
१४ असार, गुल्मी । गुल्मीमा बोधिसत्त्व विहारद्वारा दोस्रो पटक पाँच वटा स्वास्थ्य चौकी सहितमा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बोधिसत्त्व विहार बूढानीलकण्ठ काठमाडाैंको आर्थिक सहयोग तथा गुल्मेली कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको समन्वयमा दोस्रो पटक स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
यसरी स्वास्थ्य सामग्री पाउनेहरुमा जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-१ हस्तिचौर स्वास्थ्य चौकी, दोहोली स्वास्थ्य चौकी, रेसुङ्गा नगरका वडानम्बर-११ र १२ का स्वास्थ्य चौकी र गुल्मीदरबार वडानम्बर-६ को स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
त्यस्तै स्वास्थ्य संस्था बाहेक सशस्त्र प्रहरी बल गुल्म गुल्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी र देउराली चेक पोष्टलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए । स्वास्थ्य सामग्री जिल्ला सदरमुकाम तम्घासमा जनप्रतिनिधि सहित एक कार्यक्रमका बीच समाजसेवी मानबहादुर श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।
२० वटा अक्सिजन कन्सन्ट्रेटर, मास्क , सेनिटाइजर,पीपीई, बिपी सेट, थर्मल गन लगायत २१ प्रकारका स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको पन्थले बताए ।
विश्वभर रहेका बौद्ध धर्मावलम्बीहरुको सहयोगबाट जिल्लामा दोस्रो चरणमा १० लाख बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिका वडानम्बर-१३ का वडाअध्यक्ष खुमबहादुर खत्रीले संस्थाहले जिल्लामा कोरोना विरुद्ध लड्न ठूलो सहयोग गर्दै आएको बताए ।
सोही संस्थाले यसअघि जिल्लाका गुल्मी अस्पताल, सिमीचौर, इस्मा, अर्जै, हर्दिनेटा, श्रृङ्गा, शान्तिपुर दुबिचौर स्वास्थ्य चौकीलाई २० वटा अक्सिजन कन्सन्ट्रेटर, मास्क, सेनिटाइजर,पीपीई लगायत ३५ लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेका थिए । संस्थाले जिल्लामा केही समयपछि पुन: खाद्य सामग्री वितरण गर्ने गरी समन्वय भइरहेको पन्थले बताए।
दोस्रो भेरियन्टको रुपमा फैलिएको काेरोनाभाइरसको संक्रमणबाट बच्नको लागि बाेधिसत्त्व विहार बूढानीलकण्ठ काठमाडौंले देशभरि नै स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया 4