Comments Add Comment

वीरगञ्जमा पर्यटन व्यवसाय उत्थान केन्द्रित बजेट ल्याउन माग

६ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले कोरोना महामारीले थलिएका होटल तथा पर्यटन व्यवसाय उत्थान केन्द्रित बजेट ल्याउन महानगरपालिकासँग आग्रह गरेका छन् ।

होटल तथा पर्यटन व्यवसायीहरुले महानगर प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले होटल व्यवसायी र कर्मचारीलाई खोप व्यवस्था गर्न पनि माग गरेका छन् ।

उनीहरुले एक वर्षका लागि होटल तथा पार्टी प्यालेसले चर्चेको घरको सम्पत्ति कर, घरबहाल कर, होटल व्यवसायीले वार्षिक रुपमा बुझाउँदै आएको व्यवसाय कर तथा सफाइ शुल्क छुट गरिदिन पनि आग्रह गरेका छन् ।

व्यवसायीलाई पलायन हुनबाट जोगाउन आवश्यक सहयोग गर्न स्थानीय सरकारलाई आग्रह गरिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए ।

‘कोरोना महामारीले व्यवसाय ठप्प छ, ऋणको ब्याज, किस्ता तिर्न नसक्ने अवस्थामा छौं । भाडामा रहेका होटलहरुले त झन् घर भाडा पनि तिर्नुपर्छ,’ उनले भने, ‘त्यसैले विभिन्न करमा छुट गर्नुको साथै पुनरुत्थानका प्याकेज नीति, कार्यक्रम तथा बजेटमा ल्याउन ध्यानाकर्षण गराएका हौं ।’

ज्ञापनपत्र बुझ्दै वीरगञ्ज महानगर प्रमुख विजयकुमार सरावगीले होटल तथा पर्यटन व्यवसायको संरक्षण गर्नु स्थानीय सरकारको जिम्मेवारी भएको बताए । उनले होटल तथा पर्यटन व्यवसायीहरुको जायज मागलाई नीति तथा कार्यक्रममा समावेश गरेर नगरसभामा प्रस्तुत गर्ने आश्वासन दिए ।

‘कोरोना महामारीले अन्य पेशा व्यवसायका साथीहरु पनि मारमा हुनुहुन्छ । तर होटल तथा पर्यटन व्यवसायीहरु बढी नै मर्कामा छन्,’ उनले भने, ‘मैले मात्रै चाहेर सबै कुरा हुँदैन, नगरसभाले जे निर्णय गर्छ त्यही अनुसार अघि बढ्ने हो ।’

दोस्रो लहरको कोरोना संक्रमण सुरु भएपछि वीरगञ्जमा पुनः वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको छ । जसका कारण होटल तथा पर्यटन व्यवसाय पूर्ण रुपमा बन्द छ ।

वीरगञ्जमा साना ठूला गरी ७० वटा होटल तथा पर्यटन व्यवसाय छन् । जसमा १२ सयको हाराहारीमा कर्मचारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment