Comments Add Comment

सांसदको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, चालक भागे

२१ जेठ, विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

कांग्रेस प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको कोसी अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए ।

कारको ठक्करबाट मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट फर्निचरमा उद्योगमा काम गर्दथे ।

प्रदेशसभा सदस्य कार्कीका छोरा रोबिनसहितका युवाहरुले कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिँदा सोही गाडी प्रयोग गर्थे । तर बिहीबार रोबिन संक्रमितको शव व्यवस्थापन गर्न गएनन् । रोबिन नगएपछि राम नेपालसहितका युवाहरु संक्रमितको शव बोक्ने गाडीमै गएका थिए ।

प्रहरी स्रोतका अनुसार बिहीबार केही साथीसँग रोबिन एक होटलमा पुगेका थिए । होटलबाट निस्कदा रोबिनसँग अन्य दुई जना कारमा बसेका थिए । तर अनियन्त्रित रुपमा रहेको कारले दुई जनालाई ठक्कर दिएको थियो ।

‘गाडीमा अरु दुई जना युवती पनि थिए, प्रत्यक्षदर्शीले भने, ‘हामी घाइतेको उद्धारतर्फ लाग्यौं उनीहरु गाडी छाडेर भागे ।’ दुर्घटनामा परेको कार क्षतिग्रस्त छ ।

चालक को थिए भन्नेबारे मोरङ प्रहरीले औपचारिक जानकारी गराएको छैन । तर प्रत्यक्षदर्शीले भने कार बिन्दियाका छोरा रोबिनले नै चलाएको जिकीर गरेका छन् । दुर्घटनापछि फरार चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment