News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोसी बाढीपछि विस्थापित २७३ जनालाई बुटी तामाङले विदुर नगरपालिका–५ को कोदोबारी होल्डिङ सेन्टरमार्फत आश्रय दिइरहेकी छन्।
- सरकारले मासिक १५ हजार घरभाडा दिने निर्णय गरे पनि विस्थापितले अहिलेसम्म रकम नपाएको वडाध्यक्ष लीलानाथ न्यौपानेले बताए।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार असोज १० गतेसम्म बाढीमा १ हजार ४५३ जनाको मृत्यु र ५ हजार २८५ जना बेपत्ता भएका छन्।
‘दिदी, मेरी आमा, बाबा, दाइ, बुढा, सबै बित्नुभो ! उहाँहरूलाई खोलाले लग्यो।’
नेकपा एमालेबाट निर्वाचित उत्तरगया गाउँपालिकाकी कार्यपालिका सदस्य हुन्, बुटी तामाङ।
अहिले उनको भूमिका फेरिएको छ। भोटेकोसी महाप्रलयबाट विस्थापित रसुवाको टिमुरे, हाकुबेँसी तथा आसपासका नदीतटीय बस्ती, विशेषगरी खाल्टे क्षेत्रका बासिन्दाहरूलाई आश्रय दिन विदुर नगरपालिका वडा नम्बर ५ मा खोलिएको ‘कोदोबारी होल्डिङ सेन्टर’ को नेतृत्व यतिबेला उनले नै गरिरहेकी छन्।
विदुर नगरपालिका वडा नम्बर ५ का विभिन्न क्षेत्रमा रहेका पाँचवटा होल्डिङ सेन्टरमा विस्थापितहरूले आश्रय लिइरहेका छन्, तीमध्ये कोदोबारी एक हो।
कोदोबारी होल्डिङ सेन्टर खोल्नमा बुटी तामाङको सबैभन्दा बढी सक्रियता छ। त्यसको कारण बताउँदै उनी भन्छिन्, ‘यो खोल्नुमा पनि कारण छ दिदी ! परिवार सम्झिएर म नरोएको दिन छैन। रुँदारुँदा आँसु पनि सकियो जस्तो लाग्छ।‘
उनले थपिन्, ‘मलाई त्यस्तो परेको बेलामा गाउँको एकजना मान्छेले भनेको सुनेँ- यसको बुढा पनि मऱ्यो; बाबा, मम्मी, दाइ, दिदी सबै सखाप बनायो। ऊ थला पर्छे। हामीचाहिँ यसको नेतृत्व गर्नुपर्छ भनेर उनीहरू गफ गर्दै रहेछन्। त्यही सुनेर म सुतेको मान्छे जुरुक्क उठेर यस्तो काम गरेकी हुँ दिदी !’
सायद, शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने नारा व्यवहारमा लागू भएको उदाहरणीय रूप यस्तै होला !
कोदोबारी होल्डिङ सेन्टर बनाउन बुटीले साथी कल्पना न्यौपानेको सहयोगमा उक्त स्थानमा ११ रोपनी जग्गा भाडामा लिएर २७३ जनाको बसोबास गराउनुभएको छ। हुन त, त्यहाँ ७५ घरधुरी बसाउने योजना रहेछ, तर हाल ५५ घरधुरी (टेन्ट) हालिएको रहेछ। यस कार्यको सुरुवातमा उनलाई कल्पना न्यौपानेले सहयोग गरेका रहेछन्। न्यौपाने पहिला भूमि अधिकार मञ्चमा काम गर्दिरहिछिन्। बुटीले दिएको जानकारीअनुसार, अहिलेचाहिँ न्यौपाने रेडक्रसमा काम गरिरहेकी छन् ।
त्यहाँ कसरी होल्डिङ सेन्टर बनाइयो त ?
वडाध्यक्ष लीलानाथ न्यौपाने भन्छन्, ‘जग्गाको कुरा गर्न बुटीजीलाई यहाँ कल्पनाजीले ल्याइदिनुभएको हो। त्यतिबेलासम्म मैले बुटीजीलाई चिनेको पनि थिइनँ, उहाँ पनि आउनुभएको रहेछ। उहाँ बोल्न पनि नसक्ने अवस्थामा हुनुहुन्थ्यो।’

बुटीका अनुसार, भदौ १० गतेको बाढीले आफ्नो परिवार, दुइटा पसल, सबै सम्पत्ति गुमाएपछि उनी विदुर नगरपालिका वडा नम्बर २ मा खोलिएको कभर्ड हल होल्डिङ सेन्टरमा आश्रय लिइरहेका थिए । त्यही बेला उनकी दिदी (जसलाई बाढीले बगायो) का छोराछोरी पनि सानिमासँग बस्ने भनेर आएछन्। तर, सुरक्षामा बसेको प्रहरीले उनीहरूलाई त्यहाँ बस्न नदिएपछि, त्यहाँबाट निस्किएर उनीहरू भाडामा कोठा खोज्न थालेछन्।
खोज्दै जाँदा, बुटीसँग अरूहरू पनि सँगै बस्ने भनेर पछि लागेपछि, पहिले उनीहरूले स्थानीय स्कुल भवनमा आश्रय लिएर बसेछन्। त्यहाँ केही दिन बिताएपछि र स्कुल पनि खोल्नुपर्ने बाध्यता भएपछि अर्को बासको व्यवस्थाका लागि जग्गा भाडामा लिने सोच आएछ।
यसका लागि, बुटीसँगै पहिले काम गर्ने सोही जिल्लाका विश्वास नेपालीले कल्पना न्यौपानेलाई बुटीको नम्बर दिइछन् ।
कल्पना न्यौपाने बुटीलाई खोज्दै भेट्न आएछन्। बुटी परिवार गुमाएको पीडामा बिरामी नै भएर सुतिरहेकी थिइन् रे !
‘म बिरामी मान्छेलाई ओछ्यानबाट उठाएर, आफ्नै स्कुटरमा राखेर कति ठाउँमा जग्गा भाडामा खोज्न लग्यो नि दिदी ! नभए त म कहाँ यस्तो थिएँ र !’ कल्पनाको सहयोगप्रति कृतज्ञता प्रकट गर्छिन् बुटी।
उनी भन्छिन्— जग्गा भाडामा लिन पनि सजिलो भएन। कसैले एक रोपनीको वर्षको ५० हजार मागे, कसैले ४० हजार। बल्लबल्ल उक्त स्थानमा वडाध्यक्षको सहयोगमा प्रतिरोपनी ३५ हजारमा जग्गाको कुरा मिलेछ।
‘दिदी, मैले धेरै दुःख पाएँ ! चितवनबाट आएको शम्भु थापा र यतैतिर १०/१२ वर्ष बसेको कल्पना तामाङ भन्ने व्यक्तिले उनीहरू होल्डिङ सेन्टर चलाउने भनेर हाम्रा बच्चाहरूको नाम माइकबाट बोलाउन थालेछन्, पछि झगडा पर्यो। बच्चाहरूले कुटेर टाउकोमा रगत जम्यो, के–के भनेर रिपोर्ट गरिदिएछन्। बच्चाहरूलाई प्रशासनले जेल हाल्यो। बल्लबल्ल अस्ति भर्खर २५/२५ हजार तिरेर बच्चा छुटाएर ल्याएँ।’
एकातिर होल्डिङ सेन्टरको भाडा र अन्य कुरा जुटाउने तनाव, अर्कोतिर नसोचेको समस्यासँग जुध्नुपर्ने बाध्यता।
एकपटक त्यहाँ आश्रय लिएको बच्चालाई कुनै विदेशीले पाल्ने भनेर लिएर गएका थिए रे ! पछि समुदायले थाहा पाएर अन्य सङ्घसंस्थासमेतको सहयोगमा फिर्ता ल्याइएको रहेछ।
गएको भदौ १० मा हिमनदी फुटेर आएको भोटेकोसी–त्रिशूली बाढी देशकै भयावह विपत्तिमध्ये एक बन्यो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १० गतेसम्मको तथ्याङ्क हेर्दा १ हजार ४५३ जनाको मृत्यु भएको र ५ हजार २८५ जना बेपत्ता भएको उल्लेख छ।
उक्त समयको क्षतिलाई रकममा निकाल्दा, प्रारम्भिक मूल्याङ्कनले करिब ४ खर्ब रुपैयाँ क्षति भएको अनुमान छ।
बाढीले मानवीय क्षति मात्रै गरेको होइन, रोजगारीमा पनि धेरै ठूलो असर गरेको छ। बाढीले ४३० मेगावाटभन्दा बढी विद्युत् उत्पादन र प्रसारण क्षमता प्रभावित बनायो, जुन देशको कुल जडित क्षमताको १०.६ प्रतिशत हो। ८२ किलोमिटर लामो गल्छी–रसुवागढी व्यापारिक मार्गको ५५ किलोमिटरभन्दा बढी भाग क्षतिग्रस्त भयो। २०० भन्दा बढी होटल र रेस्टुरेन्टमा क्षति पुग्यो, र अहिले थुप्रै मानिसहरू विस्थापितको जीवन बिताइरहेका छन्।

माथि उल्लेखित होल्डिङ सेन्टरमा प्रायः खाल्टे क्षेत्रका बाढीपीडितहरू रहेछन् र सबैजसो तामाङ समुदायका ।
युके निवासी नेपाली मूलका दम्पतीले रसुवाका बाढीपीडितकै हातमा सहयोग दिन चाहेपछि यो पङ्क्तिकारले मानव अधिकार आयोगकी सदस्य लिली थापासँग सम्भावित व्यक्तिहरूको बारेमा सोधखोज गर्दा थापाले उक्त होल्डिङ सेन्टरका बारेमा जानकारी दिएकी थिइन् ।
थापाले भनिन्, ‘त्यहाँ एकजना महिलाको सक्रियतामा आफ्नो समुदायका व्यक्तिहरू छुट्टिएर बस्न नपरोस् भनेर जग्गा भाडामा लिएर होल्डिङ सेन्टर खोलिएको छ। भाडा तिर्न गाह्रो भइरहेको छ, त्यहाँ दिँदा राम्रो हुन्छ।’
थापाले नै दिएको सम्पर्कसूत्र मानव अधिकार, एकल महिला समूहका लागि महिला, विदुर नगरपालिकाकी देवकी पौडेलले हामीलाई त्यहाँ पुर्याइदिइन् ।
स्मरणीय छ, बाढी र नदी कटानको जोखिम कायमै रहेकाले रसुवाको टिमुरे, हाकुबेँसी तथा आसपासका नदीतटीय बस्ती (खाल्टे क्षेत्र) का धेरै बासिन्दा विस्थापित भएका छन्। कतिपय पीडितहरू काठमाडौँका होल्डिङ सेन्टर तथा गुम्बाहरूमा छन् भने, कतिपय व्यक्तिहरू विदुर नगरपालिकाकै अस्थायी आश्रय लिएर बसिरहेका छन्।
बुटी तामाङको नेतृत्वमा खोलिएको सो सेन्टरका लागि वर्षको ३५ हजार प्रतिरोपनीका दरले ११ रोपनी जग्गा भाडामा लिइएको रहेछ। त्यसमध्ये विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले आफ्नो एक रोपनी जग्गा निःशुल्क (एक वर्षका लागि) दिएकी रहिछन् ।
त्यसैको सहयोगका लागि युके निवासी दम्पतीले भाडाबापत दुई लाख रुपैयाँ सहयोग गरे। तर, बुटी तामाङका अनुसार जग्गा भाडामा लिँदा त्यहाँ रोपिएको तिल र कोदोबारी फाँडेको पैसाचाहिँ सम्बन्धित जग्गाधनीलाई दिनुपरेका कारण उनी आफैँले व्यक्ति–व्यक्तिसँग १०/१२ हजार सापटी लिएकी रहिछन्।
‘तपाईंहरूलाई सरकारले महिनाको १५ हजार घरधुरी भाडाबापत दिने निर्णय गरेको छ त ?’ भन्ने प्रश्नको जवाफमा बुटीको जवाफ थियो, ‘खोइ दिदी, हामीले त केही पनि पाएका छैनौँ। भर्खर ४/५ दिन अगाडि फाराम भराएर लगेको छ। पाएको त केही पनि छैन। बरु, रेडक्रस र पिन (पिपुल इन नीड, चेक रिपब्लिकमा हेडक्वार्टर भएको संस्था) ले केही दिन अगाडि १५/१५ हजार प्रतिघरधुरी बाँडेको थियो।’
गत भदौ २५ गतेको मन्त्रिपरिषद्को बैठकले चार जनासम्मको परिवारलाई मासिक १५ हजार र त्यसभन्दा बढी सदस्य भए प्रतिव्यक्ति थप २ हजार रुपैयाँका दरले कोठाभाडा उपलब्ध गराउने निर्णय गरेको थियो। साथै, सोही बैठकले बाढीबाट क्षति पुगेको रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी ७ हजार ५ सय ७० वटा निजी घरका बासिन्दाहरूलाई आर्थिक सहायता दिने निर्णयसमेत गरेको थियो।
त्यति मात्रै होइन, सरकारले बाढीबाट विस्थापित परिवारहरूको दीर्घकालीन पुनःस्थापनाका लागि रसुवा, नुवाकोट र धादिङमा गरी कुल ३ हजार २७९ रोपनी जग्गाको आवश्यकता पहिचान गरेको थियो।
तर हालसम्म पनि विस्थापित परिवारहरूले सरकारले घोषणा गरेको मासिक १५ हजार रुपैयाँ घरभाडा रकमसमेत नपाएको कुरा कोदोबारी होल्डिङ सेन्टरमा पुग्दा वडाध्यक्ष लीलानाथ न्यौपानेले बताए।
न्यौपाने भन्छन्, ‘यहाँ राहत वितरणमा सहजता छैन, साँचै भन्ने हो भने यहाँ राहत रोकिएको छ। त्यसैले, म वडाध्यक्षको नाताले जसले राहत दिन आउँदा पनि ओके भनेको छु। किनभने, संस्थाहरूले राहत दिन आउँदा पुलिसले पनि रोक्ने स्थिति बनेको छ। त्यसको कारण, यहाँ टेन्टमा बसेका केही हुनुहुन्छ भने भाडामा बस्नेहरू पनि हुनुहुन्छ। टेन्टमा बस्नेहरूलाई मान्छेहरू सहयोग गर्न आउने भए; भाडामा बस्नेहरूले पाउने भएनन्। त्यसैले भाडामा बस्नेहरूले विरोध गरे। उनीहरू नगरपालिकामा डेलिगेसन पनि गएछन्, तर त्यसमा म कन्भिन्स भइनँ। किनभने, कसैले आफ्नो व्यक्तिगत सहयोग गर्न चाहन्छ भने किन अब्जेक्सन गर्ने ?’
होल्डिङ सेन्टरमा सुत्केरी (जसका श्रीमान्लाई बाढीले बगायो), गर्भवती र २/३ वर्षका बच्चाहरूसमेत छन्।
त्यसैमध्ये एकजना गर्भवतीको बच्चा जन्मने अनुमानित समय यही मङ्सिर २१ गतेतिर छ भने अर्की, भर्खर १६ वर्ष लागेकी किशोरी पनि हाइड्रोमा काम गर्ने पति गुमाएर बच्चाको पर्खाइमा छिन्। ती युवतीको नाम हो— खुसीमाया तामाङ (अनुमति लिएर लेखिएको)। आफैँ नाबालिग खुसीमायाको पेटमा बच्चा हुर्कंदै छ। उनको नागरिकतासमेत बनेको छैन, तर उनी भोटेकोसी बाढीको कारण ‘एकल महिला’ बनिसकेकी छन्। योभन्दा ठूलो विडम्बना के हुन सक्छ !
सेन्टरमा बस्नेहरू मेसमा खान्छन्; तर संस्थाहरूको सहयोगमा आ–आफ्नो टेन्टमा चामलका बोरा, ब्ल्याङ्केटका चाङ थुप्रिएका छन्। संस्थाले बाँडेको पैसाले ३५ हजार हालेर मोबाइल किन्ने र त्यही मोबाइलबाट मनोरञ्जन लिनेहरू पनि देखिन्छन्। तर, भविष्यको ठेगान छैन।
आर्थिक पूर्वाधार केही छैन। युवाहरू अलपत्र भएर बसेका छन्। बच्चाहरूसमेत नयाँ मानिस देख्यो भने पैसा बाँड्न आएका भनेर बुझ्छन्।
धन्न सो क्याम्पका २५ जना बच्चाहरू स्कुल जाने रहेछन् !
वडाध्यक्ष न्यौपाने भन्छन्, ‘यहाँ जग्गा खोजेर एकीकृत बस्ती व्यवस्थापन गरिनुपर्दछ। उहाँहरूलाई सीप सिकाएर आफ्नो खुट्टामा उभिन सक्ने बनाउनुपर्दछ।’
बुटीमायाको विचारमा, ‘आफ्नो समुदायका मानिसहरूलाई एकै ठाउँमा बस्न दिनुपर्दछ।’
अब पनि काम गर्न ढिलो भएन र सरकार ?
भोटेकोसी बाढीले विध्वंस मच्चाएको साढे दुई महिनाभन्दा बढी भयो; अझै पनि कार्यान्वयन पक्ष सक्रिय बनाउने बेला भएन र सरकार ? कि, अन्य सङ्घसंस्थाले थापिदिएको काँधको बोझलाई भजाउँदै आफू सक्रिय भएको देखाइरहने ?
कल्पना र बुटीमायाजस्ता एक्लाएक्ला महिलाहरू मिलेर त्यत्रो व्यक्तिको जिम्मा लिँदै २७३ जनाको गाँस र बासको तर्जुमा गरिरहेका छन् भने पूरै देश चलाउन बनेको सरकारको दायित्व र जिम्मेवारीको अनुभव बाढीपीडित र सम्पूर्ण जनमानसले कहिले गर्न पाउने ?
कमसेकम बुटीमायाको जत्तिको हिम्मत त देखाऊ सरकार !
प्रतिक्रिया 4