Comments Add Comment

मृत्युसँगको त्यो पौंठेजोरी

करीब एक महीनादेखि कोरोना संक्रमण र आफूलाई संक्रमण भएकै कारण भाइ प्रकाश, सालाजी तप्त र छोरा आयुषलाई पनि पोजिटिभ देखिएको अवस्था थियो । तीमध्ये अन्यलाई १०–१५ दिनमा नेगेटिभ आए पनि मलाई भने करीब ३५ दिनसम्म पनि अस्पतालको निरन्तर उपचारका बाबजूद कोरोना पोजिटिभ नै रिपोर्टहरू आइरहेका थिए । करीब एक महीनाको निरन्तर ज्वरो र फोक्सोको संक्रमणले मेरो स्वास्थ्य अति नै कमजोर भइसकेको थियो ।

१५ दिन अल्का अस्पतालमा भर्ना भएर घर फर्किएको दुई दिन मात्र भएको थियो । देशभर कोभिड संक्रमण भयावह बन्दैथियो । दैनिक हजारौं संक्रमित हुने र मृत्यु समेत बढ्दै गएका बेला काठमाडौंका कुनै पनि अस्पतालमा भर्नाका लागि बेड खाली थिएनन् । मैले अस्पताल भर्नाका लागि बेडको व्यवस्था गरिदिन सबैसँग टेलिफोन मार्फत अनुनय–विनय गर्न थालें ।

समकक्षी साथीहरूदेखि आफूले चिनेका सबै नेता, पत्रकार महासंघका अगुवा साथीसँग ‘मलाई एक दम गाह्रो भयो, कुन अस्पतालमा हुन्छ भर्ना गर्ने व्यवस्थामा सहयोग गरिदिनुहोस्’ भनेर आग्रह गरिरहें । सबैले कता पाइन्छ, खोजेर खबर गर्छौं भन्ने जवाफ दिइरहेका थिए तर कतै पनि बेड पाइएन ।

मलाई ज्वरो उकालो चढेर १०३ डिग्रीसम्म पुगिसकेको थियो । म आत्तिन थालें । मैले ओम हस्पिटलका डाक्टर बजरंग रौनियारलाई फोन गरेर कतै बेड मिलाइदिन आग्रह गरेंं । रौनियारले ‘बेड त खाली छैनन्, तर तपाईं ओममा गएर छातीको डाक्टरलाई चेक गराउनुहोस् र कोभिड इमर्जेन्सीमा गएर बस्नुहोस्’ भन्ने सल्लाह दिनुभयो ।

मैले पनि कोरोना संक्रमणलाई खासै महत्व दिएको थिइन । जब आफैं संक्रमणका कारण मृत्युको नजिकै पुगें; लाग्यो यो प्राणघातक हो । कोरोना संक्रमणप्रति सचेत रहनुहोस् । संक्रमण भइहालेमा बेलैमा उपचार गर्नुहोस् ।

म ओम अस्पताल गएर छातीको विशेषज्ञलाई चेक गराउन खोजें । ‘भर्ना गरेर नै उपचार गर्ने केस हो, बेड खाली नै छैन’ भन्ने जवाफ आयो । ओमको कोभिड इमर्जेन्सीमा जाँदा संक्रमितहरूले पाइला टेक्ने खाली ठाउँ पनि भेटिएन ।

हामी निराश हुँदै काठमाडौंका सबै अस्पताल आफैं चहार्ने निष्कर्षमा पुग्यौं । मलाई ज्वरो उकालो चढ्दैथियो, उपचार पाइने आशाहरू टुट्दैथिए । मैले त्यत्तिकैमा एमालेका नेता भीम रावललाई फोन गरेर आफूलाई गाह्रो भएकोले कतै कुनै अस्पतालमा बेड खाली छ कि भनिदिन आग्रह गरें । उहाँले मैले टिचिङमा डा. निरज बमलाई भनिदिएको छुँ, तपाईं जानुहोस् भन्नुभयो ।

हामी खुशी भएर ट्याक्सी हुँइक्याउँदै टिचिङ पुग्यौं । जब टिचिङको हालत देखियो, मन विक्षिप्त भयो । इमर्जेन्सीमा ठाउँ नभएर बाहिर बरण्डामा सयौं मान्छे आधा मिटरको म्याटमा बसेर एक थान अक्सिजन सिलिण्डरबाट एक त्यान्द्रो पाइप नाकमा राखेर बसेको दृश्य देखियो ।

संविधानले यो देशका नागरिकलाई सार्वभौम भन्छ, सरकार गुणस्तरीय स्वास्थ्य सेवाको कुरा गर्न जहिले नि रमाउँछ, । आफूसँग त पीडा थियो नै, ज्वरो उकालो लाग्दैथियो, शरीर शिथिल हुँदैथियो, मुटुको धड्कन बढ्दैथियो, उपचार पाउने आशा झिनो बन्दैथियो ।

राजधानी जस्तो सुविधासम्पन्न ठाउँमा छु, बाँचिहालौंला भन्ने जो आशा थियो त्यो झिनो बन्दैथियो । जिल्ला र गृह नगरबाट मान्छेहरू कोरोनाले मरेका खबर सामाजिक सञ्जालमा आइरहँदा आत्मबल कमजोर हँुदैथियो । आफ्नो त यस्तो दुर्दशा थियो नै तर टिचिङमा संक्रमित बिरामीको यस्तो हालत देख्दा मन अमिलो मात्र भएन, डर लाग्यो । यो देशले महामारी थेग्दैन जस्तो लाग्यो ।

आम नागरिकको त्यो दयनीय अवस्था देख्दा हाम्रो मुलुकको समग्र स्वास्थ्य क्षमताको झलक दिन्थ्यो । देशको सबैभन्दा ठूलो नाम चलेको टिचिङमा त यस्तो अवस्था छ भने दूरदराजका बस्तीमा अब बिरामीले कसरी उपचार पाउलान् ? यो प्रश्न अहं बनेर मनमा खेल्न थाल्यो । त्यहाँ मैले भर्ना पाउने त कुरै छोडौं पाइला टेक्ने पनि अवसर पाइएन । हामी निराश भएर अर्को अस्पताल चहार्न हिंड्यौं ।

अल्का अस्पतालमा मलाई उपचार गर्ने छाती रोग विशेषज्ञ डा. विदेश बिष्टलाई कतै भर्नाको व्यवस्था गरिदिन बिहानैदेखि फोन गरिरहेको थिएँ । उहाँलाई फेरि फोन गरेर आग्रह ग¥यौं, उहाँले ‘सिभिलमा जानुहोस्, म केही उपाय गरौंला’ भन्ने आश्वासन दिनुभयो । हामी ठूलो आशा र आशंका बोकेर सिभिल हस्पिटल पुग्यौं ।

‘बस्नुहोस् एकजना डिस्चार्ज भएपछि जनरल एक बेड खाली हुन्छ, त्यहीं व्यवस्था गरौंला’ भन्ने आश्वासन मिल्यो । दिनभरि भर्नाका लागि बेडको खोजी भइरहेको थियो । धेरै मान्छे खोजीमा थिए । त्यसअन्तर्गत मेरा मित्र द्वारिका न्यौपाने निरन्तर खटिरहनुभएको थियो । उहाँ त्यहीं पुग्नुभयो । ज्वरो बढ्दैथियो । मसँग ज्वरो नाप्ने थर्मोमिटर पनि थिएन, अस्पतालमा भर्ना हुन अझै दुई घण्टा लाग्ने भनियो । बाहिर बस्दा मित्र द्वारिकासँगको कुराकानीले ज्वरोको पीडा बिर्सिन थालेको थिएँ, तर ज्वरो भने बढ्दैथियो ।

बल्ल बेलुकी ६ बजेतिर भर्ना गरियो । तर लामो समय कोही डाक्टर आउँदैनन् । नर्सहरू आउँछन् तर कोरोनाका डरले नछोएरै परै उभिन्छन् । ज्वरो १०४ डिग्री पुगिसकेको छ, सिटामोलले नियन्त्रण नै नहुने, डाक्टरले औषधि नचलाएर हामीले दिन मिल्दैन भन्ने कुरा नर्सहरूले गर्छन् ।

त्यो शुक्रबारको दिन थियो । राति अबेरसम्म पनि कोही त्यहाँ आएन । सिटामोलले ज्वरो नियन्त्रण नहुने भएपछि नर्सहरूले पानीपट्टी गर्न भने । जीवनसँगिनी राधाले निराश भावनाका साथ पानीपट्टी गरिन् । उनको आँखामा निराशाका आँशु छचल्किएको देख्दा मन झनै अमिलो भएर आयो ।

राति १२ बजेसम्म पानीपट्टी गर्दा पनि ज्वरो नियन्त्रणमा आएन । आखिर ज्वरो नियन्त्रण बाहिर गएपछि मेरो स्मरणशक्ति कमजोर हुन थाल्यो । मैले के बोल्ने गर्थें, मलाई थाहै थिएन । बोल्थें । कसैलाई फोन गर्दोरहेछु । तर मलाई कता फोन गरें, के गरें थाहा थिएन ।

मलाई गाह्रो हुन थाल्यो । गाह्रो हुन थालेपछि राधाले सालाजी तप्त र निराजनलाई बोलाइछन्, मेरो मोबाइल स्विच अफ गरिएछ । मलाई गाह्रो हुन थालेपछि जीवनसँगिनी राधाले भाइ प्रकाशलाई घरमा खबर गरिछन्, प्रकाश एम्बुलेन्स लिएर कैलालीबाट हिंडेछन् । यी सबै घटनाक्रमहरू मैले धेरै दिनपछि मात्रै थाहा पाएँ । भाइ प्रकाश १२ घण्टापछि अस्पताल पुगेको सामान्य सम्झना छ ।

भेट भएपछि मैले उनलाई ‘बाँचिन्न होला लास लिएर जानु’ भनेको सामान्य सम्झना छ । चार दिनको सिभिलको बसाइमा मलाई अहिले पनि कुनै स्मृति छैन । त्यत्तिकैमा सिभिलमा पनि किन हो कुन्नि ‘तपाईंलाई घर पठाइदिन्छौं’ भनेर पठाइदिए । शायद कसैका लागि बेड खाली गर्नुपर्ने थियो होला ।

कोठामा आउँदा पनि कुनै सुधार थिएन, ज्वरो आइरहेको थियो । मेरो यो कोरोनाको उपचारका क्रममा दोस्रो अस्पताल बसाइ थियो । ज्वरो आइरहँदा फेरि हामी डा. विदेश बिष्टलाई भेट्न अल्का अस्पताल गयौं । उहाँले फेरि एकपटक पीसीआर गरौं भन्नुभयो । यसअघि करीब डेढ महीनाको अवधिमा मैले तीन पटक पीसीआर गर्दा पोजिटिभ नै देखिएको थियो । उहाँले पीसीआर गर्न भन्नुभयो, तर अल्का अस्पतालमा भर्नाका लागि बेड खाली नै थिएन । म अत्यन्तै कमजोर थिएँ । भाइले साँझ पीसीआर नेगेटिभ आएको खबर गरेको थियो । तर स्वास्थ्य अत्यन्तै नाजुक भएकाले मैले त्यसलाई धेरै चासोका साथ लिएको थिइनँ ।

मैले विगत ६ महीना डा. विशेष पौडेलसँग नै रक्त क्यान्सरको उपचार गराएको थिए । ज्वरो कतै त्यही उपचारको कारण आएको त छैन, डाक्टरहरूले शुरुमा नै आशंका गरिरहेका थिए । त्यसैले नै होला, डा. विदेश बिष्टले मलाई डा.विशेष पौडेलले हेर्ने गरी जावलाखेलमा रहेको ब्लड हस्पिटलमा भर्ना हुन सुझाव दिनुभयो ।

ब्लड हस्पिटलमा पहिले पीसीआरको रिपोर्ट हेरेर कुरुवाको पनि पीसीआर गराएर नेगेटिभ आएपछि मात्रै भर्ना गर्दोरहेछ । कुरुवाका रूपमा बस्ने जीवनसँगिनी राधा र भाइ प्रकाशको पीसीआर रिपोर्ट आउन एक दिन लागेकोले मलाई पहिलो दिन आईसीयूमा राखियो । डाक्टरले उपचार शुरु गरे । औषधि जति दिंदा पनि ज्वरो आइनै रहने । त्यहाँ सम्पूर्ण परीक्षण गर्दा पनि केही पत्ता नलाग्ने … ।

उपचारमा संलग्न डाक्टरहरू पनि हैरान … । सो क्रममा डाक्टर विशेष पौडेलले मलाई हालसालै उपचार गरिएको सीएलएल (रक्त क्यान्सर) नयाँ रूपमा फर्किएको आशंका गरेर बोनम्यारो परीक्षण पनि गर्नुभयो । मेरो हेमोग्लोबिन घटेर ४ मा झरेको थियो । खाना खाने मन पटक्कै थिएन । अत्यन्तै नाजुक अवस्थामा बोनम्यारो बायोप्सीको रिपोर्ट नर्मल आयो । यसले मलाई थोरै राहत महसूस भयो । कम्तीमा पहिलेको रोग त फर्किएको रहेनछ भन्ने लाग्यो ।

त्यहाँ हामी २३ दिन भर्ना भयौं । डा. विशेषले मलाई फोक्सोको संक्रमण घटाउन ‘इन्फो’ भन्ने इन्जेक्सन चलाउनुभयो । १८ दिनसम्मको सो उपचारले फोक्सोको संक्रमण अलि घटे पनि ज्वरो भने निरन्तर आइनै रह्यो । आखिर जुनसुकै औषधि चलाउँदा पनि सुधार नभएपछि चिकित्सकहरू स्टोराइज औषधि चलाउने निष्कर्षमा पुगे । स्टोराइजका धेरै साइड इफेक्ट हुने रहेछन् । सुगरको मात्रा अत्यधिक बढ्ने, जीउ फुल्ने, थकाइलाग्ने, शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्ने आदि, आदि ।

स्टोराइजको सेवनले ज्वरो घटेपछि मलाई तीन÷तीन दिनमा फलोअपमा रहने गरी अहिले कोठा पठाइएको छ । जीवनमा बिरामीले यति धेरै दुःख पाइएको सम्झना छैन । मनोबल उच्च राखेर नै रक्त क्यान्सरको उपचार सफल भएको हो । यो उपचारका क्रममा कैयौं पटक काल (मृत्यु) आँखै अगाडि नाँचेको देखियो । बाँच्ने आशा थुप्रै पटक गुमाइयो ।

जीवनमा जन्मसँगै मृत्यु जोडिएर आएको हुन्छ । तथापि यो शाश्वत सत्य स्वीकार्न धेरै मान्छे तयार हुँदैनन् । कोरोनाभाइरसको संक्रमण पहिलो लहरलाई धेरैले खेलाँचीका रूपमा लिए । मैले पनि कोरोना संक्रमणलाई खासै महत्व दिएको थिएन । तर जब आफैं संक्रमणका कारण मृत्युको नजिकै पुगें; लाग्यो यो प्राणघातक हो । अहिले पनि अलि शरीर जुरजुर हुँदा फेरि फर्किन्छ कि भन्ने डर लाग्छ । सबै संक्रमणहरू ठीक भइसकेका छैनन् । डाक्टरको सल्लाह अनुसार कोठाभित्र मात्रै बसिरहेको छुँ ।

अन्त्यमा सबैलाई आग्रह छ– मैले पाए जस्तो दुःख तपाईंहरू कसैले भोग्नु नपरोस् । कोरोना संक्रमणप्रति सचेत रहनुहोस् । संक्रमण भइहालेमा बेलैमा उपचार गर्नुहोस् । घातक छ कोरोना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment