
१६ असार काठमाडौं । अमेरिकाका एक वरिष्ट सैन्य कमाण्डरले अमेरिकी सेना फिर्ता आएसँगै अफगानिस्तानमा गृहयुद्ध सुरु हुन सक्ने बताएका छन् । गत महिनादेखि अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्न सुरु गरिसकेको छ ।
यसैबीच तालिबानका लडाकुहरुले पनि अफगानिस्तानको धेरै जिल्लामा कब्जा जमाएका छन् । यस्तोमा अफगानिस्तानमा गृहयुद्धको आशंका बढेको हो ।
११ सेप्टेम्बरसम्ममा अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता गर्ने बताइसकेको छ । अफगानिस्तानको अहिलेको अवस्थाको विषयमा कुराकानी गर्दै अमेरिकी जनरल स्कट मिलरले अफगानिस्तानको राजनीतिक नेतृत्वले मानिसहरुलाई एकजुट गर्न नसकेको अवस्थामा आगामी दिनमा निकै कठिन समयको सामना गर्नुपर्नेश बताएका हुन् ।
यसअघि संयुक्त राष्ट्रसंघले पनि तालिबानको बढ्दो प्रभावको विषयलाई लिएर चिन्ता व्यक्त गरेको थियो । राष्ट्रसंघले अहिले पूर्णरुपमा अमेरिकी सेना फिर्ता नआउँदै तालिबानले धेरै जिल्लामा कब्जा जमाएको बताएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अफगानिस्तानको ३७० मध्ये करिब ५० जिल्लामा तालिबानले कब्जा जमाएको छ । साथै यो संगठन राजधानी सहर काबुलतर्फ अघि बढिरहेको छ । तालिबानले भने अहिलेसम्म करिब एक सय जिल्लामा कब्जा जमाइसकेको दाबी गरेको छ ।
यसैबीच अमेरिकी कमाण्डरले अफगानिस्तानको अवस्था सही नभएको बताएका हुन् । उनले गृहयुद्धको खतरा बढिरहेको उनको भनाइ छ । तालिबान अहिलेकै गतिमा अघि बढे गृहयुद्ध हुने खतरा झन् बढ्ने मिलरले बताए । यद्यपि उनले अझै पनि अमेरिकी सेनाले तालिबानमाथि हवाई आक्रमण गरिरहेको आरोप भने अस्वीकार गरे । उनले भने, ‘म चाहन्छु कि हवाई आक्रमण भएको देख्न नपरोस् । यद्यपि सबैभन्दा पहिला हामीले यो सुनिश्चित गर्नुपर्छ कि हिंसा नै नहोस् ।’
केही दिनअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले अब अफगानिस्तानका नागरिकले आफ्नो भविष्य आफैंले तय गर्नुपर्ने बताएका थिए ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4