Comments Add Comment

म्यानमारलाई हतियार नबेच्न राष्ट्रसंघको अपील

६ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघले म्यानमारलाई हतियार बिक्री बन्द गर्न विश्वका सबै मुलुकलाई आग्रह गरेको छ । गत फेब्रुअरीमा भएको सैन्य कू को विरोधमा राष्ट्रसंघले विश्वका मुलुकहरुलाई यस्तो आग्रह गरेको हो । राष्ट्रसंघको महासभाले म्यानमारको सेनाको निन्दा गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

राष्ट्रसंघले राजनीतिक कैदीहरुलाई रिहाइको माग गरेको छ । कू गर्दा सेनाले आङ साङ सुकीलगायतका नेताहरुलाई पक्राउ गरेको थियो । राष्ट्रसंघले म्यानमारको सेनालाई शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि हिंसा बन्द गर्न पनि आग्रह गरेको छ ।  राष्ट्रसंघको प्रस्ताव कुनै कानूनी दस्तावेज नभए पनि यसले राजनीतिक रुपमा भने ठूलो अर्थ राख्छ ।

‘गृहयुद्ध निम्तिने जोखिम बढ्दो छ,’ म्यानमारका लागि राष्ट्रसंघका विशेष दूत क्रिस्टिन स्क्रानर बर्गेनरले महासभामा भने, ‘सैन्य कू फिर्ता गर्ने अवसर क्षीण बन्दै गएको छ ।’

राष्ट्रसंघको महासभामा म्यानमारविरुद्धको प्रस्तावलाई ११९ मुलुकले सहयोग गरेका थिए । त्यस्तै रुस र चीनलगायत ३६ मुलुकले भने यो प्रस्तावको विपक्षमा मतदान गरेका थिए । बेलारुस भने यसमा तटस्थ बसेको थियो ।

केहीले यो संकट म्यानमारको आन्तरिक मुद्दा भएको बताएका छन् भने केहीले यो प्रस्तावले चार वर्षअघि रोहिंग्यामाथि भएको दमनलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment