+
+
Shares

बहुमत नगरसभा सदस्यको बहिस्कारपछि ललितपुर महानगरको बजेट रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १० गते १७:१३

१० असार, काठमाडौं । बहुमत सदस्यले नगरसभा बैठक बहिस्कार गरेपछि बिहीबार ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट ल्याउन सकेन ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बहुमत सदस्य अनुपस्थित भएका कारण नगरसभा बैठकमा बजेछ प्रस्तुत हुन नसकेको बताए । ‘बहुमत सदस्य उपस्थित भएपछि बजेट सभामा पेश हुन सकेन,’ उनले भने,‘ आजको लागि सभा स्थगित भएको छ, तीन दिनपछि फेरि नगरसभा बस्नेछ ।’

उनका अनुसार यदि तीन दिनपछि पनि बहुमत सदस्य उपस्थित नभएमा फेरि दुई दिनपछि अर्को सभा बोलाइनेछ । सो नगरसभा बैठकमा बहुमत सदस्य उपस्थित नभए एक तिहाइ सदस्यको हस्ताक्षर जुटाएर विशेष सभा आह्वान गर्ने महानगरपालिकाको योजना छ ।

बुधबार नगरसभामा रहेका ९२ सदस्यमध्ये ६६ जनाले बैठक बहिस्कार गरेका थिए । बहिस्कार गर्नेहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

आफूहरुसँग नीति तथा कार्यक्रम र बजेटबारे छलफल नगरिएको भन्दै बहुमत नगरसभा सदस्यले असन्तुष्टि जनाउँदै आएका थिए ।

ललितपुरमा मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याल नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित भएपनि नगरसभा र नगर कार्यपालिकामा उनीहरु अल्पमतमा छन् ।

स्थानीय तहले असार १० गते भित्र आफ्नो गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ललितपुरमा राजनीतिक किचलोले सम्भव नभएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?