Comments Add Comment

कमल खत्री प्रेमी होइनन्, अभिभावक हुन्ः मेलिना मैनाली

‘घर फर्किएको भए म सफल हुने थिइनँ’

गायिका मेलिना मैनालीले ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजनमा सहभागीता जनाएपछि उनलाई म्यूजिक नगरी र आम दर्शकले फरक रुपमा हेरेका छन् । ‘द भ्वाइस अफ नेपाल’मा सहभागीता जनाउनु अगाडि पनि उनले केही गीतमा स्वर दिएकी थिइन् । तर, उनी सफल हुन सकेकी थिइनन् । सो समयमा मेलिना निराश थिइन् ।

‘द भ्वाइस अफ नेपाल’को नकआउट चरणसम्म पुगेकी मेलिनाले यसपछि गायक कमल खत्रीसँग मिलेर ‘फिक्का’ बोलको गीतमा स्वर दिइन् । यो गीत चलेपछि मेलिनाको चर्चा खुबै भयो ।

मेलिनाले हालै मात्र गज्जब टीभीसँग ४ वटा गीतमा स्वर दिने गरि संझौता गरेकी छिन् । मेलिना गज्जब टीभीका प्रमुख सरोज वलीले आफूलाई सरप्राइज दिएको बताउँछिन् । उनले भनिन्–‘उहाँसँग काम गर्ने रहर त पहिलेदेखि नै थियो । तर, उहाँले ढिलै भएपनि मलाई मिठो सरप्राइज दिनुभयो ।’ यसबाहेक देशका चलेका ब्यानर र गायकले पनि उनीसँग सहकार्य गरिरहेका छन् ।

मेलिना भन्छिन्–‘जब मेरा गीतहरु बजारमा आएर पनि चल्दैनथ्य, सो समयमा म निराश थिएँ । घर फर्किउँ जस्तो पनि लाग्थ्यो । तर, सो समयमा मैले धैर्य गरे । म आफू पनि केही हुनुपर्छ भनेर मिहिनेत गरे । प्लेटफर्मको खोजी गर्दै ‘द भ्वाइस अफ नेपाल’मा पुगे । यसपछि भने दर्शक र श्रोताले पनि चिन्नुभयो ।’

‘द भ्वाइस अफ नेपाल’को नकआउट चरणबाट बाहिरिए पनि मेलिना दुःखी छैनन् । भन्छिन्–‘प्रमोद सरको टिममा धेरै राम्रो प्रतिभाहरु हुनुहुन्छ । यसैले पनि सबैले एकै पटक स्थान पाउन गाह्रो थियो । मुख्य कुरा त, जसले जहाँबाट भएपनि अगाडि बढ्नुपर्छ भन्ने हो । म भ्वाइसमा अगाडि बढ्न सकिनँ, तर बाहिर आएपछि मैले अन्य प्लेटफर्महरु पाउन थाले । मान्छेले दुबैतिर सफलता खोजेर हुँदैन । भ्वाइसबाट बाहिरिएपछि पनि मलाई दर्शक–श्रोताले नचिन्नु भएको भए दुःखी हुन्थे होला । तर, सबैले संझिनुभएको छ । दुःख लागेको छैन ।’

मेलिनाको दैनिकी हिजोआज फेरिएको छ । उनलाई दिनमा एउटा गीतमा स्वर दिनका लागि अफर आउन थालेको छ ।

यहाँ बलेको आगो तापिने रहेछ हो भन्ने प्रश्नमा मेलिनाले भनिन्–‘बलेको आगो ताप्ने चलन नै छ भनेर नभनौं । आफूमा केही नभएसम्म कसैले पनि काम दिदैन । हुनत, मेरो प्रतिभा हिजोको दिनमा पनि यही नै हो । तर, आज प्लेटफर्मका कारण ममा परिवर्तन आएको छ । सबैले संझिनुभएको छ ।’

करिअर सुखद तरिकाले अगाडि बढ्दै गर्दा मेलिनाको प्रेम चर्चा पनि सुरु भएको छ । गायक कमल खत्रीसँग नजिक रहेकी मेलिना हिजो आज प्रेमको चर्चाले रंगिएकी छिन् । तर, मेलिना कमल खत्री आफ्नो प्रेमी नभएको बताउँछिन् । उनले भनिन्–‘यो क्षेत्रमा अगाडि बढ्नका लागि कसैले मलाई साथ दिएको छ । कमलजी मेरो प्रेमी नभएर अभिभावक हुनुहुन्छ ।’

एउटा सफल गायकको साथमा अगाडि बढ्न पाउँदा आफू खुशी भएको मेलिना बताउँछिन् । रंगिन दुनियाँमा कसको जिन्दगी कतिबेला बदलिन्छ थाहा हुँदैन । केही महिना अगाडिसम्म निराश भएर घर फर्किने सोचमा रहेकी मेलिना हिजोआज व्यस्त गायिका बनेकी छिन् । मेलिनाले यो सफलतालाई बचाउन आगामी दिनमा कसरी पाइला चाल्ने हुन्, यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment