Comments Add Comment

कोरोना संक्रमणबाट साहित्यकार डिल्लीराम नेपालको निधन

१८ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट साहित्यकार तथा योगसाधक डिल्लीराम नेपालको निधन भएको छ । कोरोना संक्रमणका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा उनको आइतबार राति निधन भएको हो । उनलाई दुई साताअघि कोभिड–१९ पुष्टि भएकोमा आईसीयूमा राखेर उपचार हुँदैआएको थियो ।

पाल्पा रिब्दीकोट निवासी नेपालका कविता कृति ‘युवालाई आह्वान’, लोकलयमा आधारित योगकाव्य ‘अष्टाङ्ग योग’, यात्रा संस्मरण ‘रमाइलो यात्रा क्यानडाको’, योग विधिसम्बन्धी ‘योगको प्रवेशद्वार’ प्रकाशित छन् । साथै आधा दर्जन कृति प्रकाशोन्मुख रहेको बताइएको छ ।

करिब ३३ वर्ष निजामती सेवाका जागिरे उनी २०६५ मा लेखा अधिकृत पदबाट सेवानिवृत्त भएका थिए । निजामती प्रवेशअघि उनी एक दशक शिक्षण सेवामा संलग्न थिए ।

भारतको जैन विश्वभारती विश्वविद्यालयबाट जीवन विज्ञान, प्रेक्षाध्यान एवं योग विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेका उनी गोरखपुर स्कूल अफ नेचुरल थेरापी कलेजबाट तालिम लिइ डाक्टर इन नेचुरोपेथी (एनडी) उपाधिसमेत हासिल गरेका थिए ।

योगसाधक नेपालले वाल्मीकी विद्यापीठबाट ६ महिनासम्म योग प्राकृतिक चिकित्साको तालिम लिएका थिए । उनका थुप्रै लेख, रचना, निबन्ध, रचना, कविता विभिन्न पत्रपत्रिका, स्मारिका, बुलेटिनमा प्रकाशित छन् । पछिल्लो समय काठमाडौं कीर्तिपुर बस्दै आएका उनका श्रीमती, २ छोरा–बुहारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment