Comments Add Comment

वैज्ञानिक भन्छन् : बेलायत कोरोनाको तेस्रो लहरको सुरुवाती चरणमा

१८ जेठ, काठमाडौं । वैज्ञानिकहरुले बेलायत कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिने सुरुवाती चरणमा रहेको संकेत भेटिएको बताएका छन् ।

बेलायतको सरकारलाई परामर्श दिने टोलीमा सहभागी भएका क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक रवि गुप्ताले नयाँ संक्रमितको संख्या तुलनात्मकरुपमा कम देखिए पनि भारतीय भेरियन्टको कारण बेलायतमा कोरोना संक्रमण गुणात्मक हिसाबले बढ्न सक्ने बताए ।

गुप्ताले २१ जुनमा सबै किसिमको प्रतिबन्ध हटाउने सरकारको निर्णय रोक्नुपर्ने बताएका छन् । बेलायतका वातावरणमन्त्री जर्ज औस्टिसले सरकारले लकडाउन खुकुलो पार्न नहुने आवश्यकतालाई नकार्न नसक्ने बताएका छन् । यद्यपि व्यापारीहरुले भने उक्त समयमा नै लकडाउन खुकुलो नपारेको अवस्थामा यसको नकारात्मक असर पर्न सक्ने चेतावनी दिएका छन् ।

सोमबार लगातार छैटौं दिन बेलायतमा कोरोनाका नयाँ संक्रमितको संख्या तीन हजारभन्दा धेरै देखिएको थियो । यसअघि अप्रिल १२ यता बेलायतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या तीन हजार नाघेको थिएन।

पछिल्लो २८ दिनमा इंगल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा कोरोना संक्रमणको कारण कसैको पनि मृत्यु भएको छैन तर स्कटल्याण्डमा भने एकजनाको मृत्यु भएको छ ।

प्राध्यापक गुप्ताले बीबीसी रेडियोसँगको अन्तर्वार्तामा अहिले नै बेलायत कोरोनाको तेस्रो लहरमा प्रवेश गरिसकेको र ७५ प्रतिशतभन्दा धेरैमा भारतीय संक्रमण देखिएको बताएका हुन् ।

उनले सबै मुलुकमा सानो संख्यामा देखिएको नयाँ संक्रमणबाट नै कोरोनाले ठूलो रुप लिने गरेको बताए । यद्यपि बेलायतमा धेरै मानिसले कोरोनाविरुद्धको खोप लिइसकेको कारण कोरोना संक्रमण फैलिन लामो समय लाग्न सक्ने उनको भनाइ छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment