Comments Add Comment

भागवण्डा मिलाउन चार मन्त्रालय फुटाउने तयारी

२५ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारबाट महन्थ ठाकुर पक्षलाई हटाएको जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष ले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने प्रयास गरिरहेको छ । सत्ता साझेदारीका लागि दुबै दल सकारात्मक भएपनि मन्त्रालय भागवण्डा टुंगिएको छैन ।

जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव स्वयं तीन दिनतया कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफलमा छन् । सत्ता सझेदारीबारे वार्ता गर्न भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित समिति पनि सक्रिय छ । तर मन्त्रालय भागवण्डा मिलेको छैन ।

जसपाले कांग्रेसलाई दुई मन्त्री र दुई राज्यमन्त्री तथा माओवादी केन्द्रलाई एक मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरेको छ ।

सुरुमा मुख्यमन्त्री दाबी गरेको कांग्रेसले अहिले ३ वटा मन्त्रालय लिनुपर्ने बताएको छ । तत्कालीन राजपालाई झै आफूहरुलाई पनि ५० प्रतिशत मन्त्रालय दिनुपर्ने माग कांग्रेसले राखेको जसपा सांसद रामअशिष यादव बताउँछन् ।

माओवादीले पनि तीन वटा मन्त्रालय दाबी गरेको छ । ‘हामीले तीन मन्त्रालय मागेका छौं, उहाँहरुले एउटाको कुरा गर्नुभएको छ’ माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहले भने, तर छलफल सकारात्मक रुपमा अघि बढिरहेको छ ।’

मन्त्रालय फुटाउने तयारी

दलहरुबीच मन्त्रालयमा भागवण्डा नमिलेपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय फुटाउने तयारी गरेका छन्  ।

अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग पर्यटन वन तथा वातावरण गरी ६ वटा मन्त्रालय छ ।

महन्थ ठाकुर पक्षलाई हटाउँदा भौतिक पूर्वाधार विकास मन्त्रालय मन्त्री बिहीन छन् । बर्खास्त गरिएका अरु राज्यमन्त्री थिए ।

अब कांग्रेस र माओवादी केन्द्रलाई दिन चार वटा मन्त्रालय टुक्र्याएर १० वटा पुर्‍याउने तयारी छ । जसपा सांसद रामअशिष यादवका अनुसार सामाजिक विकासलाई टुक्र्याएर नया मन्त्रालयका रुपमा शिक्षा तथा स्वास्थ्य बनाइनेछ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार झिकेर नयाँ मन्त्रालय बनाउने तयारी छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि तथा सहकारीलाई अलग गर्ने तथा उद्योग, पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरणलाई अलग गरेर ४ वटा मन्त्रालय थप्ने प्रदेश सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
श्रवण देव

ट्रेन्डिङ

Advertisment