+
+

महाधिवेशन कुनै पनि हालतमा सर्दैन : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ४ गते २१:२८

४ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनका बारेमा शंका नगर्न आग्रह गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा सभापति देउवाले महाधिवेशन तोकिएकै समयमा हुने दावी गरे ।

भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका केन्द्रीय समितिबाट अनुमोदन भएपछि कांग्रेस सभापति देउवाले भने, ‘महाधिवेशन कुनै पनि हालतमा हुन्छ । १९ को २० हुँदैन, बरु १८ नै हुन्छ । महाधिवेशन कुनै पनि हालतमा सर्दैन ।’

बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकले राजनीतिक प्रस्ताव र महाधिवेशनसम्बन्धी कार्यतालिका अनुमोदन गरेको छ । राजनीतिक प्रस्तावमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई बलियो बनाउने र नेताहरुबीच आपसी विश्वास बढाउने गरी काम गर्ने उल्लेख छ । बैठकमा नेताहरुको बोल्ने क्रम चलिरहेका बेला बीचबीचमा आफ्नो धारणा राख्दै कांग्रेस सभापति देउवाले महाधिवेशनबारे आशंका नगर्न नेताहरुलाई आग्रह गरेका हुन् ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि विपक्षी गठबन्धनलाई बलियो बनाउँदै लैजानुपर्ने धारणा राखेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अधिनायकवादको बाटोमा अगाडि लैजान खोजेकाले त्यसलाई पराजित गर्न विपक्षी गठबन्धन मजबुत हुनुपर्नेमा जोड दिएका थिए । उनले गठबन्धनका नेताहरुबीच अविश्वास पैदा हुने गरी काम गर्न नहुनेमा सचेत गराएका थिए ।

महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका दुवै प्रस्ताव एकमतले पारित भएको नेताहरुले बताएका छन् । नेताहरुले पार्टीको महाधिवेशनलाई आन्दोलनको रुपमा अगाडि लैजानुपर्ने धारणा राखेका थिए । सरकारको अधिनायकवादी र सर्वसत्तावादी सोचविरुद्ध तल्लो तहसम्म जनताका बीचमा जानुपर्ने मत कांग्रेस नेताहरुको थियो ।

बैठकमा वरिष्ठ नेता पौडेल, केन्द्रीय सदस्य बलबहादुर केसी, मानबहादुर विश्वकर्मा, एनपी साउद, डा चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, सीता गुरुङ, सुजाता परियार, देवेन्द्रराज कँडेल, बीरबहादुर बलायर, बाबुराम बस्नेत, आमन्त्रित केन्द्रीय सदस्यहरु कृष्णकिशोर घिमिरे, शम्भुलाल श्रेष्ठ र दयाराम पाण्डेले धारणा राखेका थिए ।

कांग्रेस केन्द्रीय समितिबाट पारित महाधिवेशनको कार्यतालिका अनुसार गाउँ÷नगर वडा अधिवेशन साउन १२ गतेबाट सुरु हुनेछ ।

साउन १६ मा गाउँ/नगर अधिवेशन र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ गते हुने कार्यतालिकामा उल्लेख छ ।

त्यस्तै दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुनेछ । यस्तै क्रियाशील सदस्यता टुंग्याउन छानविन समितिलाई असार २० गतेसम्मको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?