+
+
Shares

तोरीको तेल, नीम र तितेपाती: पुनर्जागरण बहस चलाउने कि ?

डा. अरुणा उप्रेती डा. अरुणा उप्रेती
२०७८ असार १४ गते १७:१६

म हरेक दुई हप्तामा कानमा तोरीको तेल हाल्छु । हरेक हप्ता म शरीरभरि तेल मालिस गर्छु । हरेक राति सुत्नुभन्दा अघि खुट्टाको पैतालामा तेल लगाउँछु । जाडोको बेलामा अलि बढी नै तेल पैतालामा लगाउँछु र सूतीको मोजा लगाएर सुत्छु ।

कपाल नुहाउनु भन्दा दुई घण्टाअघि तेल, दही, कागती मिसाएर कपालमा लगाएर दुई घण्टा पछि नुहाउँछु । यो सबै गर्दा मलाई धेरै पैसा लाग्दैन, अनेकन् थरीका बाहिरबाट ल्याएका महँगा क्रिमले जीउ र खुट्टा मल्नु पर्दैन । कपालमा चाया पर्‍यो भनेर अनेक थरीका महँगा स्याम्पो पनि प्रयोग गर्नु पर्दैन ।

हो, मेरो कपाल टिभीमा देखाए जस्तो सलल परेको छैन तर स्वस्थ छ । म त्यसैमा सन्तुष्ट छु । सबभन्दा महत्वपूर्ण कुरा तोरीको तेल लगाउँदा मेरो शरीर स्वस्थ छ, त्यसले गर्दा मनमा पनि फुर्ती छ । यसको अर्थ मेरो खर्च पनि केही बचेको छ । मसाजले गर्दा शरीरमा आनन्द भएपछि निद्रा पनि राम्रो लाग्छ । यसले गर्दा रोगसँग लड्ने शक्ति पनि बढाउँछ ।

निद्रा लागेपछि जीउको आलस्य पनि कम हुन्छ, मज्जासँग भोक लाग्छ । अर्थात् रोगसँग लड्ने शक्ति मिल्छ । कोरोना कालमा रोगसँग लड्न शक्ति बढ्नु भनेको कोरोनाको संक्रमणबाट बच्न केही मद्दत पुग्नु पनि हो ।

केही दिनअघि मैले बालबालिकालाई ‘पाउडर होइन, तेलले मालिस गर्नुपर्छ’ भन्ने एक लेख लेखेपछि धेरै जनाको धेरै विचार आयो । ‘तोरीको तेलले बच्चालाई एलर्जी गर्छ’ भनेर स्वास्थ्यकर्मीले तोरीको तेल नलगाउनु भनेको’ एक व्यक्तिले मलाई सुनाए ।

बालबालिकाको जीउमा घाउ भयो भने नीमको पात उमालेर त्यो पानीले जीउ नुहाइदिने पुरानो चलन नै हो । त्यो बिर्सिएर अहिले अनेक थरीका साबुन प्रयोग गरिन्छ ।

मैले भनें ‘हो बच्चालाई तोरीको तेलले समस्या गर्छ भनेर थाहा छ । नेपालमा शायद कसै कसैलाई एलर्जी गर्न सक्छ । त्यो बेलामा प्रयोग नगर्ने । नत्र तोरी, नरिवल, तिलको तेलले मसाज गरे हुन्छ । तर तेल मात्र लगाएर मालिस चाहिं नगर्ने । अनि सफा नगरेर गुम्स्याएर राख्ने, चिसो लाग्छ भनेर तेलको लेप मात्र थपिदिने, तालु पुर्नलाई भनेर तालुमा तेल लगाएर टोपीले गुम्स्याउने, चिसो लाग्छ भनेर कोठाभित्र कोइलामा तेल तताएर बच्चा तताउने जस्ता चलनले चाहिं बेफाइदा गर्छन् ।’

डा. समिर लामाले मलाई लेख्नुभयो ‘यो कुरासँग म सहमत छु । तेल लगाउँदैमा तेलको गन्ध आउँदैन तर सफा नगरे चाहिं गन्हाउँछ । गाउँघरमा सुत्केरी र नवजात शिशुले तेल लगाएर सफा नभएकोले कोठा नै गन्हाउँछ । किनभने सुत्केरीलाई चिसो लाग्छ भनेर झ्यालढोका थुनेर राखिन्छ । यसले गर्दा सास सम्बन्धी र छालाको संक्रमणको खतरा बढ्ने भएकोले शायद केही स्वास्थ्यकर्मीले तेल लगाउन प्रोत्साहन नगरेको हुन सक्छ ।’

त्यसैगरी तालुमा तेल पटकपटक लगाउने, गुम्स्याउने गर्दा बच्चाको टाउकोमा ढुसी पर्छ । त्यो ढुसी भएपछि संक्रमण हुन्छ । गाउँघरमा सबै जनालाई बुझाउनुपर्छ कि ‘तेलको लेपले तालु पुरिने नि हैन तालु केही समयपछि आफैं पुरिन्छ ।’

टाउकोमा विस्तारै तेलको लेप गर्ने मालिस गर्ने हो, तेलको लेप लगाएर छोड्ने हैन । त्यसमाथि पनि बन्द कोठामा कोइला, आगो बालेर तेल थोपर्दा त संक्रमण र निमोनिया हुने जोखिम झन् बढ्न सक्छ । खुला हावामा, घाम लागेको बेलामा शिशुलाई तेल मालिस सकिएपछि बच्चालाई नुहाउने वा मनतातो पानीमा लुगा हल्का भिजाएर पुछिदिनुपर्छ । नत्र तेल गन्हाउँछ अनि लुगामा पनि लाग्छ र त्यो लुगा धुँदा पनि तेलको गन्ध रहिरहन्छ ।

टाउकोमा तेलको लेप लगाएर टोपीले छोप्ने गर्नुहुन्न । विदेशी भूमिमा चाहिं अनेक थरीका क्रिमले बच्चालाई मसाज गर्न प्रेरित हुने हामी नेपाली आफ्नो हजारौं वर्षको परम्परागत ज्ञान ‘तोरी, तिल, बदाम आदिको तेलले मसाज गर्नुपर्छ’ भन्दा ‘तोरीको तेल ठीक हुन्न’ किन भनेको बुझिनसक्नु छ । म त हजुरआमाले लगाएको तोरीको तेलमै हुर्कें, अहिलेसम्म म तेल लगाउँछु । मेरी छोरीहरूलाई पनि लगाएँ ।

तर यसो गर्दा आमाबच्चा दुवैलाई नियमित सफा गर्नु भने जरूरी छ । तेल मालिस गरेपछि यदि नुहाउन सकिएन भने सफा बाक्लो कपडा भिजाएर त्यसले पुछे पनि हुन्छ । पछि सुत्केरी तंग्रिएपछि तातोपानीले नुहाए हुन्छ । यसले मन र शरीरमा ताजापन ल्याउँछ ।

‘सयौं वर्षौंदेखि चलेको हाम्रा राम्रा चलन छन् तर तिनका फाइदा, वैज्ञानिक कारण बुझेर सही तरिकाले प्रयोग गर्दै अघि बढ्दा राम्रो हुन्छ’ डा. समिर लामाको कुराले मन छोयो ।

त्यसैगरी बालबालिकाको जीउमा घाउ भयो भने नीमको पात उमालेर त्यो पानीले जीउ नुहाइदिने पुरानो चलन नै हो । त्यो बिर्सिएर अहिले अनेक थरीका साबुन प्रयोग गरिन्छ । नीमको पातमा ‘विभिन्न कीटाणु विरुद्ध लड्ने शक्ति हुन्छ’ त्यसैले बच्चाहरूलाई नीमको पात उमालेर त्यसको पानीले नुहाइदिए हुन्छ ।

प्रसिद्ध वैज्ञानिक डा. वन्दना शिवाले ‘नीम’ नामक किताबमा लेखेकी छिन्, ‘नीमको यो ज्ञान हाम्रा पुर्खाहरूलाई हजारौं वर्षदेखि थियो । अहिले विस्तारै त्यो हराउँदै गएको छ ।’ आधुनिक भएर घरमा नीमबाट बनेको साबुन चाहिं हामी प्रयोग गर्छौं तर घरआँगनमा रहेको सित्तैंमा पाइने नीमको पातलाई चाहिं ‘पुरातनवादी’ भनेर प्रयोग गर्न हिच्किचाउँछौं ।

‘नीम धर्तीको अमृत’ माने पनि हुन्छ भन्ने कुरा डा. वन्दना शिवाले भनेकी थिइन् । बच्चालाई पेटमा जुका पर्‍यो भने नीम, ‘तितेपाती’ को रस पनि प्रयोग गर्न सकिन्छ । जीउमा घाउखटिरा भए पनि तितेपाती पानीमा उमालेर मनतातो भएपछि त्यो पानीले बच्चालाई नुहाइदिंदा, पानीले घाउ सफा गर्दा बच्चालाई आराम हुन्छ । नेपालका विभिन्न ठाउँमा पाइने तितेपातीको प्रयोग वास्तवमा राम्रोसँग हुनै पाएको छैन ।

उत्तम बज्राचार्यले मलाई भनेका थिए, ‘तितेपातीको तेल रु.१५ हजार लिटरमा जापानमा जान्छ ।’ उनको यो भनाइलाई मैले धेरै तालीममा भनेपछि मात्र विस्तारै तितेपातीको महत्व मानिसले बुझ्न थालेका छन् ।

तोरी, नीम, तितेपाती आदिको प्रयोग हाम्रो समाजमा हजारौं वर्षदेखि हुँदै आए पनि अहिले त्यो चलन हराउँदै गएकोले फेरि पुनर्जागरण गरी बहस चलाउने कि ?

यस्ता वनस्पतिहरूलाई स्याहार गरेर प्रयोग गर्नुको अर्थ स्वास्थ्य राम्रो पार्नु हो, पैसा बचाउनु हो, वातावरण पनि स्वस्थ पार्नु हो । तराईतिर र पहाडमा नीम, तितेपाती आदि सहजै पाइन्छन् । पैसा तिर्नु पर्दैन । तोरीको तेलले मसाज गर्दा कसैलाई पैसा तिर्नु पर्दैन । विदेशमा भने तिर्नुपर्छ ।

तेल लगाएपछि अलि सफाइ मात्र गर्नुपर्छ । यस्तो स्वस्थ परम्परा जसले हामीलाई स्वस्थ बनाएर पैसा जोगाउँछ, वातावरणको रक्षा गर्छ त्यस्तो ज्ञान किन अंगीकार नगर्ने त ?

लेखक
डा. अरुणा उप्रेती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?