Comments Add Comment

ओमसतियामा बजेट विवाद : ५ दलले मागे २०७४ देखिको हिसाब

१३ असार, बुटवल । जनप्रतिनिधिबीच बजेट बाँडफाँटका विषयमा विवाद चुलिएपछि रुपन्देहीको ओमसतिया गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन ।

वडा अध्यक्षहरुसहित बहुमत कार्यपालिका सदस्य र गाउँपालिकाका अध्यक्ष हिरा केवट पक्षबीच बजेटको बाँडफाँट र योजना तथा कार्यक्रमको विषयलाई लिएर विवाद चुलिएको हो ।

गत बिहीबार बोलाइएको गाउँसभा बहुमत कार्यपालिका सदस्यले बहिस्कार गरेपछि गणपुरक संख्या नपुगेर स्थगित भएको थियो । विवादका कारण नीति कार्यक्रम र बजेट अनिश्चित बनेको अवस्थामा गाउँपालिकामा क्रियाशील पाँच राजनीतिक दलले २०७४ सालदेखिको गाउँपालिकाको हिसाब सार्वजनिक गर्न माग गरेका छन् ।

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा ऐन कानूनविपरीत करोडौंका योजनामा ठूलो आर्थिक अनियमितताको आशङ्का गर्दै हिसाव सार्वजनिक गर्न माग गरेका हुन् ।

गाउँपालिकाभित्र सञ्चालन हुने योजना र बजेट वडाअध्यक्षको सिफारिस र रेखदेखमा गर्नुपर्नेमा कार्यपालिका सदस्यलाई समेत सूचना लुकाएर स्वेच्छाचारी र अपारदर्शी ढंगले काम भएको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमाले (माधव नेपाल पक्ष) र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै २०७४ देखिका योजना र खर्च भएको हिसाब सार्वजनिक गर्न माग गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार नीति तथा कार्यक्रम र बजेट कार्यपालिकाको बहुमतले अनुमोदन गरेपश्चात मात्रै गाउँसभामा पेस गर्नुपर्ने र न्यूनतम ७ दिनको सूचनापछि मात्रै गाउँसभा बोलाउन पाउने र गाउँसभा वैठकको कार्यसूची कार्यपालिका सदस्यलाई २४ घण्टा अगावै उपलब्ध गराउनुपर्ने अनिवार्य कानूनी प्रावधानलाई गाउँपालिका अध्यक्षले पालना गर्नुपर्ने पाँच दलको माग छ ।

गाउँपालिका अध्यक्षले २५ प्रतिशत कार्यपालिका सदस्यको उपस्थितिले पनि गणपूरक संख्या पुग्ने भन्दै प्रचार गरेर जबरजस्ती नीति तथा कार्यक्रम र बजेट पारित गर्न खोजिएको भन्दै पाँच दलले भएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघीय कानूनसंग बाझिने गरी निर्णय नगर्न सचेत गराएका छन् ।

गाउँपालिकाको वडा नंं. ६ का अध्यक्ष शिवकुमार धवलले गाउँपालिका अध्यक्ष जनताको माग अनुसारका अत्याबश्यक योजनाभन्दा आफूलाई चुनावमा सजिलो हुने गरी प्रचारमुखी योजना ल्याउन खोजेकाले बिरोध गरिएको बताउँछन् । ‘गाउँपालिकामा संचालित अधिकांश योजनामा सम्बन्धित वडाअध्यक्षसहितका प्रतिनिधिसँग कुनै परामर्श गरिएको छैन, आय-व्ययको पारदर्शिता पनि देखिन्न,’ धवलले भने, ‘विधि प्रकृया पूरा नगरी स्वेच्छाचारी ढंगले अगाडि बढ्न खोजेकाले गाउँसभा बहिस्कार गरेका हौं ।’

गाउँपालिका अध्यक्ष हिरा केवटले भने वडा अध्यक्षहरुले वडामा २ करोड रुपैयाँको दरले बजेट माग गर्दै २५ करोडको बजेट ल्याउन माग गरेका तर गाउँपालिकाले १५ करोड हाराहारीमा मात्रै बजेट ल्याउने बताएपछि भने अनुसार बजेट नपाउने भएकाले बिरोधमा उत्रिएको दाबी गरे ।

उनले गणपूरक संख्या पुर्‍याएर आज-भोलिमै बजेट पारित गर्ने तयारीमा आफू रहेको बताए ।

रुपन्देहीका १६ पालिकामध्ये १५ पालिकाले बजेट ल्याइसकेका छन् ।

ओमसतियाका अध्यक्ष केवट माओवादी केन्द्रबाट जिल्लामा निर्वाचित एक्लो अध्यक्ष हुन् । सर्वोच्चको फैसलाले एमाले र माओवादीलाई ब्युँताइदिएपछि उनी प्रदेश सभा सदस्य दधिराम न्यौपानेसगै एमालेतिर लागेका छन् । उनी एमालेतिर लागेसँगै उनीविरुद्ध बहुमत कार्यपालिका सदस्य एकजुट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment