Comments Add Comment

सुर्खेतमा नेपाल समूहले बनायो एमालेको समानान्तर कमिटी

१५ जेठ, सुर्खेत । नेकपा (एमाले) को माधव कुमार नेपाल समूहले सुर्खेतमा पनि समानान्तर कमिटी गठन गरेको छ । पार्टीका सचिव मोहनसिंह बडुवालको अध्यक्षतामा २२७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

शुक्रबार साँझ गठन भएको कमिटीको उपाध्यक्ष टोपबहादुर रास्कोटी, सचिव शिवप्रसाद उपाध्याय र उपसचिव बलबहादुर नेपाली रहेका छन् ।

लामो समयदेखि नेपाल समूहमा रहेका एमाले सुर्खेतका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही भने हाल संस्थापन पक्षतिर लागेका छन् । शाही संस्थापन पक्षमा लागेपछि सो पक्षले शुक्रबार साँझ समानान्तर कमिटी घोषणा गरेको हो ।

समानान्तर कमिटीका अध्यक्ष बडुवाल यसअघि जिल्ला कमिटीका सचिव थिए भने रास्कोटी उपसचिव थिए । त्यस्तै सचिव उपाध्याय पनि अघिल्लो कार्यकालमा उपाध्यक्ष भइसकेका हुन् ।

समानान्तर कमिटी गठन आफूहरुको रहर नभई बाध्यता भएको अध्यक्ष बडुवालले बताए । ‘यतिबेला व्यवस्थामाथि नै प्रहार भइरहेको छ, संघीय लोकतन्त्र, गणतन्त्रलाई बचाउनुछ,’ उनले भने, ‘अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकारमा बस्दा राष्ट्रका नाममा गरेका निर्णय र पार्टीको आन्तरिक जीवनलाई तहस नहस पार्ने निर्णय गर्नुभएको छ । त्यसकै विरुद्धमा समानान्तर कमिटी गठन गरेका हौं ।’

पार्टी एकताका लागि ओलीलाई दवाव दिन पनि समानान्तर कमिटी गठन गर्नुपरेको भन्दै बडुवालले पार्टीको कारबाहीदेखि नडराउने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment