Comments Add Comment

किन पटक-पटक अवरुद्ध हुन्छ मोबाइल र इन्टरनेट सेवा ?

९ असार, काठमाडौं । बुधबार बिहान नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध भयो । सेवा प्रभावित हुँदा टेलिकमले न कुनै माध्यमबाट ग्राहकलाई सूचित गर्‍यो न त असुविधाको लागि क्षमायाचना नै ।

अतिआवश्यकमा पर्ने सेवा करीब दुईघण्टा अवरुद्ध हुँदा देशभर अन्योलको अवस्था रह्यो । मोबाइलमा निर्भरता बढ्दै गएको समयमा एक्कासी सेवा किन रोकियो भन्नेबारे पनि टेलिकमले सार्वजनिक जानकारी गराएको छैन ।

यसअघि पनि थोरै–थोरै समय पटकपटक टेलिकमको मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ । १४ असोज २०७० मा भने काठमाडौं उपत्यकामा चार घण्टा टेलिफोन अवरुद्ध भएको थियो । त्यसबेला टेलिकमको छानबिनको निचोड थियो– सुन्धारा कार्यालयको अप्टिकल फाइबर (ट्रान्समिसन लिंक) मुसाले काटेछ ।

त्यसपछि पनि खास क्षेत्र, खास नेटवर्क र खास अवस्थामा पटकपटक टेलिफोन सेवा अवरुद्ध हुँदै आएकोमा बुधबार देशभर मुख्य नेटवर्कले काम नगरेको देखिएको छ । टेलिकमले समस्याबारे सामान्य जानकारी गराउन समेत नचाहेको देखिएको छ ।

यसबारे अनलाइनखबरले जिज्ञासा राख्दा नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बुधबार बिहान ६ बजेदेखि ८ः१५ बजेसम्म जीएसएम (प्रिपेड र पोस्पेड मोइबाइल सेवा)को मुख्य सिस्टममा समस्या भएको बताए । त्यसले गर्दा अधिकांश मोबाइलबाट फोन नजाने र नआउने समस्या भएको थियो । मोबाइलमा डाटा र भीओएलटीई सेवा भने अवरुद्ध नभएको बताउँदै उनले भने, ‘भ्वाइस कल किन रोकियो, अध्ययन भइरहेको छ ।’

मोबाइलमा निर्भरता बढेकाले एक्कासी सञ्चार सम्पर्क विच्छेद हुँदा जनताको जीवनयापन प्रक्रियामै प्रभाव पर्ने गरेको छ । सञ्चारमा आधारित उद्यम र सार्वजनिक सेवा प्रवाह बढी प्रभावित हुने गरेका छन् ।

निजी सेवा प्रदायकभन्दा सरकारी स्वामित्वको नेपाल टेलिकममा यस्तो समस्या बढी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिकमका अधिकारीहरुलाई १४ वैशाख २०७५ मा सिंहदरबारमा बोलाएर ‘मुसा प्रवृत्तिले सेवा अवरुद्ध हुन नहुने’ भन्दै सचेत गराएका थिए ।

मोबाइलमा निर्भरता बढेकाले एक्कासी सञ्चार सम्पर्क विच्छेद हुँदा जनताको जीवनयापन प्रक्रियामै प्रभाव पर्ने गरेको छ । सञ्चारमा आधारित उद्यम र सार्वजनिक सेवा प्रवाह बढी प्रभावित हुने गरेका छन् ।

अपरेटरहरुले नै तार काटिदिएकोप्रति संकेत गर्दै उनले भनेका थिए– ‘मुसा वा मुसा प्रवृत्ति भएकाहरुले सेवा अवरुद्ध गर्ने क्रमको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनुपर्छ ।’

तर, प्रधानमन्त्रीको निर्देशनले टेलिकमको सेवा सुध्रिएन । निजी सेवा प्रदायकहरुले पनि सेवालाई गुणस्तरीय बनाउन सकेका छैनन् ।

अधिकांश गुणस्तरहीन

नयाँ प्रविधि र दक्ष जनशक्तिमा लगानी नगरी कमसलमा निर्भर भइरहनु र समस्या हटाउने तत्परता नदेखाउनुलाई नेपालमा दूरसञ्चार सेवा गुणस्तरीय नहुनुका मुख्य कारण मानिन्छ । सेवा प्रदायक कम्पनीहरुले ग्राहकको चापअनुसार नेटवर्क सुधार र विस्तारमा लगानी गरेका छैनन् ।

प्रयोगकर्ताले तोकिएको गुणस्तरमा सेवा नपाउने मात्र होइन, नेटवर्क नै हराउने समस्या समेत रहेको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणकै अध्ययनले देखाएको छ ।

प्राधिकरणले २०७५ असोजमा काठमाडौंको कमलादी, पुतलीसडक, सिंहदरबार, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जैसीदेवल, वसन्तपुर, क्षेत्रपाटी, असन, न्युरोड, रत्नपार्क, जमल, पकनाजोल, सोह्रखुट्टे, अनामनगर, बिजुलीबजार, नयाँबानेश्वर, भीमसेनगोला, थापागाउँ, मिलनचोक, बत्तीसपुतली, पुरानोबानेश्वर, मैतिदेवी, डिल्लीबजार, घट्टेकुलो, कमलपोखरी, नक्साल, नागपोखरी, गैरीधारा, भाटभटेनी, टंगाल, विशालनगार, गहनापोखरी, हाँडीगाउँ, भत्केको पुल र मित्रपार्क क्षेत्रमा मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो ।

असोज ११ देखि २५ गतेसम्म भ्वाइस तथा इन्टरनेटमा चाप पर्ने बिहान र बेलुकी ड्राइभ टेस्ट विधिमा गरिएको गुणस्तर परीक्षणमा कुनै पनि कम्पनीले तोएिको सूचांकअनुसार सेवा नदिएको पाइएको थियो ।

९९ प्रतिशत कल सफल हुनुपर्ने प्राधिकरणको मापदण्ड छ, तर परीक्षणमा नेपाल टेलिकमको ९८.२६ प्रतिशत, एनसेलको ९७.७७ प्रतिशत र स्मार्ट टेलिकमको ९२.३९ प्रतिशत कल मात्र सफल हुने देखिएको थियो । ग्राहकले डायल गर्दा टेलिकमको १.७४ प्रतिशत, एनसेलको २.२३ प्रतिशत र स्मार्टको ७.६१ प्रतिशत कल सम्पर्क स्थापित गर्न असफल भएको पाइएको थियो ।

कल स्थापित हुन लाग्ने समय पनि तोकिएको मापदण्डअनुसार छैन । प्राधिकरणले डायल भएको ५ सेकेन्डमा सम्पर्क हुनुपर्ने मापदण्ड बनाएको छ । तर, एनसेलमा औसत ८.४८ सेकेन्ड, टेलिकममा ११.४८ सेकेन्ड र स्मार्टमा १३.७१ सेकेन्डमा मात्र कल स्थापित हुन्छ ।

मोबाइलमा डाटा इन्टरनेट सेवा पनि गुणस्तरहीन छ । प्राधिकरणले परीक्षण गर्दा इन्टरनेट पिंग हुन टेलिकममा १४० मिलिसेकेन्ड लाग्यो भने एनसेलमा १५० र स्मार्टमा १८० मिलिसेकेन्ड । त्यस्तै, वेबपेज लोड हुन एनसेलमा ७.३६ सेकेण्ड, टेलिकममा १६.८९ सेकेण्ड र स्मार्टमा २०.७९ सेकेन्ड लाग्ने परिक्षणमा देखिएको थियो ।

वेबपेज फाइल डाउनलोड र अपलोड हुने सफलताको दर पनि निकै कमजोर छ । तर, गुणस्तर कमजोर भएबापत सेवा प्रदायकहरुले कुनै कारबाही भोग्नु परेको छैन । जबकि, विना कारण ग्राहकको ब्यालेन्स काटिनेदेखि भएको ब्यालेन्स नदेखाउनेसम्मका समस्या छ ।

प्याक खरीद गर्न खोज्दा एकैपटक नहुने र खरिद नै नगरेको सेवामा ब्यालेन्स कटौती गर्ने, स्वतः सेवा नवीकरण हुने जस्ता प्राविधिक प्रपञ्च गरेर सोझा ग्राहक ठग्ने काम सेवा प्रदायकहरुबाट हुँदै आएको छ ।

गुणस्तरहीन तर महगो इन्टरनेट सेवा

नेपालमा मोबाइल मात्रै हैन, इन्टरनेट सेवाका ग्राहकले पनि उस्तै समस्या भोगिरहेका छन् । बुधबार इन्टरनेट सेवाप्रदायक वर्ल्ड लिंकको सेवा साँझ अवरुद्ध हुन पुग्यो । गत हप्ता नयाँ प्रदायकका रुपमा आएको सिजी इन्टरनेटकै सेवा पनि प्राविधिक कारण भन्दै रोकियो । अनेक बहाना गर्दै सेवा अवरुद्ध गर्ने चलन नै चलेको छ ।

९९ प्रतिशत कल सफल हुनुपर्ने प्राधिकरणको मापदण्ड छ, तर परीक्षणमा नेपाल टेलिकमको ९८.२६ प्रतिशत, एनसेलको ९७.७७ प्रतिशत र स्मार्ट टेलिकमको ९२.३९ प्रतिशत कल मात्र सफल हुने देखिएको थियो । ग्राहकले डायल गर्दा टेलिकमको १.७४ प्रतिशत, एनसेलको २.२३ प्रतिशत र स्मार्टको ७.६१ प्रतिशत कल सम्पर्क स्थापित गर्न असफल भएको पाइएको थियो ।

इन्टरनेट सेवामा प्रतिस्पर्धा बढे पनि मूल्य घटेको छैन । विशेषतः मोबाइल डेटा सेवा धेरै महँगो छ । अन्तर्राष्ट्रिय ब्यान्डविथको मूल्य सस्तिंदै गए पनि नेपालमा त्यसअनुसार फिक्स्ड लाइन इन्टरनेटको मूल्य घटेको छैन ।

विश्वभर इन्टरनेटको गति बढ्दै र मूल्य घट्दै जाँदा नेपालमा त्यसअनुसार नभएको अध्ययनले देखाएको छ । केबलडटयूकेको तथ्यांकअनुसार नेपालमा फिक्स्ड लाइन इन्टरनेटको मासिक औसत मूल्य सन् २०२० को अन्त्यमा १३.१५ अमेरिकी डलर (१,५५० रुपैयाँ) पुगेको छ । २०१८ को अन्त्यमा यो मूल्य १२.०५ डलर थियो ।

२०१८ मा नेपालमा इन्टरनेट विश्वको १४औं सस्तो मानिन्थ्यो भने २०२० मा १८औं सस्तो । इन्टरनेटको गतिको हिसाबले नेपाल विश्वमा १५०औं स्थानमा रहेको केबलडटयूकेको अध्ययनले देखाएको थियो ।

नेपाल इन्टरनेट सेवा प्रदायक संगठन (आइस्पान)का पूर्वअध्यक्ष विनय बोहराका अनुुसार अन्तर्राष्ट्रिय ब्यान्डविथ सस्तो हुँदै गए पनि विगतमा इन्टरनेट जोडिएका घर/कार्यालयमा सीमित मान्छेले मात्र इन्टरनेट चलाउँदा नेपालमा ब्यान्डविथ खपत न्यून थियो ।

‘अहिले सबैको हातमा इन्टरनेट जोडिने साधन छन्, इन्टरनेट जोडिएका घर, अफिसमा पनि ब्यान्डविथ खपत बढेको छ,’ उनी भन्छन्, ‘र पनि, खर्च बढेकाले सेवाको मूल्य घटाउन सकेका छैनौं ।’

पोल प्रयोग गरेबापत विद्युत प्राधिकरणले लिने शुल्क बढाउने निर्णय गरेकाले इन्टरनेट सेवा प्रदायकको खर्च बढेको बोहराको तर्क छ ।

नियामक नै बचाउमा

गुणस्तर कायम नभए सेवा प्रदायकलाई कारबाही गर्न कानून छ, तर दूरसञ्चार प्राधिकरण त्यसमा नरम छ ।

दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावलीले गुणस्तर कायम नगरेको कारणले मोबाइलमा कुरा गर्दागर्दै आफैं कल काटिने भए उक्त कुरा गरेको समयावधि बराबरको शुल्क वा फोनकल दर बराबरको रकम अनुमतिपत्र प्राप्त व्यक्तिले क्षतिपूर्तिको रुपमा ग्राहकलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

यस्तो क्षतिपूर्ति सेवा प्रदायकले ग्राहकको मोबाइल र फोनमै उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने विनियमावलीमा उल्लेख छ । तर, न टेलिकम कम्पनीहरुले यसको कार्यान्वयन गरेका छन् न त नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले यसमा अग्रसरता लिएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल टेलिकम कम्पनीहरुको सेवा सुधार गर्न प्रयत्न भइरहेको बताउँछन् । ‘सडक विस्तार गर्दा फाइबर काटिएर सेवा रोकिन्छ, बिजुली पटकपटक गए पनि सञ्चार सेवा प्रभावित हुन्छ’ उनी भन्छन्, ‘दूरसञ्चार सेवा अन्य युटिलिटीहरुमा पनि निर्भर छ, त्यसैले कम्पनीहरुले एउटा न एउटा कारण देखाउन पाएका छन् ।’

कुनै कारणले सेवा प्रभावित हुन नहुने भए पनि अन्य निकायका काम–कारबाहीले पनि दूरसञ्चार सेवामा प्रभाव परिरहेको खनालको भनाइ छ ।

‘मोबाइल सेवा प्रदायकले आफूले चाहेको स्थान र घरमा टावर राख्न पाएका छैनन्’ उनी भन्छन्, ‘कहिले पोल सार्दा फाइबर चुँडाइन्छ, कहिले प्राकृतिक विपद्ले समस्या ल्याउँछ, विभिन्न कारणले फाइबरमा क्षति पुग्दा पनि सेवा प्रदायकलाई समस्या परिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

ट्रेन्डिङ

Advertisment