण खेल हुँदै

नतिजाभन्दा प्रदर्शनमा जोड : प्रशिक्षक अलमुताइरी

१५ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नतिजाभन्दा पनि प्रदर्शन महत्वपूर्ण हुने बताएका छन् ।

इराकसँगको खेलअघि बोल्दै प्रशिक्षक अलमुताइरीले राम्रो प्रदर्शनमा जोड दिएका हुन् । नेपाल र इराकबीच आज मैत्रीपूर्ण खेल हुँदैछ ।

अलमुताइरीले युवा खेलाडीको लागि यो खेल सिकाइको अनुभव हुने पनि बताए । ‘मलाई आशा छ हाम्रो युवा टोलीका लागि यो सिकाइको अनुभव हुनेछ । नतिजा खोज्नुको सट्टा यो आफैंलाई मूल्यांकन गर्ने र भविष्यमा सुधार गर्न प्रयास गर्नु हो,’ अलमुताइरीले भने ।

२० वर्षपछि हुन लागेको यस खेल बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा हुनेछ र खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ । खेल क्लोज डोरमा हुनेछ र दर्शकलाई प्रवेश निषेध गरिएको छ ।

यस पटक टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ । गत चैतमा प्रशिक्षक बनेपछि पहिलो पटक नेपाली टिमसँग टुरमा निस्केका अलमुताइरीले नेपाली टिममा ६ नयाँ खेलाडीलाई राखेका छन् भने गत चैतमा थ्री नेशन्स कप जितेको नेपाली टिममा १३ खेलाडी परिवर्तन गरेका छन् ।

यस्तै नेपाली टोलीका कप्तान किरणकुमार लिम्बुले इराकविरुद्धको खेलका लागि टिम तयार रहेको र सिक्ने अवसर रहेको बताएका छन् ।

इराकसँगको खेल अघि बोल्दै कप्तान किरणले राम्रो तयारी भएको बताए । ुहाम्रो लागि इराक विरुद्ध खेल्नु ठूलो अवसर हो । कुवेतमा हुने विश्वकप क्वालिफायरका लागि यो राम्रो अनुभव समेत हुनेछ,’ किरणले भने, ‘हामी राम्रो ट्रेनिङ गरेका छौं र यसका लागि तयार छौं ।’

नेपाल र इराक चौथो पटक खेल्न लागेका हुन् । यसअघिका तीन खेलमा नेपाल पराजित भएको थियो ।

फिफा वरीयतामा नेपालभन्दा इराक १०३ स्थान माथि छ । २००७ को एसिया कप जितेको इराक फिफाको पछिल्लो वरियतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ ।

इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली फिफा विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न कुवेत जानेछ । समूह बी मा रहेको नेपालले जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपालले यसअघि ५ खेल खेल्दा एक खेल जित्दै ३ अंक जोडेको छ ।

नेपालले सेतो जर्सी लगाउने

नेपाली टोलीले इराकविरुद्ध सेतो जर्सी लगाएको खेल्नेछ । नेपालको सिनियर टिमले फुटबल इतिहासमा पहिलो पटक सेतो जर्सी लगाएर खेल्न लागेको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

यसअघि नेपालले रातो र निलो रङको जर्सी लगाएर खेल्दै आएको थियो । केटिएम सिटी राष्ट्रिय टिमको नयाँ किट्स प्रायोजक बनेपछि केटिएमले नेपालको लागि नयाँ रङको जर्सी तयार पारेको हो ।

हेड टु हेडमा इराक अगाडि

एसियन च्याम्पियन इराक विश्वकप खेलिसकेको टोली हो । इराकले सन् २००७ मा एसिया कप जितेको थियो । नेपालले भने अहिलेसम्म एसिया कप खेल्न सकेको छैन ।

यसअघि नेपालले इराकसँग तीन पटक खेलेको थियो र तीनै पटक इराक विजयी भएको थियो । सन् १९८२ मा भएको पहिलो खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।

२००१ मा भएको विश्वकप छनोटको दुवै खेलमा नेपालले गोल गरेको थियो तर जित इराककै भयो । पहिलो खेलमा नेपाल ९–१ ले र दोस्रो खेलमा नेपाल ४–२ ले पराजित भएको थियो । नेपालका लागि निराजन रायमाझी र हरि खड्काले गोल गरेका थिए ।

खेल विवरण

नेपाल भर्सेस इराक : मैत्रीपूर्ण खेल

मिति : १५ जेठ, २०७८

स्थान :  अल्फायहा अन्तर्राष्ट्रिय मैदान, बसरा, इराक

समय : राति १०:१५ बजे (नेपाली समय अनुसार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment