News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट संशोधित विधानमा पहिलोपटक वरिष्ठ उपसभापति पद राखेर विश्वप्रकाश शर्मा सर्वसम्मत निर्वाचित भएका छन्।
- वरिष्ठ उपसभापतिलाई नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्व र सभापतिको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने अधिकार दिइएको छ।
- संशोधित विधानअनुसार कांग्रेसमा वरिष्ठ उपसभापतिसहित पाँच उपसभापति हुने व्यवस्था छ, र अन्य उपसभापतिमा पुष्पा भुसाल, डा. चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्।
८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक वरिष्ठ उपसभापति पद सिर्जना गरिएको छ । १५ औं महाधिवेशनबाट पारित संशोधित विधानमा वरिष्ठ उपसभापति पद राखिएको छ ।
उक्त विधानको व्यवस्था अनुसार भएको निर्वाचनबाट वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा चुनिएका छन् । उनी सर्वसम्मत वरिष्ठ उपसभापति निर्वाचित भएका हुन् ।
वरिष्ठ उपसभापतिका काम, कर्तव्य र अधिकारहरू उल्लेख गरेर संशोधित विधान बनाइएको छ । नवनिर्वाचित महामन्त्री प्रदिप पौडेलको संयोजकत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले वरिष्ठ उपसभापतिको पदीय भूमिका उल्लेख गरेर विधान बनाएको हो ।
वरिष्ठ उपसभापतिले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्व गर्नेछन् । यस अघि विधानमा रहेको व्यवस्थामा सभापतिले तोकेको उपसभापतिले प्रतिष्ठानको नेतृत्व गर्ने प्रावधान थियो ।
सोही प्रावधान अनुसार पूर्व सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई प्रतिष्ठानको संयोजक तोकेका थिए । विशेष महाधिवेशनबाट बनेको नयाँ समितिमा उपसभापति बनेका दुई उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल थिए ।
उपसभापति शर्माले नीति प्रतिष्ठानको नेतृत्व गरेका थिए । १५ औं महाधिवेशनबाट वरिष्ठ उपसभापति शर्माले प्रतिष्ठानको पूर्ववत जिम्मेवारी प्राप्त गर्ने भएका छन् ।
संशोधित विधानले वरिष्ठ उपसभापतिलाई केन्द्रीय कार्यालय सञ्चालनको सञ्चालनको संयोजनको भूमिका दिएको छ । केन्द्रीय कार्यालयको दैनिक कार्य सञ्चालनको प्रमुख भूमिका भने महामन्त्रीमा हुनेछ । केन्द्रीय कार्यालय महामन्त्री मातहत रहेर सञ्चालन हुने पूर्व व्यवस्था अनुसार तत्कालीन महामन्त्रीद्वय गगन थापा र शर्माले विशेष महाधिवेशनको आह्वान गरेका थिए ।
सभापतिको अनुपस्थितिमा बैठक सञ्चालनको अधिकार वरिष्ठ उपसभापतिलाई हुनेछ । सभापतिले कार्यवाहक सभापतिको जिम्मेवारी दिँदा वरिष्ठ उपसभापतिले उक्त भूमिका प्राप्त गर्नेछन् ।
संशोधित विधानमा वरिष्ठ उपसभापति सहित पाँच उपसभापति हुने व्यवस्था छ ।
यही व्यवस्था अनुसार भएको महाधिवेशनको निर्वाचनबाट वरिष्ठ उपसभापतिमा शर्मा चयन हुँदा उपसभापतिहरूमा पुष्पा भुसाल, डा. चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भए ।
प्रतिक्रिया 4