Comments Add Comment

एकल महिलालाई पनि प्राथमिकतामा राख सरकार !

बन्दाबन्दिका पट्यारलाग्दा दिनहरू, त्यसमाथि गर्मी । त्यो दिन पनि म दिन काट्नकै लागि दिउँसो निक्कैबेर सुतेको थिएँ । त्यसैले होला निन्द्रा नलागेपछि राति अबेरसम्म कृष्ण धराबासीको उपन्यास आधि बाटो पढेर बसिरहेँ ।

सधैं झैं सुत्नुअघि छोराछोरीको म्यासेज चेक गर्न मोबाइल अन गरेँ । म्यासेज रिप्लाई गरेँ र लगत्तै फेसबुक अन गरेँ। जुन पहिलो पोष्टमा आँखा गयो त्यसले मुटु ढुक्क फुल्यो, म स्तब्ध भएँ । मन अमिलियो।

त्यो श्रद्धाञ्जलीसँगै पोष्ट गरिएको सुन्दर मुहारसँग म राम्ररी परिचित थिए। एकछिन त विश्वासै लागेन। फेसबुकभरि श्रद्धाञ्जली नै श्रद्धाञ्जली थिए। यस्तो लाग्थ्यो फेसबुक श्रद्धाञ्जली पोस्ट गर्ने प्लेटफर्म हो । उनको नामका पनि थुप्रै श्रद्धाञ्जली पोस्ट गरिएका थिए, जसले उनी नरहेकोबारे विश्वास गर्न मलाई बाध्य बनायो ।

चार सन्तानहरूको लालनपालनमा उनी एक्लै संघर्षरत थिइन् । एउटा सानो सरकारी जागिर थियो। श्रीमान खसेको सात वर्ष भइसकेको थियो । सबैभन्दा जेठी छोरी कक्षा १२ मा अध्ययनरत थिइन्, त्यसमुनिका पनि सबै विद्यालय तहमै पढ्दै थिए ।

हे भगवान ! कस्तो भाग्य लिएर जन्मेका रैछन् …। अब ती कहाँ जालान्, के गर्लान्, कसले उनीहरूको संरक्षण गर्लान्, मलाई चिन्ता हुन् थाल्यो किनभने अब उनीहरूको घरमा मानसिक अवस्था खासै ठीक नभएका ठूलो बुवा मात्र थिए जो उनीहरूको स्वर्गीय बुवाजस्तै चौबीस घण्टे जँड्याहा थिए । जसबाट उनीहरुलाई संरक्षण र सुरक्षाभन्दा बढी असुरक्षा र हिंसाको सम्भावना थियो ।

मेरी मित बहिनीको कारुणिक निधनसँगै मिल्दोजुल्दो यस घटनाले मन साह्रै पिरोलिएको थियो। मित बहिनी पनि आफ्नो पछाडि सानी नानी छोडेर गएकी थिइन् र श्रीमानको पनि झण्डै सत्र महिना अघि सडक दुर्घटनामा निधन भइसकेको थियो ।

कोरोना कहर चल्दै गर्दा कोरोना संक्रमणकै कारण आजसम्म ज्यान गुमाउने झण्डै आठ हजार मृत्युबीच यी दुई एकल महिला त प्रतिनिधि पात्र मात्र हुन् । देशभर यस्ता कयौं एकल महिलाले कोभिड १९ को संक्रमण कै कारण ज्यान गुमाए । त्यसमा कुनै शंका छैन् तर अहिलेसम्म के कति एकल महिलाको मृत्यु यस संक्रमणका कारण भयो त्यसको यकिन संख्या पङ्क्तिकारले लेख तयार पार्दासम्म महिला र एकल महिलाको क्षेत्रमा काम गरेको दाबी गर्दै आएका कुनै पनि सरकारी तथा गैरसरकारी संस्थासँग थिएन ।

सामाजिक न्यायका दृष्टिकोणले पनि एकल महिला समूह खोप प्राप्तिको प्रमुख प्राथमिकतामा पर्नु पर्ने समूह हो । कसैले किन? भन्ने प्रश्न गर्छ भने उनीहरूको वास्तविक वस्तुस्थिति नियाल्दा छर्लङ्ग हुन्छ

खैर त्यो बिस्तारै तयार होला…। तथ्याङ्कभन्दा महत्वपूर्ण सवाल हो एकल महिलाप्रति सरकार किन असंवेदनशील छ? किन नागरिक समाज र सरोकारवाला निकाय मौन छ ? के उनीहरूका अवस्था, समस्या, जिम्मेवारी र उनको मृत्युले जन्माउने समस्याप्रति यी सबै अनभिज्ञ छन् ?

अहिलेसम्म हामीले बुझेको मानव समुदायलाई कोरोना संक्रमणबाट बचाउने दीर्घकालीन र स्थायी उपाय कोरोना विरुद्धको खोप नै हो। नेपाल सरकारले अहिलेसम्म अनुदान र खरीद प्रक्रियाबाट प्राप्त गरेको खोपको झण्डै ३८ लाख मात्रा विभिन्न लक्षित समूहलाई प्रदान गरिरहेको छ । आवश्यक खोपको तुलनामा प्राप्त खोपको परिमाण निक्कै कम छ ।

यस्तो अवस्थामा सरकारले खोप प्रदान गर्ने प्राथमिकता क्रम तोक्दै गर्दा अग्रपंक्तिमा खटिँदै आएको जनशक्तिलाई पहिलो प्राथमिकतामा राखेर खोप प्रदान गर्‍यो जुन न्यायोचित र प्रशंसनीय छ, जसले सकारात्मक परिणाम प्रदान गर्‍यो । तर त्यसपछि पनि विभिन्न पेशा व्यवसाय, तह तप्का र उमेर समूहका व्यक्तिहरू सरकारको प्राथमिकता क्रममा पर्दै गर्दासमेत एकल महिला सरकारको प्राथमिकतामा क्रममा नपर्नु खेदजनक छ ।

त्यसो त, शिक्षकले पनि खोप पाएका छैनन् र आन्दोलनमा छन् तर अपसोच एकल महिलाका लागि आन्दोलन त परको कुरा बोली दिनेसम्म कोही छैन। यसमा सरकार मात्र दोषी छैन, एकल महिलाको हक हित अधिकारका लागि काम गरेको दाबी गरेर नथाक्ने स्थानीयदेखि केन्द्रसम्म स्थापित संघ, संगठन, समितिहरुको उदासीनता र मौनता समेत उत्तिकै दोषी छ।

पछिल्लो जनगणनाको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा झण्डै ५ लाख ( ४ लाख ९८ हजार ६०६/वि. सं.२०६८ जनगणना) एकल महिला रहेका छन् । जुन कुल जनसंख्याको करीब १.८८ प्रतिशत हो। यो धेरै ठुलो जनसंख्या होइन। चाहेमा सरकारले सजिलै खोप प्रदान गर्न सक्छ। तर सरकारले किन यसतर्फ चासो नदिएको हो थाहा भएन।

सामाजिक न्यायका दृष्टिकोणले पनि एकल महिला समूह खोप प्राप्तिको प्रमुख प्राथमिकतामा पर्नु पर्ने समूह हो । कसैले किन? भन्ने प्रश्न गर्छ भने उनीहरूको वास्तविक वस्तुस्थिति नियाल्दा छर्लङ्ग हुन्छ ।

– व्यापार व्यवसाय जागिर खेतीपाती ज्याला मजदुरी जेजसो गरेर भए पनि घर चलाउने ,परिवारको संरक्षण गर्ने जिम्मेवारी एकल महिलाको काधमा रहेको र एकलो जिम्मेवार व्यक्तिको असामयिक निधन हुनगएमा पुरै घरको र विषेशगरी आश्रित बाल बालिकाहरुको बिचल्ली हुने निश्चित प्रायः छ।

– घरबाहिरको काम, घर भित्रको काम, सामाजिक व्यवहार आफै निभाउनु पर्ने, किनमेलका लागि जानुपर्ने, वृद्धवृद्धा र बालबालिका संक्रमित हुँदा स्याहारसुसार गर्नुपर्ने,अस्पतालमा कुरुवा बस्नुपर्ने,अरु भरथेग गर्ने कोही नहुँदा उनीहरू तुलनात्मक रुपले बढी जोखिममा छन् ।

– एउटा पुरानो उखान छ- ‘बुवा मरे आधा टुहुरो आमा मरे पुरै ।‘ आमाले जे जसरी पनि आफ्ना बालबालिकाको पालनपोषण गर्छिन् । उनको जस्तो कसैले चाहेर पनि गर्न सक्दैन तर आमाविहिन भएका एकल महिलाका सन्तानहरू अभिभावकविहिन हुनगई बिचल्लीमा पर्छन् । तिनीहरू विभिन्न प्रकारका यौनहिंसा, शोषण, दमन र बेचबिखनमा पर्ने खतरा एकातिर रहन्छ भने अर्कोतिर उनीहरूको पढाइलेखाइ र व्यक्तित्व विकासमा बाधा उत्पन्न हुन गई उनीहरूमा निरासा बढने तथा सामाजिक विकृति, दुर्व्यसनतर्फ उन्मुख हुने सम्भावना बढिरहन्छ जुन समाजका लागि समस्या बन्न जान्छ।

– संयुक्त परिवार प्रणालीको विघटन र एकल परिवार प्रणालीको विकासले टुहुरा बालबालिकाको व्यवस्थापन झनै जटिल बनेको छ।

– त्यस्ता अभिभावकविहीन टुहुरा बालबालिकाहरूको संरक्षण अन्ततोगत्वा राज्यले गर्नुपर्ने हुँदा सरकारलाई एउटा ठूलो जिम्मेवारी थपिन जान्छ।

– एकल महिलाको जीवन रक्षा गर्दा अप्रत्यक्ष रुपमा बालबालिकाको समेत जीवनरक्षा गरेको ठहरिन्छ।

यी विविध कारणले गर्दा बेलैमा कोरोना विरुद्धको खोप प्रदान गरी झण्डै ५ लाख एकल महिलाको जीवन रक्षा गर्नु मानवता र सामाजिक न्याय दुवै दृष्टिकोणले अपरिहार्य छ । यसका लागि सरकारले यथासीघ्र खोपको व्यवस्थापन गर्नुपर्ने देखिन्छ। खोप अनुदानको मात्र भरपर्दा अझ ढिलो हुनसक्छ त्यसकारण बजेटमा विनियोजन गरिएको २६ अर्ब रकमको समेत सदुपयोग गर्दै खोप खरीद प्रक्रिया अविलम्ब अघि बढाउनु पर्ने र निःशुल्क सबै नागरिकलाई प्रदान गर्न सकिँदैन भने छिमेकी राष्ट्र भारतमा जस्तै हुनेखानेले सशुल्क (किनेर) भएपनि खोप लगाउन सक्ने व्यवस्था गर्नतर्फ पनि सोच्न जरुरी छ । यसोगर्दा एकल महिला लगायतका कमजोर वर्गलाई नि:शुल्क खोपप्रदान गर्न सरकारलाई सहज हुनेछ।

कुरोको चुरो के भने सरकारले जे जसरी हुन्छ खोपको व्यवस्थापन गरी एकल महिलालाई प्राथमिकता क्रममा राख्नु अत्यन्त जरुरी छ। यसतर्फ सबै संवेदनशील बनून्, बेलैमा सामाजिक अभियन्ताहरु र सरकारको दृष्टि पुगोस् !

(कञ्चनपुरकी रावल शिक्षिका हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment