Comments Add Comment

दुई महिनादेखि साङ्लोले बाँधिएका हृदयको उद्धार

३ असार, वीरगञ्ज । दुई महिनादेखि साङलोले बाँधिएका वीरगञ्जका पुरुषको उद्धार गरिएको छ ।

मानसिक सन्तुलन गुमाएपछि साङ्लोले बाँधेर राखेका वीरगञ्ज महानगरपालिका-१७ का ४३ वर्षीय हृदय नारायण साहको उद्दार गरिएको हो ।

झण्डै १५ वर्षअघि नैसाहमा मानसिक समस्या देखिएको थियो । तर, पछिल्लो २ महिनादेखि उनी निकै आक्रमक हुन थाले । मानिसहरुलाई देख्ने बित्तिकै कुटपिट गर्ने, जथाभावी गाली गर्न थालेपछि बाँधेर राख्न बाध्य भएको उनका बुवा बासुदेव साह बताउँछन् ।

‘मानसिक समस्या देखिएपछि वीरगञ्ज र भारततिर पनि लगेर उपचार गर्‍यौं, औषधि खुवायौं, निकै पैसा खर्च भयो तर ठीकै भएन,’ उनले भने, ‘दुई महिना अघिदेखि अरुलाई देखेपछि गाली गर्ने, कुटपिट गर्न जाने, ढुंगा, लठ्ठीले हान्ने गर्न थालेपछि साङ्लोले हात खुट्टा बाँधेर राखेका हौं ।’

उनीहरुको परिवारको आर्थिक अवस्था कमजोर छ । हृदय नारायणको मानसिक अवस्था बिग्रिएपछि श्रीमतीले छाडिसकेकी छन् । बुवाआमा हुँदाहुँदै पनि दुई छोरी र एक छोरा अभिभावक विहीन छन् ।

१० दिनअघि उनको अवस्थाको बारेमा जानकारी पाएपछि औषधि लगेर दिएको सामाजिक अभियन्ता प्रकाश थारु बताउँछन् । तर, परिवारका सदस्यले औषधि राम्रोसँग खुवाउन नसकेपछि उनको उद्धार गरिएको उनको भनाइ छ ।

उद्धार गरी सरसफाइ गरिदिएपछि हृदय नारायण ।

‘उनको अवस्थाको बारेमा थाहा पाएपछि भेट्न गयौं, मानसिक रोग विशेषज्ञ डाक्टर भरत गोइतलाई अवस्थाको बारेमा बतायौं,’ उनले भने, ‘एक महिनाको औषधि निःशुल्क उपलब्ध गराउनुएको थियो, तर परिवारले बिरामीलाई खुवाउन सकेनछन् । त्यसैले उद्दार गरेर ल्याएका छौं ।’

बुधबार वीरगञ्ज महानगर प्रमुख विजय सरावगी स्वंय मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीसँगै उद्धारका लागि अलौं पुगेका थिए ।

वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोली, आश्रमका प्रतिनिधि, सामाजिक अभियन्ताहरुको प्रयासमा उनको सरसफाइ गरेर आश्रममा ल्याइएको छ ।

मानसिक स्वास्थ्य कमजोर भएका मानिसहरुलाई औषधि उपचारसँगै स्याहारको पनि आवश्यकता पर्ने चिकित्सकहरु बताउँछन् ।

आश्रममा राखेर उपचार गराउने र निको भएपछि उनलाई घर पठाइने मानव सेवा आश्रम वीरगञ्ज शाखा संयोजक सानु गुरुङले बताइन् ।

हृदय नारायणको मासिक पालनपोषण खर्च मासिक १० हजार रुपैयाँ वा आधा खर्च बेहोरेर बेसाहाराको अभिभावक बन्न मानव सेवा आश्रमले आह्वान गरेको छ ।

मानव सेवा आश्रमले सडकमा अलपत्र, बेसाहारा, मनोरोगी सहयोगापेक्षी मानिसहरुलाई खाना, माना र छानाको प्रबन्ध गर्दै आएको छ । वीरगञ्जको आश्रममा हाल ५० जना सहयोगापेक्षी मानव आश्रति छन् ।

तस्वीर :सन्नी शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment