Comments Add Comment

पश्चिमा मुलुकले चीनसँगको झुकाव कम गर्न दबाब दिएका छन् : इमरान खान

१६ असार, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिका र पश्चिमी मुलुकले चीनसँगको सम्बन्ध कम गर्न अनुचित दबाब दिइरहेको बताएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनसँगको अन्तर्वार्तामा खानले अमेरिका र पश्चिमी मुलुकले चीनप्रतिको झुकाव कम गर्न दबाब दिइरहेको बताएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सय वर्ष र पाकिस्तान–चीन सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले चिनियाँ टेलिभिजनमा अन्तर्वार्ता दिएका हुन् ।

पाकिस्तानी प्रधानमन्त्रीले उक्त अन्तर्वार्ताको भिडियो इन्स्टाग्राममा पनि पोस्ट गरेका छन् । उनले पाकिस्तानले चीनसँगको सम्बन्ध गहिरो रहेको भन्दै त्यसलाई नबिगार्ने बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले भनेका छन्, ‘चीन र पाकिस्तानको सम्बन्ध ७० वर्ष पहिला सुरु भएको थियो र यो निकै महत्वपूर्ण पनि छ । पाकिस्तान राजनीतिक, अन्तर्राष्ट्रिय स्तरमा वा छिमेकीसँगको संघर्ष गरिरहेको अवस्थामा सधैं चीन हाम्रो साथमा उभिएको छ । पाकिस्तानका मानिसहरुको मनमा चिनियाँ नागरिकको लागि विशेष स्थान छ ।’

खानले आगामी दिनमा चीनसँगको सम्बन्ध सुधारको लागि व्यापारमा ध्यान दिने बताएका छन् । उनले अघि बढिरहेको सीपेकको योजनाले पनि दुई मुलुकको सम्बन्ध सुधारको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । साथै अन्तर्राष्ट्रिय स्तरमा पनि आगामी दिनमा पाकिस्तानले चीनको साथ दिने उनले बताए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment