Comments Add Comment

राष्ट्रियसभा उपनिर्वाचनको संकेत : संकटको सन्निकटमा मुख्यमन्त्री पोखरेल

१७ जेठ, काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का पराजित हुँदा मुख्यमन्त्री शंकर पोखरेल समस्यामा परेका छन् ।

सोमबार भएको उपनिर्वाचन मत परिणामअनुसार खड्काले ८३ सदस्यीय प्रदेशसभाको केवल ४० मत पाए । नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेयले प्रदेशसभाका ४२ सदस्यको मत पाए भने एक मत बदर भएको छ ।

लुम्बिनी प्रदेशसभामा एमालेको ३८ सांसद छन् । २०७४ सालको प्रदेशसभाबाट निर्वाचित ४१ मध्ये एमालेका सांसद कपिलवस्तु २ (क) का दृगनारायण पाण्डेय र दाङ २ (ख) का अमरबहादुर डाँगीले राजीनामा दिए । त्यस्तै दाङ ३ (ख) मा भएको उपनिर्वाचनमा तत्कालिन नेकपाबाट निर्वाचित विमला वलीले माओवादी केन्द्र रोजिन् ।

एमालेसँगै प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) का ४ सांसद छन् । त्यसैले राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवारले एमालेका ३८ र जसपाका ४ गरी ४२ प्रदेशसभा सदस्यको मत पाउनुपर्ने हो ।

तर गोप्य मतदान भएकाले कसले मतदान गरेनन् भन्ने यकिन गर्न सकिन्न । फेरि एमाले एमालेभित्रै एकता छैन । बागमती प्रदेशमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूह विभाजित भएर राष्ट्रियसभा उपनिर्वाचनमा सहभागी भएको थियो । लुम्बिनीमा पनि त्यो असर परेन भन्न सकिन्न ।

गत १९ वैशाखमा नेकपा एमालेले प्रदेशसभामा आफ्नो एकल बहुमत दावी गरेको थियो र सोही अनुसार प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) को बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाले प्रदेशसभामा बहुमत नपुग्ने दावी गरेका थिए ।

पोखरेल मुख्यमन्त्री नियुक्त भएकै दिन एमाले प्रदेश सांसदबाट राजीनामा दिएका दृगनारायण पाण्डेयलाई विपक्षी गठबन्धनले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो । पाण्डेयले मुख्यमन्त्री पोखरेल पक्षको मत समेत पाएको देखिन्छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने बेला भएको छ । असार १ गते ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । तर प्रदेशसभामा बहुमत गुमाएमा उनको सरकार अप्ठेरोमा पर्नेछ ।

तर लुम्बिनी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्यले उपनिर्वाचनमा भएको मतपरिणाम हेर्दा प्रदेशसभाका केही मत आफ्नो उम्मेदवारले नपाएको स्वीकारे । ‘प्रदेशसभामा हाम्रो प्रष्ट ४२ मत हो, एक मत बदर भएको बुझियो, एक मत हरायो, खोजी भइरहेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment