Comments Add Comment

कर्णालीका ५५ प्रतिशत खेतमा रोपाईं

१५ असार, सुर्खेत । यस पटक मनसुन समयमै सक्रिय हुँदा असार १५ गतेसम्म प्रदेशमा आधा भन्दा बढी खेतमा रोपाईं सकिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार आकाशे पानीको भरमा धान रोप्नुपर्ने कर्णाालीका अधिकांश ठाउँमा समेत रोपाईं सकिएको छ ।

निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायका अनुसार यसवर्ष समयमै मनसुन भएका कारण अघिल्ला वर्षको तुलनामा धेरै रोपाईं भएको हो । ‘विगतका वर्षहरुमा असार १५ सम्म ३५–४० प्रतिशत मात्र रोपाईं हुन्त्यो । तर, यो वर्ष ५५ प्रतिसत भएको छ, आज मात्रै ५ प्रतिशतले बढ्ने हाम्रो आंकलन छ,’ रोकायले भने ।

निर्देशनालयका अनुसार प्रदेशका हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटमा ९० प्रतिशत रोपाईं सकिएको छ । मुगु, हुम्ला र डोल्पामा न्यून क्षेत्रफलमा मात्रै धान रोपाईं हुन्छ । हिमाली जिल्लामा चैतदेखि नै रोपाईं सुरु हुने भएपनि पहाडी जिल्लामा बर्खा लागेपछि मात्रै रोपाईं सुरु हुन्छ ।

मध्य असारसम्म रुकुम–पश्चिम र जाजरकोटमा ६५-६५ प्रतिशत खेतमा रोपाईं गरिएको छ । त्यस्तै, सल्यानमा ६० प्रतिशत, दैलेखमा ४५ प्रतिशत र सुर्खेतमा ३५ प्रतिशत रोपाईं भइसकेको निर्देशनालयले जनाएको छ । समग्रमा प्रदेशभर ५५ प्रतिशत रोपाईं सकिएको निर्देशनालयले जनाएको छ ।

प्रदेशभर करिव ४६ हजार हेक्टरमा धान रोपाई हुने गरेको निर्देशनालयले जनाएकोछ ।

सिचाईं सुविधाको अभाव र भिरालो जमिनकै कारण कुल खेतीयोग्य जमिनको ८० प्रतिशत जमिन बाँझै छ । प्रदेशको २५ लाख २५ हजार २७५ हेक्टर क्षेत्रफलमध्ये दुईलाख ९९ हजार ३३९ हेक्टरमा मात्रै खेतियोग्य जमिन रहेको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यस वर्ष समयमै आधाभन्दा बढी रोपाईं सकिएकाले उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको छ । गतवर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ३.९५ प्रतिशत रहेकोमा यो वर्ष वृद्धि हुने अनुमान गरिएको निमित्त निर्देशक रोकायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment