३१ जेठ, काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध किटानी जाहेरी दर्ता गरेकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । संसदीय दलका नेता इन्द्र बानियाँले वैद्यविरुद्ध किटानी जाहेरी दिएकामा प्रदेशसभामा प्रतिवाद गर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका वैद्यविरुद्ध युवा संघका अनिल काफ्लेले जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा ज्यान मार्न दुरुत्साहन गरेको जाहेरी दिएका थिए ।
सोमबार वाग्मती प्रदेशसभा कांग्रेस संसदीय दलमा आयोजित पत्रकार सम्मेलनमा दलका नेता बानियाँले जाहेरी दर्ता गरेकोमा आपत्ति जनाए । प्रदेशसभामा बोलेको विषयलाई लिएर कानूनी कारबाही अगाडि नमिल्ने भन्दै उनले भने, ‘यसलाई तत्काल फिर्ता लिने काम भएन भने कांग्रेस संसदीय दलले प्रदेशसभामा डटेर प्रतिवाद गर्नेछ ।’
प्रदेशसभा सदस्य वैद्यले आफ्नो गल्ती सच्याउनुका साथै आपत्तिजनक अभिव्यक्ति रेकर्डबाट हटाइसकेको भन्दै उनले जाहेरी तत्काल फिर्ता लिन युवा संघलाई आग्रह गरे ।
प्रहरीले प्रदेशसभासँग भिडियो क्लिप मागेको भन्दै उनले रेकर्डबाट हटाइसकेकाले दिन नमिल्ने बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4