Comments Add Comment

आठ वर्षमा विदेशी लगानीकर्ताले लगे एक खर्ब ३५ अर्ब लाभांश

१८ असार, काठमाडौं । नेपालमा लगानी गरेर आठ वर्षमा विदेशी लगानीकर्ताले झण्डै डेढ खर्ब रुपैयाँ बराबर लाभांश आफ्नो मुलुक लगेका छन् ।

आर्थिक वर्ष २०७०/७१ देखि ७७/७८ को १० औं महिनासम्म करकट्टी गरेर खुद एक खर्ब ३५ अर्ब ३० करोड ५१ लाख ४७ हजार रुपैयाँ लाभाशं विदेशी लगानीकर्ताले लगेको उद्योगका प्रवक्ता ज्ञानेन्द्र पराजुलीले बताए ।

उक्त रकम विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेर सबै दायित्व चुक्ता गरेपछि लगेको लगेको खुद नाफा हो । उद्योग विभागको विदेशी लगानी शाखा र लगानी बोर्डको कार्यालयबाट स्वीकृतिपछि राष्ट्र बैंकमार्फत उक्त रकम विदेश गएको हो ।

पछिल्लो तीन वर्षमा यसरी लाभाशं लैजाने लगानीकर्ता एवम् उद्योग संख्या ८४ छ । चालु आर्थिक वर्ष मात्रै नेपालबाट विदेशी लगानीकर्ताले १८ अर्ब २३ करोड ७२ लाख रुपैयाँ भन्दा धेरै लाभांश आफ्नो मुलुक लगेका छन् ।

आर्थिक वर्ष २०७०/७१ मा ७ अर्ब ८१ करोड, ७१/७२ मा ५ अर्ब ७१ करोड र ७२/७३ मा ६ अर्ब २१ करोड लाभशं विदेशिएको थियो ।

यस्तै ७३/७४ मा १७ अर्ब १० करोड, ७४/७५ मा ३९ अर्ब ५३ करोड लाभाशं विदेशी कम्पनीले लगेका थिए ।

लगानीकर्ताले आर्थिक वर्ष ७५/७६ मा २७ अर्ब ७८ करोड, ७६/७७ मा १२ अर्ब ९ करोड लाभांश नेपालबाट लगेका थिए ।

४ अर्ब ३५ करोड लगानी फिर्ता

यस्तै आठ वर्षको अवधिमा नेपालबाट ४ अर्ब ३५ करेाड रुपैयाँ बराबरको विदेशी लगानी लगानीकर्ताले फिर्ता लगेको विभागले जनाएको छ ।

लगानी बोर्ड र राष्ट्र बैंकबाट विभागलाई प्राप्त विवरणअनुसार चार अर्ब ३५ करोड ३५ लाख ८० हजार ३१५ रुपैयाँ ८६ पैसा लगानी नेपालबाट शेयर तथा सम्पत्ति बिक्रीबाट बाहिरिएको विभागका प्रवक्ता पराजुलीले जानकारी दिए ।

आर्थिक वर्ष ७१/ ७२ मा ९ करोड ९ लाख ८५ हजार, ७२/७३ मा ६३ करोड ६३ लाख र ७४/७५ मा एक अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको विदेशी लगानी लगानकर्ताले फिर्ता लगेका थिए ।

यस्तै  ७५/७६ मा एक अर्ब ५१ करोड २० लाख  र चालु आर्थिक वर्षमा ४१ करोड १२ लाख ६२ हजार रुपैयाँ बराबरको लगानी फिर्ता गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment