Comments Add Comment

आलोचकलाई परराष्ट्रमन्त्रीको जवाफ : उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् !

१८ जेठ, काठमाडौं । कोरोना खोपका लागि राष्ट्रपतिले गरेको पहलमाथि प्रश्न उठाएकोमा पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असन्तुष्टि जनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन सम्वाद गरेकी थिइन् भने भारत, अमेरिका, रुस र बेलायतका राष्ट्र प्रमुखलाई पत्रचार गरेकी छन् । राष्ट्रपतिको यो प्रयत्‍नलाई कतिपयले अस्वभाविक सक्रियता भन्दै आलोचना गरेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने यस्ता टिप्पणीहरु देख्दा बडो बिरक्त पनि लाग्ने गरेको बताए । आलोचना गर्नेहरुलाई उनको प्रश्न छ, छ , ‘अहिले मान्छेको जीवन रक्षा ठूलो कुरा हो कि अरु ?’

खोपतका लागि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीले आफ्नो पहल गरिरहेको भन्दै उनले भने, ‘राष्ट्रपति यो देशको सर्वोच्च पदाधिकारी हो । संविधानको रक्षक र देशको अभिभावकको हैसियतले उहाँले आवश्यकता अनुसार आफ्नो हैयिसतलाई प्रयोग गर्नु हुन्छ ।’

आलोचना गर्नेहरुले सामान्य प्रोटोकल समेत ख्याल नगरेको परराष्ट्रमन्त्री ज्ञवालीको गुनासो छ । उनले भने, ‘जहाँ कार्यकारी राष्ट्रपति हुनुहुन्छ, त्यहाँ कुराकानी त राष्ट्रपतिले नै गर्नुपर्‍यो नि । प्रधानमत्री र राष्ट्रपतिको बीचमा त कुराकानी हुँदैन ।’

तर आलोचना गर्नेहरुले खोप ल्याएर नागरिकहरुको जीवन रक्षा गर्नु ठूलो हो भन्ने न्यूनमत मानवीयता समेत नराखेको उनले बताए । बालुटारमा बसेको एमाले स्थायी कमिटीको बैठकपछि परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘ती नेता, जसले अत्यन्त छुद्र ढंगले टिप्पणी गर्नु भएको छ, (हात जोडेर) मेरो प्रार्थना छ, उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् । उहाँहरुको नातापाता, सरसम्बन्ध कसैलाई पनि त्यस्तो नहोस् ।’

साथै उनले यस्ता मामिलामा राजनीतिक प्रश्न नगर्न समेत सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment