News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ १० गतेको भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका विस्थापित नागरिक तिहारमा पनि त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका छन् ।
- नुवाकोटको लामिबगैंचा, बाँडाचौतारा र पिपलटारसहित रसुवाका शिविरमा बाढी प्रभावितका लागि दशैँतिहारको रौनकभन्दा शोक र निराशा बढी छ ।
- रसुवाबाट विस्थापित ३४४ परिवारका ३१५ सदस्य र उत्तरगया गाउँपालिका–१ का ४९५ जना बाढीमा मृत्यु र बेपत्ता भएको स्थानीयले बताएका छन् ।
२५ कात्तिक, नुवाकोट । तिहारको मौसम छ । झिलिमिली उज्यालोसँगै आफन्त र साथीभाइसँग खुसी साटासाट गर्ने, घुमघाममा रमाउने, पिङमा मच्चिने र देउसीभैलोको रौनकमा रमाउने समय हो यो । तर, नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा भने तिहारको कुनै उमंग र उत्साह छैन ।
भदौ १० गतेको भोटेकोशी बाढीमा आफन्त, परिवार, घरवास, थातथलो र सम्पत्ति गुमाएका नागरिक चाडपर्वको यो समयमा पनि त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका छन् ।
बाढीपछि विस्थापित भएर दिन काटिरहेका नुवाकोटको लामिबगैंचा, बाँडाचौतारा र पिपलटार तथा रसुवाको बेत्रावती र स्याफ्रुबेंसीलगायतका क्षेत्रमा रहेका शिविर अहिले सुनसान र उराठलाग्दा छन् ।
त्यहाँका विस्थापितको दैनिकीमा रौनकताभन्दा निराशा बढी देखिन्छ । शिविरमा साना बालबालिका पिङमा रमाइरहेका भेटिए पनि उनीहरूका अभिभावकका लागि भने उज्यालो तिहार निस्पट्ट अँध्यारोजस्तै बनेको छ ।
बाढीमा बेपत्ता भएका र ज्यान गुमाएका आफन्तको सम्झनामा टोलाइरहेका उनीहरू पीडा पोख्दै भन्छन्, ‘बितेका आफन्तको यादले चाडपर्वमा झन् सताउँदोरहेछ ।’
नुवाकोटको विदुर नगरपालिका–५ बाँडाचौतारा, पिपलटारलगायतका स्थानमा रहेका विस्थापित बस्तीमा यस वर्ष दशैँ र तिहार दुवैको रौनक छैन । ३०० भन्दा बढी परिवारले यसपटक यी पर्व सम्झिनसमेत चाहेनन् ।
रसुवाको उत्तरगया गाउँपालिका–१ मा रहेको आफ्नो थातथलो बगरमा परिणत भएपछि सयौंको संख्यामा नुवाकोट आइपुगेका विस्थापित नागरिक अहिले पनि आफन्त गुमाएको शोकमा छन् ।
यसअघिका वर्षमा उल्लासपूर्वक दशैँ मनाउने गरे पनि यसपालि आफूहरू आफन्त र परिवारजनको शोकमा रहेको उत्तरगया–१ का पूर्ववडाध्यक्ष तथा विस्थापित बमबहादुर तामाङले बताए ।
दशैँतिहार नमनाउनुको कारण सुनाउँदै उनले भने, ‘यहाँ सबैको कोही न कोही परिवारका सदस्य बाढीमा बितेर गएका छन् । सबथोक गुमाइसकेका हाम्रा लागि चाडपर्वको खुसी नै सधैँका लागि खोसिएजस्तै भएको छ ।’
बमबहादुरजस्तै यहाँका धेरैजसोले बाढीमा आफ्ना परिवारका सदस्य र आफन्त गुमाएका छन् । विदुर नगरपालिका–५ स्थित बाँडाचौतारा, रक्तकाली आधारभूत विद्यालय परिसर, पिपलटार, माझीटार ठूलोगाउँ र पोष्टबहादुर बोगटी पार्क गरी चार स्थानमा करिब दुई हजार विस्थापित डेढ महिनादेखि बसोबास गर्दै आएका छन् । उनीहरूका लागि यस वर्षको दशैँ र तिहार शोकमै बित्यो ।
बाढीबाट ज्यान जोगाएर फर्किएकाहरूको जीवन नै अन्योलमा रहेको अवस्थामा तिहारजस्ता पर्वको खासै महत्त्व नरहेको रसुवाबाट विस्थापित भएर यहाँ बस्दै आएकी तेन्जिङ भुटीले बताइन् ।
‘यहाँ सबैजना आफन्तविहीन भएका छौँ । बाँचेका हामीलाई पनि अब कसरी बाँच्ने भन्ने चिन्ताले सताइरहन्छ,’ उनले भनिन् । यद्यपि, उनले भविष्यमा फेरि चाडपर्व मनाउन पाउने आशा भने मारेकी छैनन् । ‘बसोबासदेखि अरू आवश्यक कुराको व्यवस्था भयो भने आगामी वर्षमा फेरि चाडपर्व मनाउन पाइएला,’ उनले आशा व्यक्त गरिन् ।

अहिले आफूहरूलाई कसरी सुरक्षित बसोबासको व्यवस्था गर्ने र जीवनलाई सामान्य अवस्थामा फर्काउने भन्ने चिन्ताले सताइरहेको उनले बताइन् ।
यहाँ रसुवाबाट विस्थापित भएर आएका ३४४ परिवारका ३१५ जना सदस्य बाढीमा गुमेका छन् । यहाँ आइपुगेका बाहेक उत्तरगया गाउँपालिका–१ का मात्रै ४९५ जना बाढीमा मृत्यु र बेपत्ता भएका छन् ।
२०७२ सालको भूकम्पपछि सिंगो गाउँ नै बस्न अयोग्य भएपछि रसुवाको साविक हाकु गाविसका सबै नागरिक विस्थापित भएका थिए । उनीहरू त्यसयता बेत्रावतीनजिकैको खाल्टेमा बसोबास गर्दै आएका थिए ।
लामिबगैंचामा त्रिपालमुनिको अँध्यारो तिहार
भोटेकोशी बाढीपछि ७५ दिनभन्दा लामो समयदेखि विस्थापित जीवन बिताइरहेका नुवाकोटको विदुर नगरपालिका–५ लामिबगैंचामा रहेका ३० दलित परिवारको अस्थायी शिविरमा पनि उस्तै सन्नाटा छ । तिहारको रमझमभन्दा उनीहरूलाई गुमेको थातथलो, धनसम्पत्ति र अब कसरी जीवन बिताउने भन्ने चिन्ताले सताएको छ ।
देविघाट बजारबाट विस्थापित भएर लामिबगैंचा पुगेका ३० परिवारका करिब एक सय जना बाढी प्रभावित यसैगरी निराशाबीच तिहारको समय गुजारिरहेका छन् । आफन्तको शोकका कारण धेरैजसोले दशैँ पनि मनाएनन् । थोरै परिवारले भने आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन तथा साना बालबालिकाको खुसीका लागि चाडपर्व मनाउनुपरेको बाध्यता सुनाए ।
सुचित चित्रकारले आफ्ना लागि खुसी हराए पनि बालबालिकाको खुसीका लागि चाडपर्व मनाउनुपर्ने अवस्था रहेको बताए । प्रेमकुमारी नेपालीका अनुसार बालबालिकाका लागि पिङलगायतका आवश्यक व्यवस्था विभिन्न संघसंस्था र व्यक्तिगत सहयोगमा भइरहेको छ ।
जिल्लाको मुख्य व्यापारिक तथा धार्मिक केन्द्र मानिने देविघाट क्षेत्र अहिले बगरमा परिणत भएको छ । पहिले बस्ती रहेको ठाउँमा अहिले पनि नदी बगिरहेको छ । भदौ १० गतेको भोटेकोशी बाढीले करिब ४०० घरपरिवारको घरवास गुमेपछि सबैजसो चिन्तित छन् ।
कष्टकर जीवन बिताउनुपर्दा उनीहरूका लागि रमाइलोभन्दा चिन्ता र निराशा बढी छ । भविष्यमा कसरी पुनःस्थापित हुने र जीवनयापन गर्ने भन्ने चिन्ताले सधैँ सताउने गरेको सविता परियारले बताइन् ।
७० वर्षीया गोपी नेपालीले त्रिपालमुनि जसोतसो दशैँ मनाएको सुनाइन् । साँघुरो त्रिपालभित्रको घेरालाई नै घर मानेर दिन बिताउनुपर्दा बाढीबाट बाँचेर पनि यहीँ मर्नुपर्ने हो कि भन्ने डरले सताउने गरेको उनले बताइन् ।
‘बाढीले सबै लग्यो । बरु धन्न हामी परिवारको ज्यान बच्यो,’ नेपालीले भनिन्, ‘यस्तो दुःख अब कसैले पनि भोग्न नपरोस् । आशा छ, नमरी बाँचे अर्को सालदेखि आफ्नै घर हुनेछ र पहिलेजस्तै रमाइलोसँग दशैँ मनाउन पाइनेछ । तर, यहीँ मरिने हो कि भन्ने चिन्ताले सधैँ सताइरहन्छ ।’



प्रतिक्रिया 4